मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कास्कीका ९ ताल रामसार सूचीमा

मङ्गलबार, १९ माघ २०७२, १७ : ३३
मङ्गलबार, १९ माघ २०७२

पोखरा – पोखराको फेवासहित कास्कीका ९ वटा ताल अन्तराष्ट्रिय महत्वको रामसार सूचीमा सूचिकृत भएका छन् । साइटिस महासन्धि सचिवालयबाट आएको विज्ञहरूको टोलीले विश्व सिमसार दिवसका दिन आज ९ ताललाई रामसारमा समेटिएको औपचारिक प्रमाणपत्र प्रदान गरे । एसियाका लागि रामसारका सल्लाहकार डा.लिउ योङले बन तथा भूसंरक्षण मन्त्री अग्नी प्रसाद सापकोटालाई पोखराको फेवा सहित बेगनास, रूपा, खास्टे, गुँदे , नेउरेनी, दिपाङ , मैदी र कमलपोखरीलाई रामसार सूचीमा समेटेको आधिकारिक प्रमाणपत्र प्रदान गरेका हुन् । मन्त्री सापकोटाले स्थानिय विकास अधिकारी रामचन्द्र तिवारीलाई सो प्रमाणपत्र हस्तान्तरण गरे । कास्कीका नौ ताल रामसारमा सूचीकृत भएपछि नेपालबाट रामसार सूचिमा समेटिनेको संख्या १० पुगेको छ । कास्कीका ९ वटै ताललाई एउटै समूहमा राखिएको छ । यसअघि चितवनको बीसहजारी, सुनसरीको कोसीटप्पु, कैलालीको घोडाघोडी, कपिलवस्तुको जगदीशपुर, सोलुखुम्बुको गोक्यो, रसुवाको गोसाईँकुण्ड, मुगुको रारा, डोल्पाको शे–फोक्सुन्डो र इलामको माइपोखरी गरी नौवटा ताल रामसारमा समेटिएका थिए । बन मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरका अनुसार अहिलेसम्म विश्वका १ सय ६९ देशबाट रामसार सूचीको संख्या २ हजार २ सय २२ पुगेको छ । पोखरा उपत्यकाका ९ ताल रामसारमा समेट्न पर्यटन मन्त्रालय मातहतको राष्ट्रिय ताल विकास समितिले गत वर्ष सम्भाव्यता अध्ययन गरेको थियो । नेपालबाट यसअघि सूचिकृत तालहरु राष्ट्रिय निकुञ्ज वा आरक्ष क्षेत्र भित्रका भएपनि कास्कीका ९ ताल पहिलोपटक स्थानिय निकायले ब्यबस्थापन गर्ने गरी रामसारमा समावेश भएका हुन् । कार्यक्रममा बन तथा भूसंरक्षण मन्त्री अग्नी सापकोटाले प्रकृतिको विनास र दोहन गर्नेलाई निरुत्साहित गर्नुपर्ने बताए । उनले प्राकृतिक महत्वका तालहरुको संरक्षणमा ध्यान दिन सबैसँग आग्रह गरे । रामसारमा समेटिएपछि तालको अन्तराष्ट्रिय महत्व एवं ख्याति बढ्ने अपेक्षा गरिएको छ । पछिल्लो अध्ययनअनुसार विश्वका ६१.८५ प्रतिशत बासिन्दाले जीविकोपार्जनको प्रमुख आधारका रूपमा सिमसार क्षेत्रलाई उपयोग गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप