बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अपरिचित व्यक्तिलाई साथी बनाउँदा साइवर अपराध बढ्यो

शनिबार, १८ पुस २०७२, १२ : ४९
शनिबार, १८ पुस २०७२

काठमाडौँ– होसियार हुनुस् ! सामाजिक सञ्जालमा अपरिचित व्यक्तिलाई साथी बनाउँदा तपाईंलाई उसले फसाउन सक्छ ।

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसङ्गै फेसबुक, ट्विटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको छ ।

पछिल्लो समय महानगरीय अपराध महाशाखाले गरेको सर्वेक्षणअनुसार युवावर्ग बढी सङ्ख्यामा साइबर अपराधमा लागेको पाइएको छ । ती मध्ये १५ देखि १९ वर्षसम्मका केटाकेटी धेरै साइबर अपराधमा लाग्ने गरेका छन् ।

महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले मानिसले अनावश्यक रुपमा नचाहिने कुरा सामाजिक सञ्जालमा पोष्ट गरेका कारण साइबर अपराध बढेको बताए । उनले भने – “सामाजिक सञ्जालमा निःशुल्क डाउनलोड गर्नु वा हेर्नु भनेको हुन्छ र अनावश्यक कुरा हेर्दा वा डाउनलोड गर्दा साइबर अपराध बढी हुने गर्दछ, संसारमा निःशुल्क भनेको केही पनि हुँदैन ।” उनले साइबर कानुनका बारेमा विद्यालय र क्याम्पसमा शिक्षा दिनु जरुरी रहेको समेत बताए ।

बाँके घर भएका राहुल वाल्मीकिले विभिन्न विद्यालय तथा कलेजका छात्रालाई मोडलिङ क्षेत्रमा काम लगाइदिन्छु भनी उनीहरुको फेसबुक पासवर्ड मागी ३५–४० जनासँग पैसा र रिचार्ड कार्ड ठगी गरेको महाशाखाले जनाएको छ ।

साइबर अपराधको ३५ दिनभित्र सत्यतथ्य सूचना अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको छ ।

यस्तै मोरङ घर भएका सागर भन्ने विष्णु अधिकारीले आफ्नो छुट्टै आइडी बनाएर अनावश्यक कुरा लेखी आफूलाई मन नपरेको व्यक्तिको फेसबुकमार्फत प्रचार गरेर पीडितको सामाजिक पारिवारिक सम्बन्धमा खलल पु¥याउने काम गरेको भनी महाशाखाले मुद्दा चलाएको छ ।

सामाजिक सञ्जालमार्फत साथी बनाई बिहे गरेर मानिसलाई बेच्ने गरेका उदाहरणसमेत रहेको खनालले बताए । उनले भने , “फेसबुकमा साथी बनाउँदा कस्तो प्रकारको साथी हो चिनेकालाई मात्र साथी बनाउनुहोस् अन्यथा फसाउन सक्छन् ।”

यस्तै भारत मोतीहारी घर भई वीरगन्ज बस्ने भूषण पाण्डे र दिलीपकुमार यादवले बैंकको एटिएममार्फत अर्काको आइडी चोरी रकम ठगी गरेको महाशाखाले जनाएको छ ।

टीकापुर घटनालाई लिएर मुख्य सुरक्षा निकायहरुबीच टकराव हुने गरी अविश्वासको वातावरण सिर्जना गर्नेखालको सूचना लेखी प्रचार गरेको भनी राजनीतिकर्मी आङ्काजी शेर्पालाई समेत महाशाखाले नियन्त्रणमा लिएको थियो ।

आव ०६९–७० मा साइबर अपराधका घटना ५८ वटा रहेका थिए । तीमध्ये २६ वटा घटनालाई मुद्दा चलाएको महाशाखाले जनाएको छ । यस्तै ०७०–७१ मा ९१ वटा, ०७१÷७२ मा ३०५ वटा मुद्दा दर्ता भएका छन् । यो आवको पुस १७ गतेसम्म २६४ साइबर अपराधका मुद्दा दर्ता भएको महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका प्रमुख खनालले सकभर एउटै कम्प्युटर प्रयोग गर्नुपर्ने र पेनड्राइभ जुनसुकै कम्प्युटरमा प्रयोग नगर्न सुझाव दिएका छन् । साइबर अपराधको कानुनअनुसार अपराधीलाई पाँच वर्षसम्म जेल वा रु एक लाख वा दुवै सजाय हुने प्रावधान रहेको छ ।

साइबर अपराधबाट मानिस घरबारविहीन हुने, पढाइ बिग्रने, आत्महत्या बढ्ने गरेको महाशाखाको तथ्याङ्कमा उल्लेख छ यसैले साइबर अपराधबाट जोगिन महाशाखाले सबैलाई आग्रह गरेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप