बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जहाँ राम, कृष्ण र पाण्डवले स्नान गरे

शनिबार, २५ पुस २०७२, १२ : ०१
शनिबार, २५ पुस २०७२

धनगढी–सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल कैलालीको गोदावरीमा आगामी माघ १ गतेदेखि सुरु हुने ‘गोदावरी अमृत महास्नान दिव्य सहस्त्र कुम्भ दर्शन मेला’ को तयारी अन्तिम चरणमा पुगेको छ ।

मेला मूल आयोजक समितिका संयोजक एवम् साहित्यकार पदमराज जोशीले गोदावरीलाई मुख्य धार्मिक पर्यटन गन्तव्यस्थलका रुपमा विकास गर्न मेला आयोजना गर्न लागिएको जानकारी दिए ।

मेलामा जगत्गुरु शङ्कराचार्य, वैष्णवाचार्य, पीठाधीश, मठाधीश,सन्त महन्त एवं विभिन्न धर्मगुरुद्वारा चार वेद, अठार पुराण र षड्शास्त्रमा आधारित विशेष प्रवचन हुने बताइएको छ । यस्तै दैनिक योग, पूजापाठ, तुलादान, हवन, भजनकीर्तन, कोटी दीप प्रज्वलन, गङगा आरती, धनधान्याञ्चल अन्नपूर्ण महायज्ञ सहितका यज्ञ अनुष्ठान गरिने जनाइएको छ ।

आगामी फागनु १ गतेसम्म हुने मेला भर्न आउने सन्तमहन्तको बसोवासका लागि झुप्राहरुको निर्माणका साथै मेलास्थलमा खानेपानी, बाटोघाटो, दिद्युतीकरण जस्ता पूर्वाधार जुटाउने काम प्रायः पूरा भएको छ ।

कुम्भ मेलामा माघ १गते देखि फागुन१गते सम्म पाँच वटा महास्नान९साही स्नान० गरिने धार्मिक मान्यता अनुसार गोदावरीमा हुने कुम्भ मेलामा पनि यी महास्नान गर्न लागिएको छ ।

धनगढी देखि करिब २२ किमी उत्तर चुरे पहाडको फेदमा रहेको गोदावरी क्षेत्र धार्मिक पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्यस्थल बन्न सक्ने देखिएको छ । तर गोदावरी नदीमा पानीको स्रोत घट्दै गएकाले केही समस्या हुने कतिपयको भनाइ छ । गोदावरी नदी छेउमा मठ मन्दिर, धर्मशाला, बौद्ध गुम्बा आदि छन् ।

यस बाहेक सम्भवतः नेपालकै सबैभन्दा अग्लो ५१ फि अग्लो हनुमानको मूर्ति समेत यो क्षेत्रमा रहेको छ । यहाँ हरेक वर्ष माघे सङ्क्रान्तिका दिन ठूलो मेला लाग्ने गरेको छ ।

धनगढी—डडेलधुरा राजमार्गको छेउमै रहेको यो क्षेत्रलाई सप्त गोदावरीमध्येको प्राचीन गोदावरी रुपमा लिने गरिन्छ ।

वृद्ध गौतमीका नामले समेत चिनिने यो क्षेत्रमा श्रीकृष्णले स्नान गरेको भन्ने स्कन्द पुराणमा उल्लेख गरिएकाले पनि यसको धार्मिक महत्व रहेको छ । यसका साथै गोदावरीमा राम, भीष्मपितामह र पाण्डवले पनि स्नान गरेको किंबदन्ती छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप