बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

धुर्मुस–सुन्तलीद्वारा ८ सय १६ भूकम्प पीडित परिवारलाई ब्ल्याङ्केट वितरण (फोटोसहित)

सोमबार, २० पुस २०७२, १६ : ५०
सोमबार, २० पुस २०७२

काठमाडौं–धुर्मुस–सुन्तलीले सिन्धुपाल्चोक बराम्ची गाविसका भूकम्प पीडितलाई न्यानो बाँडेका छन् । अत्याधिक चिसोका कारण भूकम्प पीडितको कठ्याङ्ग्रिएर मृत्यु हुन थालेपछि उनीहरुले बराम्ची गाविसका ८ सय १६ परिवारलाई ब्ल्याङ्केट वितरण गरेका हुन् । धुर्मुस–सुन्तलीको विशेष पहलमा नेपाली समाज टेक्सास अमेरिका (NST) ले सिंगो गाविसलाई नै न्यानो दिन ब्ल्याङ्केट सहयोग गरेको हो । चिसो बढेर भूकम्प पीडितको बिचल्ली भएपछि न्यानो प्रदान गर्न २० लाख रुपैयाँ बराबरको ब्ल्याङ्केट जुटाएको (NST) ले जनाएको छ । भूकम्पबाट बाँचेकाहरुको समेत चिसोले ज्यान लिन थालेपछि जतिसक्दो धेरै परिवारलाई न्यानो दिन पहल गरेको सिताराम कट्टेल (धुर्मुस) ले जानकारी दिए ।

सरकारले सबै जनतालाई न्यानो दिन नसकिरहेको समयमा केहि मानिसलाई भएपनि चिसोबाट बचाउन आफुहरुले सहयोगका लागिसकेको पहल गरेको उनको भनाई छ । एउटा ठूलो विपद्बाट बाँचेकाहरुको जाडोका कारण मृत्यु हुनु दुखद् कुरा भएकाले जतिलाई सकिन्छ सहयोग गर्ने आफ्नो योजना रहेको धुर्मुस सुन्तलीले सुनाएका छन् । यसअघि धुर्मुस सुन्तली आफैँले दोलखाका ७५ परिवारलाई ब्ल्याङ्केट वितरण गरेका थिए । टहरामा बसिरहेका भूकम्प पीडितलाई राति शितले झनै समस्या भएकाले न्यानो प्रदान गर्न यस्तो पहल गरेको कुञ्जना घिमिरे (सुन्तली) ले बताएकी छन् । दिनमा जाडोबाट जसोतसो बाँचेकाहरुलाई पनि रातमा समस्या पर्ने भएकाले न्यानो ब्ल्याङ्केट वितरण गरिएको उनले बताएकी छन् । (NST) का नेपाल संयोजक मधुसुुधन उपाध्यायले भूकम्प पीडितका लागि पारदर्शी काम गर्नका लागि धुर्मुस–सुन्तली फाउण्डेशनमार्फत ब्ल्याङ्कट वितरण गरिएको बताएका छन् । धुर्मुस–सुन्तलीले भूकम्पपछि विश्वासीलो र पारदर्शी काम गरेकाले उनीहरुमार्फत सिङ्गो गाविसलाई न्यानो उपलब्ध गराएको उनको भनाई छ । आफुले मात्र धेरैलाई सहयोग गर्न नसकेपछि धुर्मुस–सुन्तलीले सहयोगका लागि देश–विदेशमा रहेका नेपालीसँग पहल गरिरहेका छन् । प्राप्त सहयोगलाई भूकम्पबाट बढी प्रभावित क्षेत्रमा पुगेर धुर्मुस–सुन्तलीले आफ्नै हातले वितरण गर्ने गर्छन् । एक जोडी कलाकारले सिङ्गो गाविसवासीलाई नै न्यानो दिनु आफैँमा ठूलो कुरा भएको स्थानीय जीतबहादुर तामाङले बताएका छन् । चिसोका कारण निकै समस्या भइरहेको समयमा पनि सरकारबाट कुनै सहयोग नपाएको समयमा आफ्नो लागि धुर्मुस–सुन्तली नै सरकार भएको अर्की स्थानीय पुतली मगरले खुसी बाँडिन् । रात कटाउन मुस्किल परिरहेको समयमा धुर्मुस–सुन्तलीले प्रदान गरेको ब्ल्याङ्केट ओढेर न्यानोसँग सुत्ने भन्दै बराम्चीबासीले खुसी व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप