बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चितवनमा भेटियो नयाँ चरा

शनिबार, २३ माघ २०७२, १२ : १८
शनिबार, २३ माघ २०७२
चितवन– चितवनमा फेरि एउटा नयाँ चरा फेला परेको छ । वर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष तथा चरा विज्ञ वासु बिडारीले जिल्लामा फेला परेको चरा नयाँ भएको पुष्टि भएको जानकारी दिए । चितवनको मुख्य कार्यालय कसराबाट एक किलोमिटर पश्चिम पर्ने राप्ती नदीको दोभानमा उक्त चरा भेटिएको हो । ग्रेट ह्वाइट फ्रन्टेड नामको पानीमा बस्ने चरा फेला परेको हो । पाँच दिनअघि घुम्ने क्रममा नेचर गाईड हेमन्त दराई र उस्तव जङ्ग थापाले देखेर चराको तस्बिर लिएका थिए । प्रमाणित गर्न फेरि चितवनका चराविज्ञ बिडारीसहितको टोली माघ २१ गते सो क्षेत्रमा गएर हेरेको थियो । त्यसपछि पानी हाँस प्रजातिको नयाँ चरा भएको पुष्टि भएको हो । सो क्रममा अर्काे विन गोस नामको चरासमेत फेला पारिएको बिडारीले शुक्रबार जानकारी दिए । ग्रेट ह्वाइट फ्रन्टेड नेपालमा एकपटक १२ वर्ष पहिले पूर्व कोसी टप्पुमा देखिएको थियो । तर त्यसपछि नदेखिएको चरा चितवनमा पहिलो पटक अभिलेख गरिएको हो । चितवनमा पहिलो पटक देखा परेको र विन गोस चरा भने चितवनमा विगतमा देखिए पनि थोरै सङ्ख्यामा छ । चितवनमा यो नयाँ चरा भेटिएसँगै चराका प्रजातिको सङ्ख्या ६३१ पुगेको छ । नेपालमा ८७५ प्रजातिका चरा रहेका छन् । चितवनमा हालै सम्पन्न चरा गणनामा चराको बासस्थान राम्रो पाइएको थियो । सार्वजनिक गरिएको तथ्याङ्कअनुसार जिल्लाको निकुञ्ज आसपास सिमसार क्षेत्रमा मात्रै यसपालि ५० प्रजातिका ११ हजार २६० वटा चरा फेला परेका छन् । यो अघिल्लो वर्षभन्दा तीन प्रजाति र करिब दुई हजारले बढी रहेको चरा विज्ञ बिडारीले बताए । पानीमा मात्रै आश्रित चरा पाँच हजार ७०० फेला परेका छन् । अघिल्लो वर्ष सो क्षेत्रमा गरिएको गणनामा ४७ प्रजातिका नौ हजार चरा फेला परेको थियो । “अहिले बासस्थान र चराको उपस्थिति राम्रो पाइयो” अध्ययनबारे जानकारी दिँदै बिडारीले भने, “सबैभन्दा बढी चखेवा पाइए ।” यो पटकको गणनामा चखेवा मात्रै दुई हजार ४६८ वटा फेला पारिएको छ । यस्तै कर्माेरेन्ट (जलेवा) एक हजार २४ वटा भेटिएको छ । अघिल्लो वर्ष नदेखिएका तीन प्रजाति सुनजुरे हाँस, कैले टाउके हाँस र विजुलीगैरे हाँस पनि यो वर्ष फेला परेको बिडारीले जानकारी दिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप