बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

तातोपानीको नयाँ मुहान भेटियो

शनिबार, २३ माघ २०७२, १३ : ३५
शनिबार, २३ माघ २०७२
म्याग्दी– बेनी नगरपालिका–१३ मा थप दुई वटा प्राकृतिक तातोपानीको मुहान भेटिएको छ । तल्लो र उपल्लो तातोपानी बजारको बीच भाग र उपल्लो तातोपानी बजार क्षेत्रभन्दा तल म्याग्दी नदीको किनारमा नयाँ तातोपानीका मुहान फेला परेको हो । म्याग्दी नदीको कटान, धार परिवर्तन र गहिराईसँगै फरक–फरक विशेषता र तापक्रम भएका पानीका मुहान भेटिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए । “प्राकृतिक उपचारस्थलका रुपमा परिचित तातोपानी कुण्ड र त्यसको नजिकै अर्को नुनिलो तातोपानीको मुहान थियो”–अध्यक्ष शाक्यले भने, “भूकम्प, नदी गहिरिनु र धार परिवर्तन भएपछि त्यहाँ माथि यसपाली थप दुई वटा मुहान भेटिएको छ ।” विसं २०५६ देखि प्राकृतिक तातोपानी कुण्डको संरक्षण र व्यवस्थापन गर्दै आएको समितिले नयाँ मुहानको पनि संरक्षण गरी वैकल्पिक कुण्ड तथा स्नानगृह स्थापना गर्ने तयारी गरेको छ । हाल रहेको तातोपानी कुण्डमा बिरामीको चाप हुँदा नयाँ तलाउमा स्नान गर्ने व्यवस्था मिलाउने समितिको योजना छ । व्यवस्थित र संरक्षण गर्न सकेमा सो स्थान जाडोयाममा तातोपानीमा स्नान गर्नेका लागि आकर्षक गन्तव्यस्थल बन्न सक्ने सम्भावना छ । पूरानो मुहानभन्दा केही चिसो पानी निस्कने नयाँ मुलको पानीलाई स्नानस्थलको रुपमा प्रयोग गर्ने योजना बनाएको अध्यक्ष शाक्यले बताए । उनका अनुसार नयाँ भेटिएका तातोपानीका मुहानलाई व्यवस्थित गर्न लागिएको छ । जमिनभित्रबाट बिरे नुनको गन्धसहित ५० डिग्री तापक्रमको पानी सङ्कलन गरिएको उहाँको तलाउमा स्नान गरेर बाथ, चोटपटक लागेको, ग्यास्ट्रिक, गानोगोलालगायत विभिन्न रोगका वार्षिक २० हजार बिरामी आउने गरेका छन् । बेनी नगरपालिका–१३ को साथै म्याग्दीको मुदी ९ बगर, दग्नाम दर्मीजा, भुरुङतातोपानी र शिख–९ मा प्राकृतिक तातोपानीका मुहान रहेका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप