बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सिरहामा नगर र गाउँ परिषद् हुन सकेनन्

बुधबार, २९ पुस २०७२, १४ : १८
बुधबार, २९ पुस २०७२

लहान–पुस मसान्तभित्रै सम्पन्न गरिसक्नुपर्ने नगर र गाउँ परिषद् पुस महिना सकिन लाग्दासमेत सिरहामा अझै हुन सकेका छैनन् ।

संयुक्त मधेसी मोर्चाको लामो आमहड्ताल र आन्दोलनका कारण पुस मसान्त सकिन लाग्दासमेत सिरहाको कुनै पनि गाविस र नगरपालिकाको गाउँ र नगर परिषद् हुन नसकेको गाविसका सचिवले बताएका छन् ।

स्थानीय स्वायत्त शासन ऐनअनुसार पुस मसान्तभित्रमा गाउँ परिषद् र नगरपरिषद् गरिसक्नुपर्ने व्यवस्था भएपनि मोर्चाको आमहड्ताल र आन्दोलनका कारण हालसम्म कुनै पनि नगर र गाउँ परिषद् हुन नसकेको सिरहाका स्थानीय विकास अधिकारी टुवराज पोखरेलले बताए ।

सिरहामा ६८ गाविस र छ वटा नगरपालिका रहेपनि हालसम्म कुनै गाविस र नगरपालिकाको परिषद् हुन सकेको छैन । गाउँ परिषद् गर्न गाविस सचिवलाई निर्देशन दिएपनि आमहड्ताल र आन्दोलनका कारण कुनै गाविसमा परिषद् हुन नसकेको बताउँदै स्थानिय विकास अधिकारी पोखरेलले भने, “कतिपय गाविसमा परिषद्को तयारी गरिएपनि मोर्चाका कार्यकर्ताले अवरोध गरेकाले गर्न सकिएको छैन ।”

मोर्चाका कार्यकर्ताले कार्यालयसमेत खोल्न नदिने र परिषद् गरिए बिथोल्ने चेतावनी दिएकाले गाविस र नगरपालिकाको परिषद् गर्न नसकिएको उनको भनाइ थियो ।

“स्थानीय स्वायत्त शासन ऐनबमोजिम पुस मसान्तभित्रमा गाउँ परिषद् र नगरपरिषद् सम्पन्न गर्न सकिए गाविस र नगरपालिकालाई न्यूनतम सर्त मापन एमसीपिएममा उत्तीर्ण हुन अङ्क पाइन्छ”– सिरहाको धनगढी माई नगरपालिका कर्मचारी आशिष लम्सालले भन्नुभयो–‘‘पुस मसान्तभित्र परिषद् गर्न नसक्ने गाविस र नगरपालिकाले अङ्क पाउँदैनन् ।”

नगरपरिषद् गर्ने तयारी गरिएपनि आमहड्ताल र आन्दोलनका कारण सम्पन्न गर्न नसकिएको लम्सालको कथन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप