बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

वेत्रावतीमा श्राद्ध गर्नेको घुइँचो

आइतबार, २६ पुस २०७२, ११ : ३०
आइतबार, २६ पुस २०७२
नुवाकोट– नुवाकोट र रसुवाको सीमा रहेको वेत्रावती क्षेत्रमा शनिबार र आज पौसे औँसीमा श्राद्ध गर्नेको घुइँचो लागेको छ ।  यस वर्ष औँसी शनिबार र आइतबार दुई दिन परेको छ । उत्तरगया क्षेत्र विकास समितिका अध्यक्ष शिवशङ्कर डंगोलले उत्तरगयाको नामले चिनिने वेत्रावतीमा पौषकृष्ण औंसीका दिन आई पितृलाई पिण्डदान दिई श्राद्ध गर्नाले पितृ मोक्ष हुन्छन् भन्ने विश्वास रहेको बताए । देवता र दानवले समुद्र मन्थन गर्दा निस्किएको हलाहल नामको कालकूट विष घाँटीमा लिएका महादेवले बेतको लौरोले पहाडमा हान्दा त्यहाँबाट बगेको वेत्रगङ्गा र त्रिशूलले छेड्दा निस्किएको पानीबाट बगेको त्रिशूली नदीको संगममा पौषकृष्ण औंसीका दिन सबै देवता र मृतात्माको जमघट हुने विश्वासका साथ श्राद्ध गर्ने गरिएको हो । पौस कृष्ण औंसीका दिन वेत्रावतीमा आमाबाबु नभएकाहरुले सके बर्सेनि र नसके जीवनमा एक पटक भए पनि श्राद्ध गर्ने चलन छ । बेत्रावतीमा श्राद्धका लागि पवित्र मानिएका हिन्दकुश क्षेत्रका चार गयामध्ये एउटा गयाको रुपमा पिण्डदान गर्ने चलन छ । चार गयामध्ये तीन वटा गया भारतमा पर्छ । भारतमा रहेको चारधाम दर्शन गर्नुभन्दा पहिले यहाँको उत्तरगयामा दर्शन गरे पुण्यप्राप्त हुने भक्तजनको भनाइ छ । यहाँ श्राद्ध गर्नका लागि नुवाकोट र रसुवा बाहेक धादिङ, कठमाडौं, मकवानपुर, चितवन, गोरखा, कास्कीदेखि मानिस आएको स्थानीय गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लबटले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप