बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जिन्सी सामग्रीको सुरक्षा र लिलामी अदालतलाई बोझ

बुधबार, २२ पुस २०७२, १३ : २२
बुधबार, २२ पुस २०७२

मोरङ–जिम्मामा आएका जिन्सी सामग्री लिलाम र सुरक्षित भण्डारण गर्न यहाँका अदालतलाई बोझ बनेको छ ।

मुद्दाको फैसलापछि जिम्मा आएका सुनचाँदी, मोटरसाइकल, कम्प्युटर, कार जिप, हातहतियार आदि मालवस्तु थन्काउन व्यवस्थित भवन अभाव र सहज लिलाम नहुँदा जिन्सी मालवस्तुहरु अदालतलाई बोझ बनेको हो ।

मोरङ जिल्ला अदालतमा २०५१ देखिका जिन्सी समान अझै बेवारिस अवस्थामा मिल्किएका छन् । भवन अभावले दराजहरु पनि एउटा साँधुरो कोठामा थन्काइएका छन् भने केही स्थान अभावले गर्दा बाहिर नै अलपत्र अवस्थामा राखिएका छन् । सुरक्षित भण्डारण नहुँदा धेरै जिन्सी सामान काम नलाग्ने अवस्थामा पुगिसका छन् ।

अदालतको तहसिल शाखाका अनुसार मोरङ अदालतमा ३५ थान मोटरसाइकल, तीनवटा जिप कार, पाँच तोला चाँदी, पाँच तोला सुन, एक दर्जन कम्प्युरटर, दस थान रिक्सा, दजनौँ मोबाइल सेट र घरेलु हाततियार लिलाम हुन नसक्दा थन्किएका छन् ।

त्यस्तै पुनरावेदन अदालत विराटनगरमा पनि दुई थान मोटरसाइकल थन्किएर बसेका छन् ।

अदालतको जिम्मामा आएका जिन्सी वस्तु प्रायः चोरी गरिएका वा अपराध कार्यमा प्रयोग गरिएका हुने भएकाले कानुनी जाँचपडतालमा समय लाग्ने, धेरै झन्झट हुने गर्दा लिलाम कार्यमा समस्या हुने गरेको मोरङ अदालतका तहसिलदार राजकुमार दाहालले बताए ।

उनले सरकारले जिम्मा लिने कार्यालय आफैँले जिन्सी सामान लिलाम गरेर आम्दानी बाध्नुपर्ने नियम बनाएको छ । तर भवनको अभाव र झन्झिटिलो प्रक्रियाले गर्दा लिलाम कार्य अदालतका लागि बोझ हुने गरेको छ ।

पुनरावेदन अदालत विराटनगरका न्यायाधीश किशोर सिलवालले जिन्सी सामानको सुरक्षा र लिलामीका लागि सरकारले अलग्गै लिलाम घर ९अक्सन हाउस०को व्यावस्था मिलाउनु उत्तम हुने बताए ।

उनका अनुसार जिन्सी समानको सुरक्षा र लिलामीमा ध्यान नपुग्दा देशभरका अदालतमा करोडौंको सम्पत्ति साँधुरा कोठा र खुल्ला आकाशमुनि थन्किएर बसेका छन् । तीमध्ये धेरै काम नलाग्ने अवस्थामा पुगिसकेका छन् । जिम्मामा आएका जिन्सी सामग्री समयमै लिलामी हुन नसक्दा राज्यले बर्सेनि करोडौँ नोक्सानी व्यहोरिरहेको छ ।

सरकारले जफत् गरेका मालवस्तु लिलाम गर्न अलग्गै अक्सन हाउसको व्यवस्था नहुँदा न्यायिक र अर्धन्यायिक कार्यालय ९अदालत, भन्सार, राजस्व अनुसन्धान, आन्तरिक राजस्व, प्रहरी र वन० आदिको जिम्मामा आएका मालवस्तुको सुक्षित भण्डारण र लिलामी कार्य आजकल टाउको दुखाइ बन्न थालेको छ ।

एकातिर लिलाम हत्याउन गुण्डागर्दी गर्ने समूहको बिगबिगी बढ्ने गरेको छ भने अर्कोतिर जिम्मामा आएका जिन्सी सामग्री सुरक्षित राख्न व्यवस्थित गोदाम घरको व्यवस्था नहुँदा मूल्यवान् सम्पत्ति कवाडीमा परिणत हुने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप