मुख्यमन्त्रीका दाबेदार महेन्द्रबहादुर शाहीको जीवन : ५५ वर्ष पुगेपछि सक्रिय राजनीतिबाट बिदा लिन्छु
‘४० वर्षको भएँ,’ मन्त्री क्वार्टरमा पुल्चोकमा पूर्वऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले भने, ‘५५ वर्ष पुगेपछि सक्रिय राजनीतिबाट बिदा लिन्छु ।’ पूर्वऊर्जामन्त्री शाहीका अनुसार ६० नाघेपछि ‘ब्रेन डेथ’ हुन थाल्छ । ‘७५ प्रतिशत ब्रेन डेथ हुँदा पनि सम्बन्धित राजनीतिक दलसम्बद्ध नेताले नेतृत्व लोभ गरिरहेका हुन्छन्,’ उनले सुझाए, ‘त्यस्ताले सल्लाहकारको भूमिकामा रहँदा भइहाल्छ नि ।’
६० वर्षमाथिका राजनीतिक नेता सम्बन्धित दलको नेतृत्व गर्नै सक्दैनन् भन्ने ६ नम्बर प्रदेश मुख्यमन्त्रीका दाबेदार महेन्द्रबहादुर शाही सँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :
मेरो खाना
सबै खानेकुरा उत्तिकै मन पर्छ । त्यसमा पनि खीर र सेलरोटी असाध्यै मन पर्छ । बिहान बेलुका दालभात खान्छु । विकल्प भएन भनेमात्रै रेष्टुरेन्टको खाना खान्छु, नत्र घरमै पकाइएको खाना खान मन पराउँछु । कोही नभए आफैंले पकाएर खान्छु । रेष्टुरेन्ट पुगिहाल्दा सलाद मगाउन बिर्सन्न । मासु सकेसम्म कम खान परे हुन्थ्यो भन्ने लाग्छ । आवश्यकता पर्दा खान पकाउन अल्छी लाग्दैन ।
मेरो पोसाक
बाल्यकालमा दौरासुरुवाल, स्टकोट र टोपी लगाएँ । भूमिगत भएपछि अहिलेसम्म दौरासुरुवाल लगाएको छैन । कोट पनि सांसद भएपछि मात्रै लगाएको हुँ । धेरैजसो सर्ट, पाइन्ट, टी–सर्ट, ट्र्याकसुट लगाउँछु । ‘क्रिम कलर’ का कपडा रोजाइमा पर्छन् । रेडिमेड कपडा बढी प्रयोग गर्छु । काठमाडौंको बागबजारमा रहेको श्रेष्ठ टेलरिङमा दुई सुट र एउटा ललितपुरको लगनखेलमा सिलाएको थिएँ । कपडाको ब्रान्डबारे त्यति जान्दिनँ । ढाकाटोपी पनि आजै (२०७४ पुस २७) मात्र लगाएको हुँ । एक कार्यक्रममा गएको थिएँ । यो टोपी त्यहीं लगाइदिएका हुन् ।
मेरो फिटनेस
सशस्त्र युद्ध र शिविरमा रहँदा कडा शारीरिक अभ्यास गर्नुपथ्र्यो । सांसद भइसकेपछि बाहिर निस्कन नपाउँदा कोठमामै शिरदेखि खुट्टासम्मको शारीरिक अभ्यास गरेर पसिना निकाल्थें । निकाल्छु ।
डाइटिङ गर्दिनँ । पाउँदा खाइहाल्छु । दसवर्षे सशस्त्र युद्धमा पाँच वर्ष भोकै बिताएँ । त्यतिबेला अघिअघिका टोली पसलमा चाउचाउसम्म खान पाउँथे । पछि रहेकाले केही पाउँदैनथे ।
मेरो अध्ययन
जीवनीसँग सम्बन्धित किताब पढ्न जाँगर चल्छ । सबै लेखकप्रति उत्तिकै सम्मान छ । मेरो निजी पुस्तकालयमा हजार बढी किताब छन् । सालिन्दा पाँच–सात हजार रुपैयाँ किताबमा खर्चन्छु ।
मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । गोरखा पश्चिमका सबै जिल्ला टेकेको छु । शान्तिप्रक्रियापछि पूर्वका केही जिल्ला पुगेको हुँ । उत्तर–पूर्वी जिल्लामा दोलखा, रामेछाप र सिन्धुपाल्चोकसम्म पुगेको थिएँ ।
दुईपटक चीन, एकपटक अस्ट्रेलिया र थाइल्यान्ड गएको थिएँ । घुमेकामध्ये चीन र अस्ट्रेलिया मन पर्यो । अस्ट्रेलिया मरुभूमि भए पनि क्रमशः खेतियोग्य बनाइएको छ । अस्ट्रेलियामा उत्पादित वाइन संसारभरि पाइन्छन् । वातावरण शान्त । बैंकक पनि त्यत्तिकै लोभलाग्दो छ ।
जीवनमा एकपटक राराताल, कैलाश पर्वत र मानसरोवर पुग्नैपर्ने ठाउँ हुन् । सगरमाथा आधारशिविरसम्म पुग्ने धोको छ ।
मेरो फुर्सद
प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनपछि फुर्सदिलै छु । बधाइ थाप्नेक्रम रोकिएको छैन । फुर्सद पाइहालेमा अध्ययन गरेर रमाउँछु । घरपरिवारलाई समय दिन सकेको छैन । शान्तिप्रक्रियामा आइसकेपछि पनि मलाई छोराछोरीले अंकल नै भन्थे । अहिलेसम्म परिवारसहित घुम्न, रेष्टुरेन्टमा खान र चलचित्र हेर्न गएकै छैन ।
मेरो खेलकुद
भलिबल असाध्यै मन पर्छ । म व्यारेकमा रहँदासम्म पनि भलिबल खेलेको थिएँ । थुप्रै खेलाडी उत्पादनसमेत गरें । फुटबल पनि मन पर्छ ।
मेरो मोबाइल
दुई मोबाइल सेट प्रयोग गर्दै आएको छु । आइफोन सेभेन प्लस र अर्को वाईको सेट प्रयोग गर्छु । मन्त्री भइसकेपछि मात्रै दुई मोबाइल प्रयोग गर्न थालेको हुँ । आइफोनको १ लाख १० हजार र वाईको १०–१५ हजार परेको थियो । मोबाइलका एप्लिकेसनमा जीके, वाटसाप, स्काइप, गुगल म्याप, भाइबर, वी च्याटलगायत प्रयोग गर्दै आएको छु । कहिलेकाहीं मोबाइलमा गेम पनि खेल्छु ।
मेरो टेलिभिजन
टीभी हेर्दा समाचार प्राथमिकतामा पर्छ । समय भइहालेमा नेपाली ‘टेलिसिरियल’ पनि हेर्न मन पर्छ । मेरोमा एलजीको पुरानो मोडलको सानो टीभी छ ।
मेरो चलचित्र
हलसम्म पुगेर चलचित्र हेरेको छैन । चलचित्र छक्कापन्जाचाहिँ टीभीमा हेरेको छु । सबै कलाकारप्रति उत्तिकै सम्मान छ ।
मेरो रोग
रक्तचाप र ग्यास्ट्रिकले समातेकोबाहेक अहिलेसम्म सन्चै छु । ग्यास्ट्रिक बढ्नसाथ रक्तचाप बढ्दोरहेछ । डा. रवि मल्लसँग नियमित चेकजाँच र परामर्शमा छु । सालिन्दा ‘होलबडी चेकअप’ गराउँदै आएको छु । रक्तचाप र ग्यास्ट्रिकबाहेक स्वस्थ हुनुका कारण शारीरिक अभ्यास नै हो । तर, शारीरिक अभ्यासले ग्यास्ट्रिक नियन्त्रण गर्न सकिँदैन । पाल्पामा ४८ घन्टा पानी नखाई युद्ध लडेका थियौं । त्यसो भएपछि ग्यास्ट्रिक रमाइहाल्दोरहेछ ।
मेरो भाषणशैली
मैले भाषण गर्दा भाषण एकातिर र श्रोताको मनोविज्ञान अर्कोतिर पाउँछु । नकारात्मक कुरालाई रुचिपूर्वक सुन्ने नेपाली संस्कृतिजस्तै बनेको छ । मैले भाषण गर्दा नकारात्मक कुरा गरें भन्ने श्रोताले ध्यानपूर्वक सुन्छन् तर जीवनोपयोगी कुरा गरें त्यो सुन्दा निद्रा लाग्छ । भाषण गर्दा म कसैलाई गाली गर्दिनँ ।
भाषण गर्दा ‘चाहिँ’ भन्ने शब्द प्रयोग भएको सुन्नेले बताउँछन् । भाषण गरेकै आधारमा विवादमा तानिएको छैन । भाषण गर्नअघि तयारी पनि गर्दिनँ ।
मेरो मापसे
खानैपर्छ भनिएकाले चीन जाँदा वाइन खाएको हुँ । त्यसपछि खाएको छैन ।
मेरो संगीत
यदाकदा गीत–संगीत सुन्ने गरेको छु । सामना परिवार, जीवन शर्माका गीत सुन्छु । जीवन शर्माको आवाज कर्णप्रिय लाग्छ ।
मेरो भूल
मानिस हो, जानअन्जानमा गल्ती हुन्छ । तर, पश्चाताप लाग्नेगरी गल्ती गरेको छैन ।
मेरो घर
मेरो पुख्र्यौली घर कालीकोट हो । अहिलेसम्म मेरो घर छैन । मेरो नाममा जग्गा पनि छैन ।
मेरो राशी
मेरो राशी सिंह हो । ग्रह र नक्षत्रको फलप्रति विश्वास छैन । अहिलेसम्म ग्रहदशा हेराउने र ग्रहशान्ति गराएको छैन ।
मेरो सौन्दर्यचेत
कपालमा जेल, तेल केही लगाउँदिनँ । फेसियल गर्ने बानी छैन । हिमाली भेगतिर पुग्दा अनुहारमा भ्यासलिन लगाउने गर्छु । पफ्र्युम पनि त्यति प्रयोग गर्दिनँ । दुई–तीनपटक साउना बाथ लिएको छु ।
मेरो प्रेम
हामीले प्रेमविवाह गरेका हौं । मैले १७ वर्षमा समकक्षीसँग बिहे गरेको थिएँ । तर, औपचारिक रूपमा अहिलेसम्म बिहे भएको छैन ।
मेरो सपना
नेपाल प्राकृतिक स्रोत–साधनसम्पन्न छ । हिमाल, जल, जंगल, जडीबुटी छन् । हेर्दा अति सुन्दर छ । नेपाललाई कम्प्युटरको हार्डवेयर र सफ्टवेयरसँग तुलना गर्न सकिन्छ । हार्डवेयर राम्रो छ । सफ्टवेयर ठीक भएन । हामीले नेपाल नामक कम्प्युटरमा जुन सफ्टवेयर हालेका छौं, त्यो कामलाग्दो भएन । भाइरसले आक्रमण गरिरहन्छ । भाइरसले आक्रमण गर्न नसक्ने सफ्टवेयर चाहिएको छ । उदाहरणका लागि म्याक कम्प्युटरले राम्रो सफ्टवेयर राखेको हुन्छ । भाइरसले दुःख दिनै सक्दैन । अरू सफ्टवेयर इन्स्टल गर्न खोज्यो भने उसले मान्दैमान्दैन । आफ्नै कम्पनीको सफ्टवेयरमात्रै इन्स्टल हुन्छ ।
हो, त्यस्तै यो देशको मूल कानुन संविधान बलियो हुनुपर्यो । राम्रो हुनुपर्यो । हिजो व्यवस्था ठीक नहुँदा परिवर्तन गरियो । कहीं कसैले चलखेल गर्न नसक्ने व्यवस्था हुनुपर्यो । त्यसपछि कार्यान्वयनकर्ता राम्रो हुनुपर्यो । राजनीतिक नेताले हो कार्यान्वयन गर्ने । जसका निमित्त, जेका लागि बनाइएको थियो, त्यसपछि मात्रै प्रयोगकर्ताले त्यसको प्रभावकारिताबारे जान्न पाउँछन् ।
अहिले त कर्मचारी र नेताले कहाँबाट कमिसन आउँछ भन्ने ध्यानमात्रै दिएका छन् । कमिसन खोजीभन्दा अर्को ध्यान छैन । राजनीतिक नेतालाई पनि त्यही चिन्ता छ । अब त तीन–चार करोडविना निर्वाचन जितिँदैन । उनीहरूलाई पनि त्यति पैसा कसरी हात पारौं र पछिल्लो निर्वाचन तयारी गरौं भन्ने ध्याउन्न छ ।
म त भन्छु, ‘हामी सधैं सकारात्मक सोचौं । राष्ट्रका लागि स्वयम्सेवी बनौं ।’ नेपाल चीनको एक जिल्लाजत्रो पनि छैन । प्रत्येक गाउँगाउँमा चिल्ला बाटो र नेपालीका घरघरमा बिजुली पुर्याउन सकिन्छ । प्रत्येक नेपालीलाई रोजगारी दिन सकिन्छ । नेपालमा ५० वटा अन्तर्राष्ट्रिय कम्पनी स्थापना गरे पुग्छ । १० हाइड्रोपावर र कृषिसम्बन्धी १५–२० उद्योग खोल्यौं भने बाहिरबाट कामदार झिकाउनुपर्ने हुन्छ । बिस्तारै आयात कम गर्दै निर्यात बढाउन सकिन्छ । त्यसपछि नेपाल बनाउन कत्ति लाग्दैन ।
आफूलाई कहाँ पुर्याउने भन्ने विषय मैले कस्तो काम गर्छु, त्यसलाई जनताले कसरी लिन्छन्, त्यसमा भर पर्छ । नेपाली राजनीतिमा गलत संस्कृति विकास हुँदै गएको छ । यही संस्कृति कायम रहने हो भने आफूलाई कहीं पुर्याउन सकिँदैन । राजनीतिमा यस्तै संस्कृति, प्रवृत्ति कायम रहे माथिल्लै नेतृत्वमा पुग्न सकिएला भन्ने लागेको छैन तर राजनीतिको विद्यमान संस्कृति, विकृति, प्रवृत्ति परिवर्तन भयो भने भोलि देशकै नेतृत्व लिन सक्छु भन्ने लाग्छ ।
मेरो मृत्यु
मृत्यु स्वाभाविक प्रक्रिया हो । मृत्युसँग डर लाग्दैन । मृत्युसँग खेलेको मानिस हुँ । लोकमासिंह कार्कीलाई कारबाही गर्न ठुल्ठूला नेतासमेत डराएका थिए । हस्ताक्षर गरेकाले समेत फिर्ता गरे । तर, म डराइनँ । त्यतिबेला मेरो खुट्टा झापा र टाउको महाकाली पुर्याइदिन्छौं भनेर धम्की दिने कति थिए कति । र पनि, डराइनँ ।
मेरो मृत्युमा धेरैले आँसु बगाऊन् भन्ने लोभ छ ।