मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पर्यटनलाई गति दिन पाँच ‘चर’ र सात ‘स’ को अवधारणा

आइतबार, ०३ माघ २०७२, १६ : ५४
आइतबार, ०३ माघ २०७२

काठमाडौँ – मुलुकको अर्थतन्त्रको दरिलो आधार मानिने पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि पाँच ‘चर’ र सात ‘स’को नयाँ अवधारणाको आवश्यकता औँल्याइएको छ ।

भूकम्प र नाकाबन्दीबाट थलिएको पर्यटनलाई गति दिन विगतका वर्षमा विभिन्न नाराका साथ अभियानको रुपमा चलाइको मिसन पर्यटनजस्तै अहिलेको सन्दर्भमा नयाँ अवधारणा ल्याइएको हो । पर्यटन प्रवद्र्धनका लागि नीतिगत योजनाका साथ मिसनमा लागेको सरकारले विगतका विभिन्न विपद्को सामना र सङ्क्रमणबाटै सम्भावना खोज्नेगरी प्रवद्र्धन तथा प्रचारात्मक अभियानलाई जोड दिएको छ ।

यसै सन्दर्भमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन प्रवद्र्धनलाई परिणाममुखी बनाई आत्मनिर्भरमुखी अर्थतन्त्रको विकास गर्ने हेतुका साथ रणनीतिक योजनामा जुटेको छ । मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले अहिलेको अवस्थामा मुलुकको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने मात्र नभई भोलिका दिनमा उनीहरुको सङ्ख्या र बसाई समय बढाउनका लागि पाँच ‘चर’ अर्थात ‘नेचर’, ‘कल्चर’, ‘एग्रीकल्चर’, ‘एडभेन्चर’ र ‘इन्फ्रास्ट्रक्चर’ र सात ‘स’ अर्थात् ‘सेवा सुविधा’, ‘सुरक्षा’, ‘सूचना र सञ्चार’, ‘सरसफाइ’, ‘संस्थागत व्यवस्थापन’, ‘समन्वय र सङ्ख्या बढाउने’ को अवधारणालाई रणनीतिक अभियानकैरुपमा लैजान जरुरी भएको उल्लेख गरे ।

नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टाको ५२औँ वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति निर्वाचनको यहाँ उद्घाटन गर्दै उनले पर्यटन क्षेत्रलाई बाह्रै महिना सञ्चालन गरी बढी विदेशी पर्यटक भित्र्याउन विशेष योजना ल्याइने बताए । सचिव थपलियाले भने, “पर्यटन सँगसँगै हैन, अब पर्यटन सँधैसँधै अर्थात पर्यटनलाई बाह्रै महिना सञ्चालन गर्नुपर्छ, स्थानीय केन्द्रीय हुँदै अन्तराष्ट्रियकरण गरी एकीकृत विकास गर्न जरुरी छ ।”

उनका अनुसार प्रभावकारी पर्यटन प्रवद्र्धनका लागि पाँच ‘चर’ र ‘इन्फ्रास्ट्रक्चर’ प्राथमिकिकरण गरी सात ‘स’लाई विशेष अभियानका रुपमा अघि बढाइनेछ । मुलुकको एक मात्र राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको क्षमता अभिवृद्धि गरी विमानको सङ्ख्या बढाउने, दुर्गम जिल्लामा हवाई सेवाको पहुँच विस्तार गर्ने तथा काठमाडौँ उपत्यका नजिकका पर्यटकीय गन्तव्यमा पर्यटकस्थल बनाउने सरकारको योजना रहेको र त्यसलाई चाँडै कार्यान्वयनमा ल्याइने पनि सचिव थपलियाले बताए । पूर्वपर्यटन राज्यमन्त्री याङ्किला शेर्पाले विपद्मा परेको पर्यटनलाई गति दिई बढी पर्यटक भित्र्याउन सरकारले विगतका वर्षमा झै विशेष अभियान चलाउन जरुरी छ भने । पूर्वपर्यटन सचिव दिपेन्द्र पुरुष ढकालले गितमा चलाइएको ‘नेपाल भ्रमण वर्ष’जस्तै राष्ट्रिय अभियान चलाएर छिमेकी देश चीन र भारतका पर्यटकलाई आकर्षण गर्ने विशेष आकर्षक योजना ल्याइनुपर्ने खाँचो औंल्याए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटक बढी भित्र्याउने सम्भावना रहेको देश चीनबाट पर्यटक आकर्षित गर्न प्रभावकारी योजनाका साथै त्यस अनुरुपको प्रचारप्रसार र बजारीकरण गर्न जरुरी भएको बताए । नाट्टाका अध्यक्ष डिबी लिम्बु र पूर्वअध्यक्ष अम्बिका श्रेष्ठले पर्यटन क्षेत्रको जेठो संस्थालाई व्यावसायिक एकता र सुदृढ तुल्याई पर्यटन प्रवद्र्धनमा सक्रिय बनाइनुपर्नेमा जोड दिए ।

निर्वाचनको मत परिणाम साँझसम्म आउने बताइएको छ । नाट्टाको पदाधिकारीसहित १५ सदस्यीय नयाँ कार्यसमितिका लागि ४५४ मतदाता रहेका छन् । निर्वाचनमा मधुसुदन आचार्य, मिहिका धाख्वा र शम्भू पाठकको समूहबीच प्रतिस्पर्धा हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप