मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तारुकाको ‘बुलफाइट’ : एकपटक हेर्नैपर्ने मेला

बुधबार, २९ पुस २०७२, १३ : ०३
बुधबार, २९ पुस २०७२

नुवाकोट–हाम्रो समाजमा एउटा छुट्टै चिनारी बोकेको मौलिक साँस्कृतिक चाड हो माघेसङ्क्रान्ति पर्व अर्थात मकरसङ्क्रान्ति । यही माघेसंक्रान्तिसँग अहिले जोडिएर आउने अर्को संस्कृति हो , नुवाकोट तारुकाको गोरुजुधाई जात्रा । माघेसंक्रान्ति र गोरु जुधाईको मेला केहीवर्षयता एकअर्काबीच पर्यावाची शब्दजस्तै बन्न पुगेका छन् । अझ नुवाकोट, धादिङ र राजधानी काठमाडौँलाईसमेत माघेसंक्रान्ति पर्व भन्नेत्रित्तिकै तारुकाको यो गोरुको घमासान घम्साघम्सीको मनोरञ्जन लिने कुराले परिचित गराइसकेको छ ।

घ्यू, चाकु, तरुलजस्ता मिठामिठा परिकार खाएर मनाइने यो पर्व नुवाकोटको तारुकामा भने जिव्रोको स्वाद फेर्ने परम्परामा मात्र सिमित छैन, सयौँ वर्षदेखि ती परिकारहरुको अतिरिक्त धुमधाम शैलिमा मनाइने गोरुजुधाई मेला नुवाकोट जिल्लाको सुन्दर गाउँ तारुकावासीको अमिट पहिचान र नेपालीहरुकै सुन्दर संस्कृति बनिसकेको छ । नेपालकै एकमात्र मौलिक प्रतियोगिता र परम्परा मानिने यो ‘बुलफाइट’ फरक नमुना मान्न सकिन्छ । आन्तरिक तथा बाह्य पर्यटकको लागि खेल मनोरञ्जन र आकर्षक गन्तव्य तारुकाको गोरुजात्रा बनिसकेको पाइन्छ । नजिकका जिल्लाहरुमा त यस दिन नपुग्नेहरुलाई त माघेसंक्रान्ति पर्वको महत्व नै अपुरो भएको भान पर्छ । हरेकको अनुभवले पनि त्यही कुरालाई इगित गर्छ । यस्तो छ गोरु जुधाईको इतिहास गाउँका अजंगका साँढेहरु जम्मा पारेर बाजी थाप्दै जुधाईने यो प्रतियोगितालाई तारुका ५ मा पर्ने चन्दनीस्थित कटरबोट पाटामा विगत एक सय ५० वर्षभन्दा लामो समयदेखि स्थानियहरुले निरन्तर परम्पराको रुपमा मनाउँदै आइरहेका छन् । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिँह हालको गोरुजात्रा हुने स्थान अर्थात तारुका–५ चन्दनीस्थित मामाघर आउँदा भन्जालाई स्वागत र मनोरञ्जन गराउन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा पहिलोपटक सुरु गरेका थिए । उक्त दिन माघेसङ्क्रान्ति भएको र त्यसै समयदेखि गोरु जुधाउने परम्पराको थालनी भएको स्थानिय बुढापाकाहरुको धारण छ, जसलाई अहिलेसम्मका पुस्ताले पनि पहिचानको रुपमा निरन्तरता दिइरहेका छन् । यही परम्परा अन्ततः वरपरको गाउँलेहरुको लागिसमेत मनोरञ्जनको माध्याम र खेल जात्रा बनेको हो । आफ्नै देशको मौलिक शैली र संस्कृति बनिसकेको यहाँको साँढे जुधाईले स्पेनको त्यो बुलफाइट बिर्साउँछ र थप रोचकता अनि आकर्षण थप्छ । आफ्नो साँघुरो घेरामा मात्रै सीमित छैन, मुुलुकका साथै विदेशमा समेत उत्तिकै चर्चा बटुल्न सफल भएको छ । नेपालमै गोरुजात्रा हुने एकमात्र चर्चित थलो हो, तारुका । जो कमैलाई मात्र थाहा छ, यहाँको सदियौँ पुरानो ऐतिहासिक चिनारी बोकेको गोरु जुधाईको परम्परा । तैपनि राजधानी काठमाण्डौंसँगै जोडिएको नुवाकोटको तारुकाका लागि भने यो मौलिक परम्परा बनिसकेको छ । दशैं तिहारजस्ता हिन्दू आस्थाका चार्डपर्वमासमेत घर नफर्कनेहरु माघे सङ्क्रान्तिमा भनेपनि साँढेको बेजोड घम्साघम्सी हेर्न घर आउने चलन यहाँ रहेको छ । आफन्त तथा साथीहरुसँग मेलमिलाप गर्ने र भेटघाको अवसरको रुपमासमेत नुवाकोट र धादिङवासीले यस पर्वलाई महत्वका साथ लिने गरेको पाइन्छ । तारुकामा हुने गोरुजात्रा आन्तरिक तथा बाह्य पर्यटकका लागि मनोरञ्जनको गतिलो माध्याम हुनसक्ने स्थानिय र अन्य पर्यटन व्यवसायीहरुको दावी छ । अन्तराष्ट्रिय स्तरमा मनोरञ्जनको अनुपम खेल सौगात मानिने गोरु जुधाउने परम्पराको यहाँ भने अझैँ प्रचार हुन बाँकी छ । खेल पर्यटन फरक शैली स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु यो गोरुजात्राको महत्वलाई प्राथमिकता दिने क्रम बढेपछि धेरै जिल्लाबाट दर्शककोे उपस्थिती र रौनक बढेको देखिन्छ । खेल पर्यटनको रुपमा समेत विकास हुँदै गरेको यो जात्रा स्वदेशी तथा विदेशी पर्यटकका उचित गन्तव्य त बनेकै छ । अझ विषेश गरी नुवाकोट, रसुवा, धादिङ, गोरखा, चितवन, मकवानपुर र काठमाण्डांैवासीका लागि अनिवार्य पर्व जस्तै बनिसकेको यहाँ वर्षेनी झुम्मिने दर्शकहरुको चापले नै पुष्टि गर्छ । अव्यवस्थित रुपमा गोरु जुधाइने जात्राको पूरानो शैली अहिले पूरै बदलिएको छ । आन्तरिक पर्यटन गन्तव्यको रुपमा स्थापित गर्ने उद्देश्यले अघिल्ला वर्षमा भन्दा यसपटक पूरानो शैलीलाई विकास गर्दै मेलालाई वयवस्थित बनाइएको तारुका गोरुजुधाई मेला व्यवस्थापन समितिका अध्यक्ष जनकराज ढुंगानाले बताए । प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्को पक्षकाले जितेको ठहरिन्छ । मोटा बलिया बहरगोरुहरु लगातार एक घण्टासम्म भिड्ने गर्छन् ।

‘यो वर्ष पनि माघेसक्रान्तिका लागि १५ हल गोरु जुुधाउनका लागि तम्तयार बनाइको छ’, पुर्व गाविस अध्यक्ष समरबहादुर आले मगरले भने । गोरुको घम्साघम्सीमा काले, तारे, फुर्के, बर्ने, सिँगारे, जोवाने जस्ता अनेकौं नाम गरेका साँढेहरु मैदानमा उत्रिन्छन् ।

आाफुले गुन्द्रुक खाएर गोरुलाई मास, भटमास, अण्डा, कोदोको खोले, मकै आदी पोसिला खाद्यान्न र अन्य प्रोटिनयुक्त आहार खुवाएर पाल्छन् । जुरो ढल्किएको चिल्लो साँढे घरमा पालेर यस पटक जुधाउने तयारी गरिरहेका अमरबहादुर भण्डारीले मेलामा जुधाउन ल्याएको साँढे देखाउँदै भने, ‘आफुले रुखोसुखो खाएर त्यसलाई मिठोमसिनु खुवाएर माघेसङ्क्रान्तिमा जुधाउनकै लागि ।’

कसरी पुग्ने तारुका ? तारुकाको बुलफाइट हेर्न जानको लागि काठमाण्डौंबाट दुईवटा रुट प्रयोग गर्न सकिन्छ । पहिलो काठमाण्डौंको कलंकी हुँदै धादिङको गल्छी भएर जान सकिन्छ । दोस्रो रुट भनेको बालाजुबाट ककनी हुँदै विदुर नगरपालिकाको देविघाटबाट पनि पुग्न सकिन्छ । तर, पहिलो रुट गल्छी हुँदै जान तारुका पुग्न सजिलो र छिटो हुनसक्छ । काठमाण्डौंबाट गल्छी हुँदै त्यहाँबाट अर्को बाटो तय गर्नुपर्ने हुन्छ । आफ्नो सवारी साधन नहुनेका लागि यहाँबाट बस तथा माइक्रोबसहरु लाग्छन्, त्यसैमा जान सकिन्छ । आफ्नो साधन भएकाहरुलाई कुनै झन्झट नै भएन । दायाँतर्फबाट त्रिशूली जाने बाटो तय गरेपछि तारुकाको गोरुजुधाई हुने गाउँको तल्लो भाग त्रिशूली किनारै किनार सडक यात्रापछि तारुकाघाट पुग्न सकिन्छ । राजधानीबाट ५७ किलोमिटर दूरिमा पर्ने तारुकावेंशीमा पुगेपछि त्रिशूली नदीको झोलुङ्गे पुल तर्नुपर्ने भएकोले आफ्नो सवारी भएकालाई भने मोटरसाइकलमा मेलास्थलसम्म नै जान सकिन्छ । तरपनि, नदीवारी गाडी पार्किङ गरिराखेर पारी गएपछि मेलास्थल पुग्न पारीतर्फ लोकल गाडीहरु तयारी अवस्थामा भेटिन्छन् । ति पनि मेलास्थलसम्मै पुग्छन् । अर्कोतर्फ वेंशीबाट बसबाट ओर्लेपछि पैदल हिँडेरै गएपनि पहाडी अकालो बाटो एक घण्टाजति हिँड्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप