बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

चिसो बढेपछि गोरखाको भूकम्पपीडितले ऋण खोजेर घर बनाए

शुक्रबार, १७ पुस २०७२, १५ : ४४
शुक्रबार, १७ पुस २०७२

गोरखा– बढ्दो चिसोमा टहरामा दिनरात कटाउन मुस्किल भएपछि गोरखा बारपाकका भूकम्पपीडितले धमाधम घर बनाएका छन् । अर्मोपर्मो र केहीले कामदार लगाएरै घर निर्माण गरेका हुन् । कामदारलाई दिने ज्यालाको जोहो भूकम्पपीडितले आफ्ना आफन्तसँग ऋण लिएर गरिरहेका छन् ।

“तीन महिना त्रिपालमा बित्यो, त्यसपछि बनाएको टहरोमा पनि शीत र हावा छेकिएन,” बारपाक– ६ का चन्द्र घलेले भने – “जे पर्लापर्ला भनेर ऋण खोजेँ । घर बनाउन सुरु गरेँ ।” उनले आफन्तबाट रु दुई लाख ऋण लिएका छन् । अस्थायी आवासका लागि सरकारले दिएको दुई बन्डल जस्तापाताले घर छाउने र पुराना काठपातको प्रयोगले घरका झ्याल, ढोका बनाउने घलेको योजना छ ।

सरकारले भूकम्प प्रतिरोधी घरका नमुना ल्याउँछ, अनुदान रकम वितरण गर्छ भन्ने पर्खाइमा आठ महिनासम्म कुरेर बसेको बताउँदै घलेले पुनःनिर्माणको काममा भएको ढिलाइको आलोचना गरे । “बल्लबल्ल सिइओ नियुक्त भएको रहेछ,” उनले भने – “अब गाउँका जनताले पैसो पाउन कति महिना कुर्नुपर्ने हो भर छैन ।” किस्ताबन्दीमा अनुदान रकम दिने सरकारी योजनाको भूकम्पपीडितले विरोध गरेका छन् ।

पटक–पटक भूकम्पको धक्का महसुस गरेको हुनाले पहिलेको तुलनामा भिन्न खालका घर निर्माण गरिएका छन् । जगदेखि भुइँतलासम्मको भागको चारैतिर ढुङ्गा, माटोको गाह्रो लगाएका भूकम्पपीडितले बनाएको नयाँ शैलीको घरमा माथिल्लो भागमा भने काठैकाठको प्रयोग गरिएको छ । बारपाककी जीतकुमारी घलेले भने – “भूकम्पले हल्लाइरहेको छ । फेरि आउने हो कि भन्ने डरले माथिल्लो तलामा ढुङ्गाको सट्टा काठ छाप्यौँ ।” धेरै काठ प्रयोग गरिएका घरहरु भूकम्पका बेला ढलेनन् ।

बारपाक–९ का धनप्रसाद घलेलाई सरकारी अनुदानको आश लाग्न छाडेको छ । आफू बस्ने घर आफैं बनाउँदा जाडो काट्न सजिलो हुने देखेपछि उनले चारैतिर बारेर चिसो नछिर्ने घर बनाए । बूढ्यौलीले काम गर्न नसक्ने भएको गुनासो गर्दै उनले भने – “टहरो मर्मतमा खर्च भएको रु १० हजार ऋण तिर्नु छ ।” विगत १५ दिनदेखि बारपाक क्षेत्रमा तुषारोले गर्दा चिसो बढेको छ । बेलुकी परेको तुषारोले बिहानीपख बारपाक सेताम्मे हुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बारपाक भ्रमणका बेला न्यानो कपडाका लागि रु १० हजारका दरले छिट्टै रकम बाँड्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म रकम वितरण हुन सकेको छैन । अस्थायी आवास प्रयोजनको रु १५ हजार राहत नपाएर त्रिपालमै जीवन निर्वाह गर्नेहरु पनि छन् ।

“केरौँजाका ४६५ घरधुरीका भूकम्पपीडित अझै त्रिपालमुनि बसिरहेका छन्,” उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष किशोरजङ्ग थापाले भने – “टहरो छाउन जस्तापाता र चिसोबाट जोगिन बाँड्ने न्यानो कपडा वास्तविक भूकम्पपीडितले पाउनुपर्छ ।” उनीहरुलाई रु १५ हजारका दरले जिल्ला दैवी प्रकोप उद्धार समितिले राहत बाँडे पनि घर खर्चमै राहत सकिएको पीडितको गुनासो छ । अहिले अक्सफामले जस्तापाता बाँड्न ढुवानी गरिरहेको छ ।

चिसोले उत्तरी भेगका सिर्दिवास, काशीगाउँ, मान्वु, उहिया, लापु, गुम्दा, लाप्राक, बारपाक क्षेत्रका साथै स्वाँरा, सौरपानी, घ्याल्चोक, खरिबोट, हंशपुरमा पनि अत्यधिक सताउँछ । यी गाविसमा बर्सेनि हिउँदमा पानी परेलगत्तै हिउँ पर्छ । बारपाक, लाप्राक, गुम्दा क्षेत्रमा चिसोले गर्दा खानेपानीका मुहानमा पानी जमेको छ । बरफका ढिक्कालाई भाँडामा राखेर तताएपछि मात्रै पानी पिउनयोग्य बनाइएको लाप्राकका मारर्सिङ गुरुङले बताए ।

लाप्राकीहरु पनि पुरानै गाउँ फर्केका छन् । दुई हजार ७०० मिटर उचाइको गुप्सीपाखाको टहरोमा बस्दा स्याँठले बिरामी परेपछि गाउँलेहरु पुरानै बस्ती फर्केर भत्किएको घरमा बसेका छन् । भग्नावशेष हटाउने र ढुङ्गैढुङ्गाको खात लगाएर घर बनाउनेको सङ्ख्या लाप्राकमा पनि बढेको छ । “चिसो बढेर मात्रै गाउँले बेँसी झरेका हुन्”, गुरुङले भने – “बर्खामा बाढी, पहिरो आउँछ । त्यसपछि फेरि गुप्सी फर्कन्छन् ।” सुरक्षित बसोबासका लागि गुप्सीपाखामा सरकारी तवरबाट विभिन्न काम हुन लागेका बेला गाउँले बेँसी झरेका हुन् ।

उहियाका सन्तबहादुर गुरुङले पनि चिटिक्क परेको एकतले घर बनाउनुभएको छ । उहाँले एक महिना लगाएर घर बनाए । “घर बनाउँदा पुग नपुग रु एक लाख ऋण लाग्यो,” उनले भन्नुभयो – “सरकारी किस्ताबाट त्यो ऋण तिर्न मिल्दैन । अब विदेसिनुबाहेक अरु के विकल्प रहला रु” सरकारले अल्पकालीन आवश्यकताभन्दा पनि दीर्घकालीन रुपमा फाइदा पुग्ने गरी राहतका कार्यक्रम ल्याउनुपर्नेमा सरोकारवालाहरु जोड दिन्छन् । राहत बाँडेर युवा–युवतीलाई मगन्ते बनाउनुभन्दा तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ सरकारको तयारी हुनुपर्ने बारपाकका वीरबहादुर घलेको भनाइ छ ।

“राहत थाप्न युवा–युवती लाइनमा बस्छन्,” उनले भने– “स्थानीय स्रोत, साधन र उत्पादनको प्रयोग गरी कसरी भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न सकिन्छ भन्नेबारे खै सरकारी योजना रु” गोरखाका अधिकांश भूकम्पपीडित घर बनाउने नक्सा, लागत खर्च र भूगर्भविद्को पर्खाइमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप