बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ठिमीमा मापदण्ड विपरीत प्लानिङ, नगरपालिकाद्वारा नक्सा पास रोक्का

आइतबार, २६ पुस २०७२, ११ : ०९
आइतबार, २६ पुस २०७२

भक्तपुर–मध्यपुर ठिमी नगरपालिका क्षेत्रमा नगरपालिकाको मापदण्ड विपरीत जग्गा प्लानिङ गर्ने क्रम बढेपछि त्यस्ता जग्गामा नक्सा पास रोकिएको छ ।

घर बनाउनका लागि आवश्यक मापदण्ड निर्धारण गर्दै नगरपालिकाले तोकेको मापदण्ड विपरीत जग्गा प्लानिङ बढेपछि मध्यपुर थिमी नगरपालिकाले त्यस्ता जग्गामा घर निर्माण गर्न नदिने भएको हो ।

नगरपालिकाभित्र जुनसुकै निकायले जग्गा प्लानिङ गरे पनि अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था छ । तर नगरपालिकालाई कुनै जानकारी नै नदिई जथाभावी रूपमा सयौँ रोपनी जग्गामा मनोमानीसँग प्लानिङ गर्नेक्रम बढेपछि नगरपालिकाको स्वीकृतबिना गरिएको जग्गा प्लानिङमा घर बनाउनका लागि नक्सा पास नगर्ने भएको हो ।

नगरपालिकाका कार्यकारी अधिकृत भूपेन्द्र सापकोटाले भने “नगरपालिकासँग अनुमतिसमेत नलिई नगरपालिकाले तोकेको मापदण्ड विपरीत जग्गा प्लानिङ गर्ने क्रम बढेको छ, नगरपालिकाले जारी गरेको सूचनाको समेत बेवास्ता भएको छ, मापदण्ड विपरीतका जग्गामा नगरपालिकाले घर बनाउन नक्सा पास गर्दैन ।”

जग्गा प्लानिङ गर्नेलाई नगरपालिकासँग स्वीकृत लिएर मापदण्डअनुसार मात्रै प्लानिङ गर्न पटक पटक पत्राचार गर्दासमेत त्यसको बेवास्ता गरेको नगरपालिकाको भनाइ छ ।

मध्यपुर थिमि नगरपालिकाका इन्जिनियर सत्यनारायण शाहले नगर विकास योजना विपरीत नगरपालिकाले तोकेको सडकको मापदण्ड, खुल्ला क्षेत्र मापदण्ड विपरीत जग्गा प्लानिङ भएकाले त्यस्ता जग्गामा नगरपालिकाले नक्सा पास नगर्ने बताए । नगरपालिकाले सुरक्षित क्षेत्र तोकेको क्षेत्रमा समेत धमाधम जग्गा प्लानिङ भइरहेको नगरपालिकाको भनाइ छ ।

मध्यपुर थिमी नगरक्षेत्रमा निल बाराही, बोडे, कृषि विकास कार्यालयको तालिम केन्द्रको क्षेत्र, लोकन्थली, शिक्षा विभाग एवम् शैक्षिक जनशक्ति विकास केन्द्रको आसपासका क्षेत्र, अरनिको राजमार्ग आसपासका क्षेत्र, पुरानो थिमीबाट भक्तपुर जाने सडकको दायाँबायाँका कतिपय क्षेत्रमा भएका प्लानिङ नगरपालिकाको मापदण्ड विपरीत रहेको नगरपालिकाले जनाएको छ ।

जग्गा खरिद गर्नुअघि ती क्षेत्रमा नगरपालिकाले स्वीकृत दिए नदिएको र घर बनाउन पाइने कि नपाइने बुझेर मात्रै जग्गा खरिद गर्नसमेत नगरपालिकाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप