बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अपडेट : नुवाकोट दुर्घटनामा मृतकको संख्या ११ पुग्यो (दुर्घटनास्थलको तस्बीरसहित)

आइतबार, २४ माघ २०७२, ०१ : ००
आइतबार, २४ माघ २०७२

नुवाकोट/काठमाडौँ –काठमाडौबाट नुवाकोटको त्रिशुलीको लागि छुटेको  माईक्रोबस  शनिबार दिउँसो दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । बा १ ज ७५८३ नम्बरको माईक्रोबस मदानपुर गाविसको वडा नं. ८ केउरेनी भिरबाट पाँचसय फिट तल खसेर दुर्घटना भएको थियो ।

माइक्रोबस क्षतविक्षत हुनेगरी भएको उक्त दुर्घटनामा सैन्य तालिम केन्द्र त्रिशुलीमा आधारभूत तालिमरत ६ जना सैन्यहरुसहित ११ जना यात्रुको मृग्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

नुवाकोट प्रहरी प्रमुख सिद्धिबिक्रम शाहका अनुसार ८ जनाको घटनास्थलमै र ३ जनाको राजधानी काठमाण्डौंमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेहरुमा नुवाकोट बेल्कोटका गाडीचालक दामोदर कँडेलसहित सैन्य तालिम केन्द्र मैथली ब्यारेकमा आधारभूत सैन्य तालिम लिईरहेका सि.सं. ६४ र ६५ ब्याचका सैन्यहरु यसोदा कार्की, ईश्वर कार्की, ओखलढुंगाका सन्तोषी बोगटी, रामेछापका लक्ष्मी श्रेष्ठको सनाखत भएको छ भने अन्य ६ जनाको भने सनाखत हुनसकेको छैन ।

घटनामा घाइते भएका १२ जनाको एम्बुलेन्स र हेलिकोप्टरमार्फत् उद्धार गरी काठमाण्डौंस्थित बिर अस्पतालको ट्रमा सेन्टर र छाउनीस्थित बिरेन्द्र सैनिक अस्पतालमा उपचार भईरहेको छ । उनीहरुमध्ये केहीको  अवस्था गम्भीर रहेको बताइएको छ ।

दुर्घटनालगत्तै घटनास्थलमा  प्रहरी, सेना तथा स्थानीय बासिन्दा उद्दारमा खटिएका थिए । यस्तै दुर्घटनालगत्तै घटनास्थलमा प्रमुखजिल्ला अधिकारी उमेश ढकालसहितको  टोली समेत पुगेको थियो ।  मृत्यु भएका सैन्य तालिमेहरु घरबिदा लिएर छुट्टिगएका र आफ्नो घरबिदा सकाएर फर्कनेक्रममा दुर्घटनामा मृत्यु भएको उद्धार कार्यमा खटिएका नुवाकोटका प्रहरी निरिक्षक जयराम वन्तले जानकारी दिए । माइक्रोमा १८ सैन्यसहित २३ यात्रु सवार थिए ।

घटनास्थल नजिकै पर्ने रानीपौवाका स्थानीय तथा शिक्षक भुवन खत्रीले तीब्र गतिमा रहेको माइक्रो एकाएक भीरबाट तल खसेको जानकारी दिए ।

साँघुरो र ठाउँठाउँमा भत्किएको सडक भएका  कारण माइृक्रोवस दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप