बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

अन्यौलता हटिसक्यो, अब मुलुकले चाँडै निकास पाउँछः सञ्चारमन्त्री

शनिबार, १८ पुस २०७२, १४ : १५
शनिबार, १८ पुस २०७२

विराटनगर– सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अघोषित नाकाबन्दी र त्यसबाट सिर्जना भएको मानवीय सङ्कट चाँडै अन्त्य हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री राईले समस्यालाई समाधान गर्न सरकारले ठोस प्रस्ताव सार्वजनिक गरेको र त्यसमाथि अनौपचारिक वार्ता जारी रहेकाले छिट्टै नै सरकारले औपचारिक वार्ताका लागि मिति तोक्ने जानकारी दिए ।

उनले मधेसी मोर्चासँग वार्ताको माध्यमबाट असमझदारी र अन्यौलता हटिसकेकाले मुलुकले चाँडै निकास पाउने स्पष्ट पारे । उनले राजनीतिक संयन्त्रको माध्यमबाट सीमाङ्कनको समस्या तीन महिनाको अवधिमा समाधान गर्न प्रतिवेदन तयारी गर्ने काम भइरहेको र राजनीतिक रुपमा समाधानका लागि मोर्चासँग वार्ता गरेर ठोस निष्कर्षमा पुग्ने उल्लेख गरे ।

सञ्चारमन्त्री राईले भने– “मुलुकको समस्या समाधानका लागि सरकारले प्रस्तुत गरेको दृष्टिकोणप्रति भारत सरकारको सकारात्मक प्रतिक्रिया आएको र यसलाई सरकारले सकारात्मक रुपमा लिएको छ भने त्यसबाट सहज खालको वातावरण निर्माण भएको छ ।”

मन्त्रीमण्डल विस्तारको सन्दर्भमा पत्रकारको जिज्ञासामा उनले भने – “संविधान निर्माणमा सबै दलको योगदान प्रभावकारी रहेको र साना वा ठूला दलको कुरा नभई सबैको भूमिका महत्वपूर्ण रहेकाले मन्त्रीमण्डलको विस्तारलाई अन्यथा लिनुहुँदैन ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप