मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भुकम्पले ध्वस्त बस्तीमा यसरी जुध्दैछन् गोरुहरु

आइतबार, १९ पुस २०७२, ०५ : २७
आइतबार, १९ पुस २०७२

काठमाडौं– हरेक वर्षझैं यसवर्ष पनि नुवाकोटको तारुकामा गोरु जुधाई प्रतियोगिता हुँदैछ । माघे सक्रान्ति (माघ १)को अवसरमा हुने सो प्रतियोगिताको तयारी तीब्र रुपमा चलिरहेको आयोजकले जनाएको छ । आन्तरिक र बाह्य पर्यटकको साथै राष्ट्रिय अन्तराष्ट्रिय सञ्चारमाध्यममार्फत समेत उल्लेख्य ‘कभरेज’ पाइरहेको गोरु जुधाई प्रतियोगिता गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पपछि पनि उही जोशका साथ आयोजना हुँदैछ । तुलनात्मक रुपमा नुवाकोटका अन्य गाविसको तुलनामा कम मानविय क्षति भएपनि भौतिक रुपमा ध्वस्त भएको बस्तीका जनताको पीडालाई भुलाउँदै आन्तरिक र बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्न प्रयास गरिने माघेसक्रान्ति मेला व्यवस्थापन समितिका अध्यक्ष जनकराज ढुंगानाले रातोपाटीलाई जानकारी दिए । ‘बैशाख १२ गतेको विनाशकारी भुकम्पले अरु ठाउँजस्तै पनि तारुका प्रभावित बन्यो, तरपनि पीडालाई भुल्दै आफ्नो संस्कृतिलाई बचाउन लागिपरेका छौं’, ढुंगानाले रातोपाटीसँग भने, ‘ यसमा आम गोरुधनी, स्थानीयदेखि राजनीतिक दलसम्म एकजुट भएर लागि परेका छौं ।’ १४१५ घरधुरी मध्ये १४०१ घरधुरी भुकम्पले ध्वस्त भएको यस गाविसमा १ जना ले ज्यान गुमाउनु प¥यो भने आधा दर्जन सार्वसाधारण घाइते भएको गाउँ विकास समिति तारुकाका सहसचिव विष्णु अधिकारीले जानकारी दिए ।

गोरुजात्रालाई व्यवस्थित गर्नकै लागि गत पुस १३ गते ढुंगानाको अध्यक्षतामा ९ सदस्यीय माघेसक्रान्ति मेला व्यवस्थापन समितिको गठन भइसकेको छ । जसमा नेपाली कांग्रेस र एमालेका प्रतिनिधि रहेका छन् । विगतमा मेलाबारे राजनीतिक खिचनाती समेत हुने गरेको भएपनि यसर्ष भने सबै मिलेर मेलालाई व्यवस्थित बनाएर लैजाने समझदारी बनिसकेको छ । मेलालाई व्यवस्थित बनाएर लैजाने सहमति भएसँगै किसानहरुले प्रतियोगिताकै लागि भनेर पालेको गोरु दर्ता गर्ने क्रम सुरु गरिएको समितिका सचिव होमनाथ सिग्देलले बताए । उनले गाविसको रोहबरमा भएको भेलामार्फत समिति बनेसँगै पुस २३ गतेभित्रै सबै गोरुको दर्ता गरिसक्ने कार्यतालिका रहेको बताए । समितिका अनुसार यसवर्ष तारुका ५चन्दनीस्थित कटरबोट पाटोमा१८ हल गोरु जुधाइने लक्ष्य छ । जसमा विजेता गोरुधनीलाई नगद र प्रमाणपत्र दिइने दिइने छ । यस्तै गोरु पाल्ने किसानलाई अन्नपात तथा अण्डालगायतका दाना सहित दुर्घटना बीमा समेतको व्यवस्था गरिने ढुंगानाले बताए । गोरु दर्ता, बिमा, मेला व्यवस्थापना लगायतका कार्यका लागि ९ सदस्यीय अर्को उपसमिति समेत गठन गरिएको छ । स्थानीय राजनीतिक दल तथा गोरुधनीको तर्फबाट प्रतिनिधित्व गर्ने नारायणकाजी श्रेष्ठ, श्यामबहादुर श्रेष्ठ, दीपक तामाङ, कुमार श्रेष्ठ, डिल्ली ढुंगाना, रामजी अधिकारी, ठाकुर सिग्देल र लक्ष्मण प्रधान रहेको सो समिति गठन गरिएको अध्यक्ष ढुंगानाले जानकारी गराए । यसैगरि मेलाको दिन भीडलाई व्यवस्थित बनाउन गाविसमा रहेको श्रीकृष्ण उच्चमावि, पीमलटार मावि र पीपलडाँडा माविका  विद्यार्थीलाई आवश्यकता अनुसार स्वयम्सेवकको रुपमा परिचालन गर्ने तयारी गरिएको समेत आयोजकले जनाएको छ । यसैगरि सञ्चारमाध्यमको सुविधाको लागि मिडिया सेन्टरको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ । यस्तै आवश्यकताअनुसार छोटो समयको लागि ‘होमस्टे’को समेत व्यवस्था गरिने अध्यक्ष ढुंगानाले बताए ।

लोकप्रिय बन्दै प्रतियोगिता युरोपीयन मुलुक स्पेनमा हुने चर्चित साँढे जुधाई प्रतियोगिताले विश्वकै ध्यान खिच्ने गरेको छ । जुन प्रतियोगिता हेर्न विश्वभरीकै मानिसहरु लाखौं खर्च गर्न तयार हुन्छन् । स्पेनमा मात्रै होइन फ्रान्स, पोर्तुगल, मेक्सिको, इक्वेडरलगायत देशमा पनि बुलफाइटबाट मनोरन्जन लिने चलन छ। तर त्यहाँ गोरु–गोरुबीच नभई मान्छे र गोरुबीच भिडन्त हुन्छ । स्वरुप त्यस्तै नभएपनि त्यहाँकै साँढे जुधाइको झल्को दिने गरी तारुकामा गोरु जुधाई प्रतियोगिताको आयोजना हुन्छ । सो गोरु जुधाई प्रतियोगिताले विस्तारै लोकप्रिय त बन्दैछ नै यसले समग्र नुवाकोटको पहिचान पनि दिएको छ । पहिले अव्यवस्थित र प्रचारप्रसारको अभावमा स्थानीयस्तरमा यो प्रतियोगिता सीमित भएपनि पछिल्लो वर्षहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले स्थान दिन थालेपछि यसको महत्व ह्वात्तै बढेको छ । विसं २०६१ सालदेखि व्यवस्थित रुपमा जुधाइँदै आएको गोरुजुधाईले प्रतियोगिता हेर्नैको लागि आन्तरिक तथा बाह्य पर्यटकको समेत तारुकामा ओइरो लाग्ने गरेको छ । परापूर्वकालदेखि गोरु जुधाइँदै आइएकोमा यसलाई निरन्तरता दिँदै जानेक्रममा पछिल्लो समय त तारुका गोरु जुधाइने स्थानका रुपमा प्रसिद्ध बनेको र यसकै कारण आन्तरिक र बाह्य पर्यटकको आकर्षकको केन्द्र बनेको स्थानीय तथा एमाओवादी तारुका गाउँ पार्टी अध्यक्ष खिललाथ अधिकारीले जानकारी दिए । यद्यपी यसको उचित मार्केटिङ गर्न नसकिँदा पर्यात्य पर्यटकीय सम्भावना भएर पनि माघेसक्रान्ती बाहेक अन्य अवसरमा तारुका र यसआसपासका क्षेत्रमा पर्यटककलाई आकर्षित गर्न नसकिएको उनको बुझाई छ ।

दर्ता नहुँदा समस्या

व्यवस्थित रुपमा गोरु जुधाउँदै आएपनि यसलाई व्यवसायिकता दिन भने नसकेको स्वीकार्छन्, समितिका अध्यक्ष ढुंगाना । उनले अहिलेसम्म ‘माघे सक्रान्ति मेला व्यवस्थापन समिति’लाई दर्ता समेत गर्न नसकिएको भन्दै त्यसले गर्दा विभिन्न संघ संस्थाहरुले दिने आर्थिक सहयोग लिन समेत समस्या भएको बताए । ‘विभिन्न संघ संस्थाहरुले सहयोगका लागि हात अघि बढाउनु हुन्छ तर संस्था दर्ता समेत हुन नसक्दा त्यो स्कीकार गर्न समेत समस्या भएको छ’, उनले भने । यसो त गत वर्ष तत्कालिन खेलकूद मन्त्रालयले दिएको ५ लाख रकम समेत समितिको आधिकारिकता नहुँदा समितिलाई प्राप्त गर्न समस्या भएको थियो । तर यस्ता प्राविधिक समस्यालाई चिर्न केहि दिनभित्रै संस्थाको दर्ता गर्ने गर्ने र त्यसका लागि आवश्यक निर्णयहरु भइसकेको अध्यक्ष ढुंगानाले जानकारी दिए ।

कसरी सुरु भयो परम्परा ? प्रतियोगितका लागि हरेक वर्ष हजारौंंको संख्यामा दर्शक विभिन्न जिल्ला र देशबाहिरबाट समेत आउँछन् । यो संख्या वर्षेनी बढिरहेको स्थानीयको भनाइ छ । तथ्यांक राख्ने नगरे पनि तारुकामा दर्शकको भीड वर्षेनी बढ्दै गएको छ । यो प्रतियोगिताको सुरुवात कसरी भयो भन्ने यकिङ हुन नसकेपनि स्थानीय झण्डै २०० वर्ष अघि गोरु जुधाउने परम्पराको थालनी भएको विस्वास गर्छन् । तारुका बझाङी राजा जयपृथ्बीबहादुर सिंहको मामली रहेको उनी मामली आउँदा उनलाई मनोरञ्जन दिनका लागि गोरु जुधाएर देखाइएको स्थानीयको विस्वास छ । त्यही बेलादेखि गोरु जुधाउने प्रचलन बसेको बुढापाकाले बताएपनि पुष्टि गर्ने आधार भने अहिलेसम्म पाउन सकिएको छैन ।

पहिले तारुका आसपासका क्षेत्रहरु बुधसिङ, रातमाटे, दुईपिपल लगायत गाविसमा पनि गोरु जुधाउने चलन थियो । तर, अहिले त्यता जुधाइँदैन । बरु नुवाकोटको बेत्रावतीमा भने गोरु जुधाइने गरिन्छ । जुन यसवर्ष पनि जारी रहने बताइएको छ । आफू नखाएर गोरुको स्याहार गोरु जुधाउनका लागि गोरु तयार गर्नु कम्ती मेहनत गर्दैनन् किसानहरु । आफूले जे जस्तो खाएर भएपनि किसानहरुले वर्षभरी नै गोरुलाई मास, चामल, पिठो, अण्डालगायतका पोषिलो खानेकुरा खुवाएर पाल्छन् । गोरु जुधाएर केहि पाइनु भन्दा पनि आत्मसन्तुष्टि मिल्ने स्थानीय शिक्षक विपीन लामिछाने बताउँछन् । आफूले पनि केहि वर्षयता जुधाउनको लागि गोरु पाल्ने गरेको जानकारी दिँदै सो क्रमलाई यसवर्ष पनि निरन्तरता दिएको जानकारी दिए । तारुकाको मौलिक संस्कृतिको रुपमा स्थापीत गोरु जुधाई प्रतियोगितालाई निरन्तरता दिनकै लागि लागिरहेको बताउँदै पछिल्लो समय तारुकमा देशी विदेशीहरुको लर्को लागेका देख्दा आफूहरु थप हौसिएको उनी बताउँछन् । यसको व्यापक विकास र विस्तार गर्दै तारुकाको गोरुजात्रालाई अन्तराष्ट्रियकरण गर्नुपर्नेमा उनको जोड छ । यसका लागि सरकारी स्तरबाटै पहलकदमी भइदिए प्रतियोगिताको विकासमा महत्वपूर्ण फड्को मिल्ने स्थानीय बताउँछन् ।

यसरी पुग्न सकिन्छ तारुका काठमाडौं हुनेहरुले तारुका जानको लागि कलंकीहुँदै गल्छी–त्रिशूली सडकखण्ड प्रयोग गर्न सक्छन् । जुन सबैभन्दा छोटो छोटो रुट हो । यसो त पासाङलाह्मु राजमार्ग अन्तर्गतको काठमाडौं– पीपलटार देबिघाट हुँदै पनि तारुका पुग्न सकिन्छ । जहाँ पुग्न नीजि सवारी साधन नहुनेहरुलाई पनि कुनै चिन्ता छैन । किनकी पर्याप्त बस तथा माइक्रो बसहरु सञ्चालनमा छन् । यद्यपी पासाङल्हामु राजमार्गको प्रयोग गरेको खण्डमा भने पीपलटारबाट गल्छी त्रिशूली रुटमा चल्ने गाडी बढल्नुपर्छ । दुबै तर्फबाट बाहेक अन्य केहि रुटहरु समेत अस्तित्वमा रहेपनि त्यो त्यति सहज छैन । पोखरा चितवनतर्फबाट आउने दर्शकहरुको लागि भने गल्छी हुँदै तारुकाघाटतर्फ लाग्नुपर्ने हुन्छ । सो स्थानहरुबाट आउनेहरु गल्छीमा झरेर त्रिशूलीका लागि छुट्ने बस तथा माइक्रोमार्फत तारुका जान सक्छन् । बस तथा माइक्रोमा जानेहरुका लागि अन्तिम स्टेसन तारुका र रातमाटे गाविसको सीमाक्षेत्रमा पर्ने तारुकाघाट हो । जहाँबाट त्रिशूलीको झोलुंगे पुल तरेर झण्डै ८ किलो मिटरको यात्रा तय गर्नुपर्छ । त्रिशूलीको पुल तरिसकेपछि स्थानीयस्तरमा चल्ने गाडीहरु पाइन्छ । तर, एक हिँड्ने जाँगर भएकाहरुले  भने सालघारीको जंगल हुँदै प्राकृतिक दृश्यावलोकन गर्दै उकालो चढ्नुको मज्जा लिन सक्छन्  । जसबाट एकै साथ गोरु जात्रा र हाइकिङको मज्जा लिन सकिन्छ । आफ्नै मोटरसाइकल भएकालाई झन् फाइदैफाइदा ! कार्यक्रमस्थ नजिकै व्यवस्थित पार्किङको व्यवस्था समेत आयोजकले गरिदिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप