मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यात्रा संस्मरण : बन्दीपुर र गोर्खादरबारमा रमाउँदा

शनिबार, ०२ माघ २०७२, १२ : ३२
शनिबार, ०२ माघ २०७२

विनाशकारी भूकम्पले नुवाकोटको ऐतिहासिक र सांस्कृतिक धरोहरमा अपूरणीय क्षति पुर्यायो । यहाँको साततले दरबार, तलेजु भवानी, भैरवी मन्दिर ढलेको छ । गारद, रंगमहल ध्वस्त भएको छ । त्यस्तै लामोपाटी, सेतोपाटी ध्वस्त भएको छ । यी नुवाकोटका यी सांस्कृतिक धरोहर हुन् । जसलाई भूकम्पले क्षति पुर्याएपछि हामी पुनः पुरानै अवस्थामा फर्कने कोसिसमा छौँ । यसका लागि हामीले देशका अन्य क्षेत्र जहाँ सांस्कृतिक धरोहर छन्, त्यसको भ्रमण गर्न आवश्यक ठान्यौ । र, हामी नुवाकोटवासीले एउटा समूह बनाएर आ–आफ्नै खर्चमा, केही गैरसरकारी संस्थाको खर्चमा गोरखा दरबार र बन्दीपुरको भ्रमण गर्यौँ । मंसिर अन्तिमतिर नुवाकोटवासीले ३२ जनाको समूह बनाएर बन्दीपुर र गोर्खा दरबारतिरको भ्रमण गर्यौँ । ३२ जनामा हामी दुईजना मात्रै महिला थियौँ, म र शोभा डंगोल । नेपालकै पर्यटकीय स्थलहरुमध्ये गोरखा दरबार र बन्दीपुर बजार पनि पर्छन् । हुन त, गोरखा दरबार र बन्दीपुरको यो भ्रमण मेरो दोस्रो हो । हाम्रो भ्रमणको मुख्य उद्देश्य बन्दीपुर र गोरखा दरबारको ऐतिहासिक, सामरिक, सांस्कृतिक अध्ययन र त्यहाँका स्थानीयको जीवनशैलीको अवलोकन गर्नु थियो । गोरखा दरबार क्षेत्र स्वदेशी तथा विदेशीहरुको रोजाइमा पर्छ । यहाँ वर्षेनी हजारौँ पर्यटक आउँछन् । यहाँको ऐतिहासिक र सामरिक महत्त्वको अध्ययन गर्न विदेशी विद्यार्थी र खोजकर्ताको उपस्थिति पनि ठूलो संख्यामा रहने गरेको छ । मध्य पहाडको गोरखाबजार अत्यन्तै रमणीय छ । यहाँबाट वरपरका हिमाल, पहाड, गाउँघर देखिन्छन् । बजारमा वरपरका गाउँबाट मेला भर्न आएका पनि भेटिन्छन् । गोरखा बजारबाट ४५ मिनेट जति ठाडै उकालो हिँडेपछि गोरखादरबार अथवा शाह वंशको ऐतिहासिक जन्मथलो पुगिन्छ । तर, अहिले दरबार छेउसम्म सडक पुगेकाले यात्रा छोटिएको छ । सवारीसाधनमा पाँच मिनेटमै त्यहाँ पुगिन्छ । नेपाललाई एकीकरण गर्ने काम यही दरबारका राजा पृथ्वीनारायण शाहबाट भएको थियो । राजा पृथ्वीनारायण शाहको जन्मथलो गोरखा दरबार राष्ट्रिय एकताको जिउँदो प्रतीक र साक्षी पनि हो । विविध जातजाति, धर्म र संस्कृतिका नागरिकलाई एकै सूत्रमा बाँधी नेपाली हुनुको गौरव कायम राख्न शाह वंशको योगदान महत्त्वपूर्ण छ भन्न करै लाग्छ । गोरखा दरबारको इतिहासबारे विद्यालयदेखि विश्वविद्यालय तहसम्म पढाइ हुने कुरा जगजाहेरै छ । तर, किताबमा पढ्नु मात्रै त्यहाँ पुग्नुजस्तो अवश्य नै हुँदैन । ऐतिहासिक दृष्टिले मात्र होइन, प्राकृतिक सुन्दरता र धार्मिक हिसाबले पनि गोरखा सुन्दर छ । यस दरबार क्षेत्रबाट गणेश, मनास्लुलगायत हिमाल प्रत्यक्ष नियाल्न सकिन्छ । माछापुच्छ«े हिमाल त छर्लंगै देखिन्छ । दरबारसँगै ऐतिहासिक गोरखनाथ गुफा छ । यही गुफाबाट बाबा गोरखनाथले पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको अभियानमा विजय प्राप्त गर्ने आशीर्वाद दिएको कहावत छ । दरबारसँगै प्रसिद्ध कालीको मन्दिर छ । यो आध्यात्मिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । केही समयको अवलोकनपछि हामी गोरखा दरबारबाट बन्दीपुर हिँड्यौं । तनहँुमा पर्ने बन्दीपुर सहर नेपालको पुरानो सहरमध्ये एक हो भन्दा हुन्छ । हावापानीका हिसाबले बन्दीपुर उत्कृष्ट सहर रहेछ । बन्दीपुरमा प्रवेश गर्नासाथ स्थानीय दिदीबहिनीले हामीलाई भव्य स्वागत गरे । साँच्चै स्वागतको यो शैली सम्झनलायक थियो । उनीहरूलाई हामीले परिचय दियौं, भ्रमणको उद्देश्य बतायौँ । हामीले दिदीबहिनीसँग बन्दीपुरको समग्र अवस्थाबारे बुझ्ने प्रयास गर्यौँ । उनीहरुले हाम्रो जिज्ञासा हरसम्भव मेट्ने कोसिस गरे । पर्यटकीय स्थल बन्दीपुरको आम्दानीको मुख्य स्रोत होमस्टे (घरवास) रहेछ । होमस्टेले ग्रामीण पर्यटन प्रवद्र्धनमा सघाउँछ । हामीले होमस्टे कसरी सञ्चालन गर्न सकिन्छ, पर्यटकहरुलाई कसरी आकर्षित गर्न सकिन्छ, आदि विषयमा हामीले जानकारी लियौँ । त्यस रात हामी बन्दीपुरकै होमस्टेमा बस्यौँ, समूह–समूहमा बाँडिएर ।

भोलिपल्ट बिहान त्यहाँका रमणीय स्थल र धार्मिक धरोहरको अवलोकन गर्यौँ । बन्दीपुरमा प्रसिद्ध खड्गदेवीमाई, भगवती, बिन्दवासिनीलगायत चर्चित धार्मिक स्थल छन् । त्यहाँको टँुडिखेल प्राकृतिक दृश्यहरु हेर्नका लागि कहलिएको छ । बन्दीपुर सुन्तलाका लागि प्रसिद्ध ठाउँ हो । यहाँ सिजनमा प्रशस्त सुन्तला फल्दो रहेछ । बन्दीपुरको अर्को परिचय रहेछ— तामा र गुन्द्रुक । यहाँको तामा र गुन्द्रुक आन्तरिक र बाह्य पर्यटकले मन पराएको स्थानीयले बताए । बन्दीपुर आर्थिक विकासको ठूलो हिस्सा आन्तरिक अर्थात् ग्रामीण पर्यटनले थेगेको रहेछ । घुम्दाघुम्दै समयले नेटो काट्यो । समय बितेको पत्तै भएन । छुट्नुपर्ने भयो । यति रमणीय ठाउँ, त्यहाँका आत्मिय दिदीबहिनी छोडेर बिदा हुनुपर्दा मन खिन्न भयो । छुट्ने बेला त्यहाँका होमस्टे सञ्चालकले आफूहरुको प्रचार गरिदिन हामी नुवाकोटेसँग आग्रह गरे ।

भूकम्पले हाम्रो नुवाकोटतिर उपद्रो मच्याए पनि त्यहाँ खासै क्षति पुर्याएको रहेनछ । हामीले पनि होमस्टे सञ्चालकहरुलाई नुवाकोट भ्रमणमा आउन निम्तो दियौँ । फर्किरहँदा हाम्रो देशमा पनि घुम्ने प्रशस्त ठाउँ रहेछन् भन्ने लाग्यो । नितान्त हेर्ने, घुम्ने र बुझ्ने उद्देश्यले गरिएको भ्रमणले मानिसको सोचाई, विचार र भावनामा समेत प्रभाव पार्ने रहेछ । पर्यटन नेपालको आर्थिक उन्नतिको मेरुदण्ड हो । देश विकासको जग हो । हामीले पर्यटनलाई प्रोत्साहन गर्नैपर्छ । लाग्यो, मेरो देश साँच्चिकै सुन्दर छ । यहाँका प्राकृतिक स्रोत–साधनलाई हामीले भरपूर उपयोग गर्न सकेका छैनौँ । हामी नेपाली साँच्चिकै सहृदयी छौँ, तर केही विकृति, विसंगति, विभेद नभएको होइन । अब योजनाबद्ध विकास भयो भने, हामी धेरै अघि पुग्न सक्छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप