बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

मानसिक रोगी बलिरामको हातमा एक वर्षदेखि हतकडी

शुक्रबार, १७ पुस २०७२, १३ : १२
शुक्रबार, १७ पुस २०७२

महोत्तरी–महोत्तरीको बिजलपुरा गाविस–१ जुडीका ३३ वर्षीय बलिराम सिंहको हातमा करिब एक वर्षदेखि हतकडी लगाएको पाइन्छ । मानसिक सन्तुलन गुमाएका बलिराम सिंहलाई उनकै परिवारले हातमा हतकडी लगाएर घरमा राखेका छन् ।

करिब १० वर्षदेखि मानसिक रोगबाट पीडित रहेका महतोले आफ्ना ६० वर्षीय बुबा खेहरु सिंहलाई लाठीले टाउको फुटाइदिएपछि उनका घरपरिवारले उनलाई हातमा हतकडी लगाइदिएका हुन् । दुई वर्षअघि रु ११ लाख पर्ने एक बिगाहा खेत बेचेर उनका बुबाको उपचार गराएको पारिवारिक स्रोतले जनाएको छ ।

बलिरामको कुटाइले मगजमा गम्भीर चोट लागेर गम्भीर घाइते भएका उनका बुबा खेहरु अहिलेसम्म पूर्णरुपमा ठीक हुन सकेका छैनन् । सिंहले बुबालाई कुट्दा उपचारमा खर्चिएको रु तीन लाख अझै पनि कर्जा रहेको छ ।

बलिरामको उपचारमा पनि झन्डै रु १० लाख खर्च भइसकेको उनकी श्रीमती भागकुमारी देवी बताउँछिन् । मानसिक रोगबाट पीडित सिंहले डाक्टरको सल्लाह बमोजिम औषधि खान नमान्दा उनी निको हुन नसकेको भागकुमारीले दुःखेसो पोखिन् । तीन छोरी र एक छोराको बाउ रहेका बलिरामको घरपरिवारमा पुरुष मान्छे अभिभावक नहुँदा घरपरिवारलाई समस्या भइरहेको छ ।

छिनछिनमा रिसाउने, कराउने, मान्छेलाई देख्न नसक्ने, घरमाथि, मान्छेमाथि ढुङ्गा फाल्नेजस्ता कार्यबाट घरपरिवारका सदस्य आजित भइसकेका छन् । रातभर जहाँतहीँ हिँड्नेलगायतका कार्यले घरपरिवारका मान्छेहरु पनि मानसिक दबाबमा रहेका छन् । कक्षा १० सम्म पढेका बलिराम अहिले मानसिक रोगबाट पीडित भएपछि घर न घाटका भएका छन् ।

माघको कठ्याङ्ग्रिदो जाडो होस् या वैशाखको गर्मीमा शरीरबाट चिटचिट निस्किने पसिना जुनसुकै समयमा पनि उनको शरीरमा एउटा गन्जीभन्दा अन्य लुगा लगाएको पाइएको छैन । हातमा हतकडी रहेकाले उनको शरीरमा गन्जी लगाउन घरपरिवारलाई समस्या हुने गरेको पारिवारिक स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप