बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

सहकारी ऐन ल्याउँदा अध्ययनको खाँचो छ : उपप्रम केसी

शुक्रबार, १७ पुस २०७२, १४ : ४८
शुक्रबार, १७ पुस २०७२

काठमाडौँ– उपप्रधानमन्त्री तथा सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले सहकारीसम्बन्धी ऐन ल्याउँदा धेरै अध्ययनको खाँचो रहेको औँल्याएका छन् ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को पाँचौ वार्षिक साधारणसभाको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री केसीले अर्थव्यवस्थाका तीन खम्बामध्ये एक महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारीसम्बन्धी ऐन मस्यौदाका रुपमा तयार भइसकेको जानकारी दिँदै यसमा भएका कमीकमजोरीलाई अध्ययन गर्नुपर्नेमा जोड दिए ।

सहकारी ऐन जारी गर्दा सहकारीसम्बन्धी मूल्य मान्यता र सिद्धान्तलाई छाड्न मिल्दैन भन्दै मन्त्री केसीले राष्ट्रिय, अन्तर्राष्ट्रिय सिद्धान्तलाई आत्मसात् नगर्ने हो भने त्यो ऐन प्रभावकारी हुन सक्दैन भने ।

“एकै व्यक्ति धेरै सहकारीमा सदस्य बन्ने जस्ता समस्या धेरै छन्”, उनले भने –“सहकारीमा भएका सदस्यले आफ्नो पुँजी कहाँ र कसरी प्रयोग भइरहेको छ भन्नेबारे जानकारी राख्नु जरुरी छ ।”

सहकारी मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले सङ्ख्यात्मक रुपमा सहकारी बढ्दै गइरहेकाले यसको व्यवस्थापनमा काम अगाडि बढाउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष तथा सांसद केशव बडालले सहकारी ऐन ल्याउँदा सहकारी अभियानलाई बाधा पर्ने गरी ल्याउन नहुनेमा जोड दिए ।

बचत तथा ऋण सहकारी संस्था लिमिटेड (नेफ्स्कुन) का अध्यक्ष ऋषिराम घिमिरे, सिजेएनका अध्यक्ष डिल्ली सापकोटालगायतले सहकारीको काम, कारबाही र चुनौतीबारे जानकारी दिए ।

कार्यक्रममा सिजेएनका संस्थापक अध्यक्ष यादव हुमागार्इंलाई सम्मानसमेत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप