बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बाबुरामको नयाँ शक्तिमा लाग्नेलाई तीस बुँदे लगाम, बैठकमा रामेश्वर खनाल अनुपस्थित

शनिबार, २३ माघ २०७२, १८ : ४०
शनिबार, २३ माघ २०७२

काठमाडौं– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल जम्बो बनेको छ । दुई पटक गरि ५७ सदस्यीय केन्द्रिय परिषद सदस्य घोषणा गरेका भट्टराईले शनिबार त्यसलाई विस्तार गरेर २४० सदस्यीय बनाएका छन् । शनिबार राजधानीको घोबिघाटस्थित सिद्धार्थ कटेजमा बसेको बैठकबाट भट्टराईले २४० जनै केन्द्रिय परिषद् सदस्यलाई सपथ समेत गराएका छन् । लामो समय कम्युनिष्ट राजनीतिमा होमिएपनि माक्सवादबिनैको नयाँ शक्ति गठन गरेका भट्टराईले नवनियुक्त परिषद् सदस्यहरुलाई पृथक शैलीमा सपथ गराएका थिए । बैठकको सुरुवात नै सपथ ग्रहणबाट हुँदा भट्टराईले परिषद् सदस्यको एकएक गरि नाम पढ्दै ३० बुँदे आचारसंहितामा हस्ताक्षर गर्न लगाएर सपथ खुवाएका थिए । ‘म नयाँ शक्ति नेपालको अभियन्ता हुँ । म नेपाली राजनीतिमा परिवर्तन चाहन्छु । यसका लागि म आफैंबाट परिवर्तनको सुरुवात गर्दछु त्यसैले म निम्न आचारसंहिता पालना गर्न प्रतिबद्ध छुु’ भन्ने उल्लेख सँगै ३० बुँदे आचारसंहिता क्रमबद्व राखिएको थियो । उक्त आचारसंहितामा प्रतिबद्धता जनाउन लगाउँदै अन्तिममा सदस्यहरुलाई हस्ताक्षर गर्न लगाइएको थियो । उक्त आचारसंहितामा एतिहासिक राजनीतिक उपलब्धीको सम्मान गरिनुपर्ने, विश्वप्यापी मान्यताबाट निर्देशित भई नयाँ शक्ति अभियानमा लाग्नुपर्ने, राजनीतिक आचारण निष्ठाबाट परिलक्षित हुनुपर्ने, शान्त्पिूर्ण, सुशासन, पारदर्शिता र विधिको शासनप्रति प्रतिबद्व हुनुपर्ने, धर्म सम्प्रदाय र संस्कृपतको सम्मान गर्नुपर्ने, परिवर्तनको सुरुवात आफैंबाट गरिनुपर्ने, श्रमको सम्मान गरिनुपर्ने, राजनीति पेशा नभई सेवा हुनुपर्ने, फरक विचार सुन्न तयार हुनुपर्ने, बदलिन सिक्न र अगाडि बढ्न तयार हुनुपर्ने लगायत बुँदा छन् । रोचक त के थियो भने बहुसंख्यक कम्युनिष्ट स्कुलिङमा हुर्किएका सदस्यहरुलाई सपथ ग्रहण गराउँदा ‘नमस्ते’को प्रयोग गरिएको थियो ।

बैठकमा रामेश्वर खनाल अनुपस्थित आजको बैठक पूर्व अर्थसचिव रामेश्वर खनालको उपस्थिति रहेनन् । उनी कामको सिलसिलामा विदेशमा रहेकाले आजको बैठकमा सहभागि नभएको बताइएको छ । यद्यपी भोलिका लागि पनि बैठक बोलाइएको र त्यसमा भने उनको सहभागिता रहने केन्द्रिय परिषद सदस्य रुद्र भट्टले जानकारी दिए । आजको बैठकमा सपथ ग्रहण सकिएसँगै नयाँ शक्ति अभियानका संयोजक भट्टराईले संक्षिप्त मन्तब्य समेत राखेका थिए । नयाँ शक्तिका लागि चारैतर्फबाट प्रहार भएको भन्दै त्यसलाई सामना गरेर सबै नयाँ शक्तिका अभियन्ताहरु अघि बढ्नुपर्नेमा जोड दिए । उनले आर्थिक समृद्धिका लागि नयाँ शक्तिका अभियान्ताहरु इमान्दार भएर अघि बढ्नु पर्नेमा समेत सो अवसरमा जोड दिएका थिए । विगतमा जेजस्तो भएपनि अब आर्थिक समृद्धिका लागि अघि बढ्ने बेला आएको र नयाँ शक्तिले आफ्नो लक्ष्य पुरा गरेरै छाड्ने उद्घोष गरेका थिए । यस्तै आजको बैठकमा अरु २४ जना परिषद् सदस्यले धारणा राखेको र सो क्रम भोलि पनि चल्ने भट्टले जानकारी दिए । बैठकमा परिषद्का हाई प्राफाइल भनिएका सरोज बस्नेत, करिस्मा मानन्धर, केशवमान शाक्य, देबेन्द्र पौडेललगायतले धारणा राखेका थिए । उनीहरु सबैले देशमा आर्थिक समृद्धिको आवश्यकता रहेको औंल्याउँदै नयाँ शक्तिलाई सोहि अनुसार ढाल्नुपर्नेमा जोड दिएका थिए । नयाँ शक्तिको दुई महिने सांगठनिक कार्ययोजना सार्वजनिक आजकै केन्द्रिय परिषदको पहिलो बैठकबाट नयाँ शक्तिको दुई महिने सांगठनिक कार्ययोजना समेत सार्वजनिक गरिएको छ । जसअनुसार फागुन १ गतेदेखि चैत मसान्तसम्म दुई महिने दोस्रो चरणको अभियान सञ्चालन गर्ने, सबै प्रदेशको प्रादेशिक संरचना तयार गर्ने र सोको योजना जिल्लादेखि टोलसम्म वितरण गर्ने, केन्द्रिय कार्यालय, प्रदेश र जिल्ला कार्यालय व्यवस्थित गर्ने, प्रचारप्रसार तिब्र पार्ने कार्ययोजना रहेका छन् । यसैगरि संगठन व्यवस्थित बनाउन बाँकी जिल्लाहरुमा संगठन बनाउने, सबै जिल्लाहरुमा वैकल्पिक राजनीतिका बारेमा खुल्ला अन्तरक्रियाहरु आयोजना गर्ने, मधेस आन्दोलनको समाधानका लागि पहल गर्ने, विभागका कार्ययोजनाहरु १५ दिनभित्र तयार पारि कार्यान्वयन गर्नेलगायतका दुई महिने कार्ययोजना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप