बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

काठ तस्करको आक्रमणमा परि वन कर्मचारीसहित चारजना घाइते

शनिबार, १८ पुस २०७२, १४ : २५
शनिबार, १८ पुस २०७२

धनुषा–धनुषाको उत्तरी भेगमा पर्ने पुष्पवलपुर गाविसमा काठ तस्करको आक्रमणमा परेर वन कर्मचारीसहित चारजना घाइते भएका छन् ।

आक्रमणबाट सेक्टर वन कार्यालय पुष्पवलपुरका प्रमुख विष्णु यादव, जलाद साँझेदारी वनका अध्यक्ष श्यामलाल महतो, पोष्टबहादुर गिरी, समिति सदस्य महेन्द्र महतोलगायतका वन कर्मचारी तथा साझेदारी वनका पदाधीकारीहरु घाइते भएको जिल्ला वन कार्यालय धनुषाका जिल्ला वन अधिकृत वीरेन्द्र साहले जानकारी दिए ।

गएराति धनुषाको उत्तरी वन क्षेत्रको जङ्गलबाट ट्र्याक्टरमा सखुवा काठ तस्करी गरिरहेको सूचनाको आधारमा वन कर्मचारीसहित जलाद साझेदारी वनका पदाधिकारीहरुले अवैध रुपमा ल्याउँदै गरेको काठ नियन्त्रणमा लिएपछि तस्करहरुले हातहतियारसहित वन कर्मचारीमाथि आक्रमण गरेर घाइते बनाएका थिए । घाइतेहरुमध्ये महेन्द्र महतोको अवस्था गम्भीर रहेको छ ।

तस्करहरुले कर्मचारीहरु सवार ज६प ८४२१, ज७प ७०२७ र ज५प ४७४ नंको मोटरसाइकलसमेत तोडफोड गरेका छन् । यसका साथै पुष्पवलपुरमा रहेको इलाका वन कार्यालयमा समेत तोडफोड गरेको ढल्केवर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

आक्रमणपछि तस्करहरुले उक्त काठ पनि लिएर फरार भएका छन् । काठ तस्कर हरिविष्णु खनाल नेतृत्वको समूहले हातहतियारसहित जथाभावी आक्रमण गर्न थालेपछि वन रक्षकले तीन राउन्ड हवाई फायर गरेर ज्यान जोगाएको सेक्टर वन कार्यालय पुष्पवलपुरका प्रमुख विष्णु यादवले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप