सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

निशा–शरदको प्रेमकहानी : यसरी परिणत भयो विवाहमा

शुक्रबार, १६ असार २०७४, १३ : २७
शुक्रबार, १६ असार २०७४

काठमाडौँ– नेपाली चलचित्र अभिनयमा अलग्गै उचाइ बनाएकी अभिनेत्री निशा अधिकारी आज विवाह बन्धनमा बाँधिदै छिन् । क्रिकेटर शरद भेष्वाकरसँग उनले दरबार मार्गस्थित होटल अन्नपूर्णमा लगनगाँठो कस्दैछिन् । 


निशा र शरदले दुवै परिवारको सहमतीमा परम्परागत शैलीमै विवाह गर्न लागेका हुन् । विवाह समारोहमा दुवै परिवारका सदस्य, नजिकका आफन्त तथा सीमित कलाकर्मीलाई मात्र निम्त्याइएको छ ।


दुलही बनेर सजिएकी निशालनाई लिन ढाकाको दौरासुरुवा र टोपीमा सजिएर जन्तिको लस्करसहित केही समयअगाडि शरद होटल अन्नपूर्ण प्रवेश गरिसकेका छन् । विवाह समारोहमा अहिले स्वयंवर चलिहेको छ ।


आज लगनगाँठो कस्दै गरेकी निशालाई विवाहको रौनकले भने बुधबारदेखि नै छाएको थियो । बुधबार उनले नेपाली चलचित्रका नायिकाहरुको उपस्थितिमा मेहेन्दीको कार्यक्रम राखेकी थिइन् । 


मेहेन्दीको कार्यक्रम अभिनेत्री वेनिशा हमाल, मोडल रीमा विश्वकर्मा, पूर्व मिस नेपाल माल्भिका सुब्बालगायत दर्जन अभिनेत्रीको उपस्थिति रहेको थियो । 


विवाह भोज भने उनले आइतबार दिँदैछिन् । विवाह भोजमा भने सरकारका विशिष्ट कर्मचारी, बरिष्ठ कलाकार, सहकर्मी र नजिकका पत्रकारलाई निम्त्याइएको छ । विवाह भएकै होटलमा भोजको कार्यक्रम तय भएको उनका एक आफन्तले बताए ।


दर्जनभन्दा बढी चलचित्र अभिनय गरेकी निशा चलचित्र क्षेत्रकी स्थापित अभिनेत्री हुन् । उनको अभिनय रहेको पछिल्लो चलचित्र ‘परशुराम’ गत वर्ष प्रदर्शनमा आएको थियो । चलचित्रमा अभिनेता निखिलकी जोडी बनेकी उनले यो यस अभिनयबाट सफलता पाउन सकिनन् ।


सगरमाथ आरोहण गरेरसमेत चर्चामा रहेकी निशा आफैले अहिले ‘झ्यानाकुटी’ नाम चलचित्र निर्माण गरिरहेकी छन् । ‘झ्यानाकुटी’मा सौगात मल्ल, वेनिशा हमालका साथमा उनको अभिनय रहनेछ । 


शरद भने क्रिकेट खेलाडी हुन् । यो खेलमा उनको राम्रो पहिचान छ । निशा र शरदको विवाहलाई क्रिकेट र चलचित्रको मेल भनेर अहिले चर्चा गरिएको छ । 
विवाहको निम्तो कार्डमा चलचित्र भन्दा पनि क्रिकेट नै हाबी भएको थियो । कार्डको कभरमै क्रिकेट बल, ब्याट र स्टम्ब्स राखेर विवाह कार्ड डिजाइन गरिएको थियो । 

यस्तो छ निशा र शरदको प्रेम किस्सा 
 

निशा र शरद पहिलो पटक एकसाथ कमलपोखरीस्थित बिग मुभिजमा चलचित्र फिट्किरी’ हेर्ने क्रममा भिडियाको नजरमा परेका थिए । यो समय प्रेमको चर्चा चले पनि दुवैले अस्वीकार गरेका थिए ।


त्यसपछि चलचित्र चपली हाइटका निर्माता अर्जुन कुमारले आयोजना गरेको ‘क्रिकेटर सम्मान’ कार्यक्रममा निशा र शरद पुगेका थिए । मिडियाको डरले  दुवै एकअर्काे बोलचालसमेत गरेनन् । 


त्यसपछि क्रिकेटर शक्ति गौचनका पिताको निधनमा अन्तिम श्रद्धाञ्जलि दिन आर्यघाट पुगेका निशा र शरदले घाटमै डेट गरेका थिए । यो डेटको तस्बिर सार्वजनिक भएपछि दुवैको प्रेम बाहिर छताछुल्ल भएको थियो । तर दुवैले मिडियालाई गाली गर्दै प्रेम अस्वीकार गरे ।


खुलेआम रुपमा कीर्तिपुर खेल मैदानमा आयोजना हुने क्रिकेट खेलमा शरदलाई हौसला दिन पुगेकी निशाले यो समय पनि प्रेम खुलाइनन् । 


केही पहिले चलचित्र ‘कुम्भकर्ण’को छायाङ्कनका सेटमै भेट्न शरद पुगेपछि दुवैको प्रेमको चर्चाले सीमा नाध्यो । तर दुवैले मिडियामा प्रेम स्वीकारे पनि विवाह अस्वीकार गर्दै आए । 


‘पोखराकी काली’को छायाङ्कन चितवनमा भइरहदा निशालाई भेट्न शरद पुगेपछि दुवैको विवाहको विषयले उचाइ लियो ।


दुवैको विवाहको औपचारिक खबर भने केही दिन अगाडि ओसो वनमा ध्यान गर्दै बाहिरियो । अन्ततः आज दुवै विवाह बन्धनमा बादिँदै छन् । चलचित्र भवनबाट सुरु भएको निशा र शरदको प्रेम आज पाँच तारे होटल अन्नपूर्णबाट लगनगाँठोमा बदलिँदैछ । आजैबाट यी दुवै पतिपत्नीका रुपमा अगाडि आउनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप