बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नारायणगढ–मुग्लिन सडक दैनिक दुई घण्टा बन्द

सोमबार, ०४ माघ २०७२, १२ : १७
सोमबार, ०४ माघ २०७२

चितवन–नारायणगढ–मुग्लिन सडक चौडा पार्ने कार्य जारी रहेकाले ट्राफिक व्यवस्थापनका लागि दिउँसोको समयमा दैनिक दुई घण्टा आवतजावत बन्द गर्न थालिएको छ ।

चितवनका प्रजिअ विनोदप्रकाश सिंहले बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा बढीमा दैनिक दुई घण्टा आवतजावत बन्द गरेर सडक निर्माण गर्न भनिएको बताए । नियमित काम गर्दा ट्राफिक व्यवस्थापन नराम्ररी प्रभावित भएकाले निश्चित समय तोकेर आवतजावत बन्द गर्न भनिएको प्रशासनले जनाएको छ ।

आयोजनाले सार्वजनिक सूचना नै जारी गरेर दिउँसोको समयमा दैनिक दुई घण्टा आवतजावत बन्द गरिने जनाएको छ ।

यसअघि जथाभावी निर्माण कार्य सुरु गर्दा सवारी आवागमन दिनभरजसो नै प्रभावित भएको र एम्बुलेन्ससमेत जान मुस्किल भएको गुनासो आएपछि स्थानीय प्रशासनसँगको छलफलपछि बढीमा दुई घण्टा सडक बन्द गरेर काम गर्न थालिएको हो । उक्त सडकको करिब ३६ किमीको विभिन्न स्थानमा अहिले सडक चौडा बनाउने काम चलिरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजन भेटवालले निर्माणस्थलमा ट्राफिक प्रहरी नै परिचालन गरेर यात्रुको समस्यामा ध्यान दिने गरेको जानकारी दिए ।

नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडक आयोजनाले साँघुरो सडकलाई चौडा गरेर स्तरोन्नति गर्न लागेको हो । सडक चौडा बनाउन सो सडक खण्डलाई तीन भाग लगाएर छुट्टाछुट्टै निर्माण कम्पनीले काम गरिरहेका छन् ।

स्थानीय सञ्चार माध्यम र सार्वजनिक सूचना जारी गरेर दिउँसो दुई घण्टा सडक बन्द गरी काम गर्ने गरेको ठेकेदार प्रतिनिधि धर्मराज दाहालले बताए ।

कुनै अवरोध नभए आगामी २०७४ सालको सुरुवाततिर काम सक्ने योजना रहेको छ । सो सडक नौ देखि ११ मि चौडा पारिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप