बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘संविधानका पाना पाना पल्टाएर जनतालाई बुझाउनुपर्छ ’

आइतबार, २६ पुस २०७२, ११ : २५
आइतबार, २६ पुस २०७२

बर्दिवास–युवा सङ्घ नेपालले महोत्तरीको बर्दिवासमा मधेस संवाद तथा जागरण अभियानको अञ्चलस्तरीय दुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

महोत्तरी, धनुषा र सर्लाही जिल्लाका अगुवा कार्यकर्ताको सहभागिता रहेको कार्यक्रम शनिबारदेखि सुरु भई आज सम्पन्न भएको हो । कार्यक्रममा सङ्घका केन्द्रीय अध्यक्ष राजीव पहारीले अहिले युवाको दायित्व मधेसमा भत्कन लागेको साम्प्रदायिक सद्भावलाई एकतामा परिणत गर्नु रहेको बताए ।

मुलुककै इतिहासमा गर्व गर्न सकिने संविधान लेखन र घोषणाको कुरालाई केही मधेसवादी दलले अझल्याउन खोजेको प्रयत्न जनतासँगको संवादबाट चिर्न युवा सङ्घले अभियान थालेको पहारीले स्पष्ट पारे । अभियानका क्रममा भ्रष्टाचार, सामाजिक कुरीति र साम्प्रदायिक सद्भाव बिगार्न खोज्ने तत्वविरुद्ध सङ्घमा आबद्ध युवा लाग्नुपर्ने पहारीको भनाइ थियो ।

“पछिल्लो पटक मधेसमा संविधानविरुद्ध जनतालाई भ्रमित बनाउन मधेसका जमिन्दारले फिँजाएका भ्रम संविधानका पाना पाना पल्टाएर जनतालाई बुझाउन सकिए भ्रम फिँजाउनेको खेती सकिन्छ” पहारीले बताए ।

प्रशिक्षण कार्यक्रमपछि महोत्तरी, धनुषा र सर्लाही जिल्लाका सबै गाउँ र नगरबस्तीमा सचेतना अभियान सञ्चालन गरिने तालिका बनेको मधेस संवाद तथा जागरण अभियानका संयोजक सञ्जीव झाले जानकारी दिए । कार्यक्रममा युवा सङ्घ नेपालका उपाध्यक्ष रमेश पौडेल, सचिव माधव बास्तोला, स्थायी समिति सदस्य प्रभात कटुवाल, केन्द्रीय सदस्य अम्बिका गौतम र जोगी यादवसहितका नेताले सङ्घको वर्तमान कार्यभार सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

तीनै जिल्लाका जिल्ला समितिका सदस्य, नगर समितिका पदाधिकारी तथा सदस्य सहभागी रहेका कार्यक्रम सङ्घका जनकपुर अञ्चल संयोजक शम्भु मैनालीको अध्यक्षतामा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप