बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस क्षेत्रीय अधिवेशनः कहाँबाट को निर्वाचित ?

शनिबार, २३ माघ २०७२, १३ : २३
शनिबार, २३ माघ २०७२

काठमाडौँ - कांग्रेसको शुक्रबार सम्पन्न क्षेत्रीय अभिवेशनको परिणाम आउने क्रम जारी छ ।उदयपुर जिल्लामा क्षेत्रीय अध्यक्षहरूमा वसन्त बस्नेत, भोजराज खतिवडा र रामकुमार खत्री विजयी भएका छन् ।

मत गणनाको परिणामअनुसार जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय अध्यक्षमा खतिवडा विजयी भएको नेपाली काँग्रेस उदयपुरले बताएको छ । खतिवडाले आफ्ना प्रतिद्वन्द्वी काजी राईलाई ९३ मतको विरुद्ध ९९ मत प्राप्त गरी विजयी भएका छन् ।

यस्तै क्षेत्र नम्बर २ मा बस्नेतले भूपेन्द्र थापालाई ९५ मतको विरुद्ध ९६ मत प्राप्त गरेर क्षेत्रीय अध्यक्षमा विजयी भएका छन् ।

यता क्षेत्र नम्बर ३ को क्षेत्रीय अध्यक्षमा खत्रीले राजेश श्रेष्ठलाई १२० मतको विरुद्ध १३६ मत प्राप्त गरी विजयी भएको नेपाली काँग्रेस उदयपुरका सचिव मदनराज बताए ।

काँग्रेस चितवनको पाँचवटै क्षेत्रमा क्षेत्रीय समिति चयन भएको छ ।

शुक्रबार भएको निर्वाचनबाट सबै क्षेत्रको समिति चयन भएको काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङले जानकारी दिए ।

सार्वजनिक नतिजाअनुसार काँग्रेसको चितवन क्षेत्र नम्बर १ बाट ८७ मत ल्याई राजु सिलवाल निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी किरण ओलीले ८१ मत ल्याएका थिए । सचिवमा गणेश मल्ल र कोषाध्यक्षमा रुपा अधिकारी निर्वाचित भएका छन् ।

यस्तै क्षेत्र नम्बर २ मा १५३ मत ल्याई कुमार कार्की विजयी भएका छन् । सचिवमा दण्डपाणि लामिछाने र कोषाध्यक्षमा जनार्दन दाहाल निर्वाचित भए ।

क्षेत्र नम्बर ३ मा रमेश अधिकारी निर्वाचित भएको काँग्रेस सभापति टेकप्रसाद गुरुङले जानकारी दिए ।

क्षेत्र नम्बर ४ मा सरिता केसी ९७ मतका साथ निर्वाचित भइन् ।

क्षेत्र नम्बर ५ बाट अध्यक्षमा ५७ मतका साथ लालबहादुर दुवाडी निर्वाचित भए । सिन्धुपाल्चोक अधिवेशनबाट क्षेत्रीय सभापतिमा १२८ मत प्राप्त गरी आइतमान तामाङ विजय भएका छन् ।

उनका प्रतिद्वन्द्वी पासाङ दोङले ६७ मत प्राप्त गरे । त्यसैगरी कोषाध्यक्षमा वीरबहादुर खड्काले १२४ मत प्राप्त गरी विजय भएका छन् भने प्रतिद्वन्द्वी कामी तामाङले ८९ मत प्राप्त गरे । त्यसैगरी क्षेत्रीय सचिवमा रमेश भण्डारीले ९० मत प्राप्त गरी विजय भए ।

त्यसैगरी महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ तारानाथ दाहाल, प्रदीप चौलागाईं, जिमी लामा, छिरिङ लामा, सागर श्रेष्ठ र विकास तामाङ छानिए । यता

यता नेपाली काँग्रेसको आसन्न १३ औ महाधिवेशनको कार्यतालिका अनुसार कास्की जिल्लामा सम्पन्न क्षेत्रीय अधिवेशनले क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।

जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा सम्पन्न अधिवेशनले क्षेत्र नं १, २ र ३ मा क्रमशः बृजमान गुरुङ, मधु बास्तोला र विजयराज आचार्यलाई सभापतिमा निर्वाचित गरेको छ भने कास्की क्षेत्र नं ४ मा क्षेत्रीय कार्यसमितिको निर्वाचन स्थगित भएको छ ।

क्षेत्रीय कार्यसमितिका लागि क्षेत्र नं ४ मा विवाद भएका कारण निर्वाचन स्थगित भएको जानकारी दिँदै पार्टीका जिल्ला निर्वाचन अधिकृत खिमराज पौडेलले स्थगित निर्वाचन गर्ने सम्बन्धमा छलफल भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप