मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बन्द खुलेपछि जनकपुर आउने भारतीय पर्यटकहरु बढे

बिहीबार, १४ माघ २०७२, १७ : ००
बिहीबार, १४ माघ २०७२

जनकपुरधाम–विगत ५ महिनाभन्दा बढी समयदेखि बन्द रहेको तराईमा यातायात सेवा सञ्चालनमा आएपछि भारतीय पर्यटकको आगमनमा वृद्धि भएको छ । धार्मिक पर्यटनको एक प्रमुख गन्तव्य स्थलको रुपमा स्थापित हुने प्रशस्त आधार रहेको जनकपुरधामको मठमन्दिर तथा धार्मिक स्थल हेर्न आउने भारतीय पर्यटक अहिले क्रमशः बढ्दै गएको छ । राजर्षि जनकको प्राचीन मिथिला राज्यको राजधानी, भगवान् रामको ससुराली र आदर्श नारी सीताको जन्मथलो जनकपुरको धार्मिक र सांस्कृतिक महत्व छ । जनकपुरको प्राचीन तथा ऐतिहासिक सरोवर गंगासागरमा सुरु भएको गंगा आरती, राम मन्दिर, जानकी मन्दिर लगायतका मठमन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न अहिले दैनिक दुईदेखि चार वटा बसहरु जनकपुर आउने गरेका छन् । अन्य वर्षको तुलनामा यस वर्ष बन्द हडतालका कारण अहिलेसम्म १५ प्रतिशत धार्मिक पर्यटकहरु मात्र आउन सकेको गोपाल धर्मशालाका प्रबन्धक राजकुमार झाले बताए । अहिले छिमेकी मुलुक भारतको महाराष्ट्र, राजस्थान, मध्यप्रदेश, उत्तर प्रदेश लगायतका सहरहरुबाट पर्यटकहरु आउने क्रम बढ्दै गएको छ । काठमाडौँबाट पर्यटक बस लिएर जनकपुरसम्म आइपुगेका महाराष्ट्रका नानाभाईले बाटोमा कुनै अवरोध नभएको बताए । बाहिरबाट आउने पर्यटकहरु गोपाल धर्मशाला, पगलाबाबा धर्मशाला, यात्री निवास, साह गेस्ट हाउस, रौनियार सेवा समिति, धर्म संस्थानका धर्मशालाहरुमा बस्दै आइरहेका छन् । भारतको हरिद्वारा, बनारसको गंगा आरतीको जस्तै ख्याति प्राप्त गरिसकेको गंगा आरतीमा देश विदेशका गरी लाखौँ धर्मावलम्बीहरुले सहभागिता जनाइसकेका छन् । धार्मिक महत्व बोकेको यो गंगासागरमा गंगा आरती सुरु भएपछि यसले पर्यटक भित्र्याउनमा अहं भूमिका खेलेको सेभ हिस्टोरिकल जनकपुरका संयोजक रामअशिष यादवले बताए । विवाहपञ्चमी, राम नवमी, जानकी नवमी, छठ, डोला, परिक्रमा जस्ता धार्मिक गतिविधिमा गंगा आरतीले सुनमा सुगन्ध थपेको छ । मिथिला महात्म्यका अनुसार पवित्र सरोवर गंगासागरको पूजाले धन, सुख, समृद्धि, सन्तान सुख प्राप्त हुने र यसमा स्नान गर्नाले महाकुम्भमा स्नान गरेको जत्तिकै फल प्राप्त हुने जनविश्वास छ । बृहद, विष्णु पुराण, वायु पुराण, शतपथ, भागवत, वाल्मिकी रामायण, बृहदारण्यकोषनिस जस्ता धार्मिक ग्रन्थहरुमा पुण्य भूमि, तपो भूमि र सर्वश्रेष्ठ तीर्थका रुपमा उल्लेख गरिएकाले पनि गंगा आरतीको धार्मिक महत्व बढ्न गएको छ । भनिन्छ, विश्वमा जनकपुरधाम नै एउटा यस्तो धार्मिक स्थल हो जहाँ जगत जननी सीता र गंगाको पूजा एकै साथ हुन्छ । यज्ञवल्क्य, अष्टावक्र, गार्गी, मैत्रयीको तपोभूमिको रुपमा प्रख्यात रहेको जनकपुरमा सम्पन्न भएको गंगा आरतीको पहिलो वार्षिकोत्सवको उपलक्ष्यमा सामूहिक स्नान, गंगा सागर र धनुष सागरको सफाइ तथा गंगा आरतीको कार्यक्रम गरियो । सो आरतीमा भारत विहार राज्यका पूर्व उपमुख्यमन्त्री सुशील कुमार मोदीको सहभागिता पनि रहेको थियो । सन् १९८४ मा गंगा नदीको सफाइ राज्यको सम्पूर्ण साधन स्रोतबाट भएको र बागमतीको सफाइ नेपाल सरकारको साधन स्रोतबाट भएपनि धार्मिक महत्वका गंगा सागरको सफाइमा राज्यको कुनै आर्थिक सहयोग नभएको सेभ हिस्टोरिकल जनकपुरका वरिष्ठ सदस्य अशोक कुमार जालानले बताए । यहाँ विगत एक वर्षदेखि ५ जना पुजारीहरु नियमित रुपमा गंगाआरती गर्दै आइरहेका छन् । यति मात्र नभएर जैनहरुको २४औँ तीर्थंकरको जन्म यही भएको थियो । अन्तिम तिर्थंकर महावीरका एउटा गणधर यहीका थिए । अहिले जनकपुरको वातावरण विगत भन्दा केही खुकुलो र सहज भएपछि देशभित्र र बाहिरबाट आउने पर्यटकहरु क्रमिक रुपले बढ्दै गएको छ । धर्मशाला र होटेलहरु पनि भर्न थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप