बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एकसय आठ युवा छानिए

सोमबार, २० पुस २०७२, १४ : ४६
सोमबार, २० पुस २०७२

धनगढी– कैलालीमा यस वर्ष युवा लक्षित च्याउखेती र तरकारी खेती कार्यक्रमतर्फ १०८ युवा छनोट भएका छन् ।

च्याउखेतीतर्फ ४० र तरकारी खेतीतर्फ ६८ जना युवालाई व्यावसायिकखेती गर्न अनुदान रकम उपलब्ध गराउन लागिएको छ । च्याउखेतीमा १११ जना र तरकारी खेतीमा १६३ जनाको निवेदन परेको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत कोमल शाहीले जानकारी दिए ।

च्याउखेतीका लागि प्रतिव्यक्ती रु ४० हजार अनुदान उपलब्ध गराउन लागिएको छ । यसरी अनुदान पाउनेले कम्तीमा दश प्रतिशत थप लगानी आफैँ लगाउनुपर्ने प्रावधान रहेको छ । तरकारी खेतीका लागि प्रतियुवालाई पहाडको हकमा रु ४० हजार र तराईको हकमा रु ६० हजार अनुदानको व्यवस्था गरिएको छ । तराईको हकमा तरकारीखेती गर्नेले एक बिघामा वर्षभरिमा दुई याम र पहाडको हकमा पाँच रोपनीमा दुई याम तरकारीखेती गर्नुपर्ने प्रावधान रहेको छ ।

जिल्ला कृषि विकास कार्यालयले च्याउखेतीका लागि जिल्लाको साबिक धनगढी उपमहानगरपालिका, अत्तरिया र घोडाघोडी नगरपालिकाका साथै चौमाला र मसुरिया गाविसलाई पकेट क्षेत्र तोकेको छ । यस्तै तरकारी खेतीका लागि तराई क्षेत्रका धनगढी उपमहानगरपालिका, अत्तरिया नगरपालिका, गोदावरी, हसुलिया, बसौटी, रतनपुर, चौमाला गाविस तथा पहाडी क्षेत्रका सहजपुर र निगाली गाविसलाई पकेट क्षेत्र तोकेको छ ।

सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले आव २०७०÷७१ देखि कृषि विकास कार्यालयमार्फत देशका कैलालीलगायत जिल्लामा यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप