बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कक्षा ११ को नतिजा सार्वजनिक, ४९ दशमलव २० प्रतिशत विद्यार्थी उत्तीर्ण

बिहीबार, ३० पुस २०७२, १७ : ०४
बिहीबार, ३० पुस २०७२

भक्तपुर– उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले आज कक्षा ११ को परीक्षाफल प्रकाशन गरेको छ ।

परीक्षामा ४९ दशमलव २० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा नियमिततर्फ दुई लाख ४३ हजार ७३१ जना परीक्षार्थी रहेकामा एक लाख १९ हजार ९१६ जना परीक्षार्थी उत्तीर्ण भएको परिषद्का उपाध्यक्ष डा चैतन्य शर्माले जानकारी दिए ।

परीक्षार्थीमध्ये चार जनाको परीक्षा स्थगित गरिएको छ भने ६१ जनाको परीक्षाफल रद्द गरिएको छ ।

आंशिकतर्फ भने एक लाख २६ हजार ९३० जना परीक्षार्थी सहभागी भएकोमा ४३ हजार ९८३ अर्थात् ३४ दशमलव ६५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको उनले जानकारी दिए ।

आंशिकतर्फ परीक्षार्थीमध्ये पाँच जनाको परीक्षा स्थगित गरिएको छ भने ३५ जनाको परीक्षाफल रद्द गरिएको छ । गत वर्ष भने ४७ दशमलव २७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएकामा यस वर्ष उत्तीर्ण प्रतिशत बढेको शर्माले जानकारी दिए ।

परीक्षा भएको छ महिनापछि बल्ल कक्षा ११ को नतिजा सार्वजनिक गरेको हो । परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक गर्नुपर्ने नियम भए पनि छ महिना ढिलो नतिजा सार्वजनिक भएको छ ।

कक्षा ११ को परीक्षा गत असार १ गतेदेखि भएको थियो । भूकम्पका कारण रोकिएको सात जिल्लाको परीक्षा भने असार २४ गतेदेखि सुरु भएको थियो ।

एक विषय अनुत्तीर्ण हुने परीक्षार्थीका लागि भने आगामी माघ २९ गते मौका परीक्षा सञ्चालन गरिने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप