बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावित क्षेत्रका जनतालाई भोलि साँझसम्म ५० करोड रकम वितरण गर्ने : प्रधानमन्त्री ओली

आइतबार, २६ पुस २०७२, १५ : ५६
आइतबार, २६ पुस २०७२

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प प्रभावित क्षेत्रका जनतालाई ५० करोड रकम सोमबार अर्थात भोलि साँझसम्म वितरण गर्ने विश्वास दिलाएका छन् । भने आज बिहानसम्म भूकम्प प्रभावित जिल्लामा न्यानो कपडा खरिदका लागि रु पाँच अर्ब ५० करोड रकम वितरण भइसकेको जानकारी पनि दिए । व्यवस्थापिका–संसद् मातहतको विकास समितिको आजको बैठकमा उनले भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण र पुनःनिर्माणको कामलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने बताए ।

उनले नागरिकलाई सरकार छ भन्ने जनतालाई विश्वास दिलाउँदै राहत तथा पुनःनिर्माणको काम योजनावद्ध रुपमा अगाडि बढाउने प्रक्रिया सुरु भइसकेको बताए ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा थप राहत रकम उपलब्ध गराउन सरकारले आवश्यक निर्देशन दिइसकेको र केही दिनभित्रै ती क्षेत्रमा पुगिसक्ने पनि उनले उल्लेख गरे । आज मात्रै आफूले रक्षा, गृह, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीलाई बोलाएर आवश्यक सबै संयन्त्र परिचालन गरी राहत वितरण गर्न निर्देशन दिएको पनि उनले जानकारी गराए ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा ५० वटा ठूला सामुदायिक तथा आवासीय भवन निर्माण गर्ने काम केही दिनभित्रै सुरु गर्ने योजनामा सरकार रहेको उनको भनाइ थियो ।

कतिपय जिल्लामा गाविस सचिवको अभावमा काम गर्न विगतमा केही समस्या भए पनि सरकारले क्षेत्रीय प्रशासक र प्रमुख जिल्ला अधिकारीलाई आवश्यक व्यवस्थापन गर्न भनिएका कारण पछिल्लो दिनमा सहज भएको प्रधानमन्त्री ओलीले बताए ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातपछि नागरिक समस्यामा परेको भन्ने गुनासो आएपछि सरकारले ती क्षेत्रमा आवश्यक औषधिसहितको टोली परिचालन गरिएको, खाद्यान्नको व्यवस्था गरिएको र आयातमा विशेष ध्यान दिइएको समितिलाई जानकारी गराए ।

सरकारसँग पुग्दो मात्रामा खाद्यान्नको मौज्दात रहेकाले कुनै पनि स्थानमा अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै उनले नागरिकलाई सरकार भएको अनुभव गराउन सबै प्रकारका प्रयत्न जारी राखिएको स्पष्ट पारे ।

स्थानीय सामग्रीकै प्रयोग गरेर भूकम्प प्रतिरोधी घर तथा आवास बनाउनुपर्ने र त्यसमा विशेष ध्यान दिनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने– ‘‘स्थानीय साधन र स्रोतको प्रयोग गर्दा मुलुकभित्रको रकम मुलुकमा नै रहने भएकाले त्यसतर्फ विशेष ध्यान दिइनुपर्छ ।’’

जनतालाई राहतका रुपमा प्रदान गरिने रु दुई लाख रकम पनि यथाशीघ्र वितरण गरिने र सामूहिक जमानीमा रु तीन लाख रकम दिइने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले विगतमा राजनीतिक तथा अन्य कारण पुनःनिर्माण प्राधिकरण गठनमा ढिलाइ भएको भए पनि सबैको प्रयासबाट प्राधिकरण गठन भएको बताउँदै अब काम तीव्र रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

कुनै पनि कमीकमजोरी नहोस् भन्ने तर्फ सरकारले विशेष ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तोकिएको जिम्मेवारी पूरा नगर्नेमाथि कारबाही गरिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप