मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चिनियाँ र कोरियन पर्यटकको चहलपहल बढ्यो

बिहीबार, २८ माघ २०७२, १३ : १९
बिहीबार, २८ माघ २०७२

म्याग्दी– विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत म्याग्दी र कास्कीका पर्यटकीय स्थलमा केही दिनयता चिनियाँ र कोरियन पर्यटकको चहलपहल बढेको छ ।

म्याग्दीको घोडेपानी, पुनहिल, कास्कीको बिरेठाँटी र घान्दु्रक क्षेत्रमा चीन र दक्षिण कोरियाबाट भ्रमणमा आएका पर्यटकको चहलपहल बढेको हो । यस क्षेत्रका पर्यटकीय स्थल गत वैशाखको भूकम्प र नयाँ संविधान जारी भएपछि करिब पाँच महिनासम्म भएको नाकाबन्दीका कारण सुनसान बनेका थिए ।

चीन, दक्षिण कोरिया र आन्तरिक पर्यटकको आगमन बढेपछि पर्यटन तथा होटल व्यवसायी उत्साहित बनेका छन् । घोडेपानी–घान्दु्रक पदमार्गमा हिजोआज नयाँ वर्षको बिदा मनाउन दैनिक दुई सय जनाको हाराहारीमा चिनियाँ र कोरियाका पर्यटक भित्रिएको घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजा पुनले बताए । भूकम्पले असर नगरेको, पोखरादेखि नजिक, तटीय किनाराका बस्तीदेखि हिमाली क्षेत्रको अवलोकन गर्न सकिने र छोटो समयका लागि यात्रा गर्न सकिने भएकाले चिनियाँ र दक्षिण कोरियाका पर्यटकले घोडेपानी घान्द्रुक पदमार्गलाई रोजेका पथप्रदर्शकले बताएका छन् ।

करिब दुई हप्ताको बिदा मनाउन आउने चिनियाँ र दक्षिण कोरियाका पर्यटकका लागि तीनदेखि सात दिनमा पूरा हुने बिरेठाँटी घोडेपानी घान्द्रुक पोखरा पदमार्ग आकर्षणको केन्द्र बनेको छ । हिमशृङ्खला, सूर्योदयको दृश्य अवलोकन, गुराँसको जङ्गल, मगर र गुरुङ संस्कृति, एकान्त वातावरण, झरना, पक्षी आदिले यस क्षेत्रमा पर्यटक आकर्षित गरेको ३० जना कोरियन पर्यटकलाई घुमाउन ल्याएका पथप्रदर्शक अनन्तराज पौडेलले बताए ।

म्याग्दीको घोडेपानीमा भेटिएका चिनियाँ पर्यटक हू जिङले यस क्षेत्रका पर्यटकीयस्थल सुरक्षित, सुन्दर र मनमोहक रहेको अनुभव गरेको बताए । अन्नपूर्ण पदमार्ग सुरक्षित रहेको र प्राकृतिक सौन्दर्यतामा रमाउन पाएकामा उनले खुसी व्यक्त गरे । प्रणय दिवस नजिकिँदै गर्दा युवायुवतीदेखि प्रौढका जोडीहरु पदयात्रामा आएका छन् । पोखरा, काठमाडौँ, चितवन, भैरहवालगायत सहरका युवायुवतीको पनि चहलपहल बढेको छ । अमेरिका, फ्रान्स, जर्मन, इटाली, क्यानडा, बेलायतलगायत युरोपियन मुलुकका पर्यटकको आगमन भने न्यून देखिन्छ ।

अन्नपूर्ण पदमार्गलाई भूकम्पले असर नगरेको र सुरक्षित रहेको सन्देश प्रवाह गराउने प्रयास भइरहेकाले आगामी याममा युरोपियन मुलकका पर्यटकको पनि आगमन बढ्ने अपेक्षा गरिएको घोडेपानी होटल व्यवस्थापन समितिका सदस्य रनबहादुर पुनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप