सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माओवादी शक्ति मालेमावादको झण्डामुनि एकतावद्ध बनौं : प्रचण्ड

शनिबार, ०१ फागुन २०७२, ११ : ३३
शनिबार, ०१ फागुन २०७२

काठमाडौं – एमाओवादी अध्यक्ष प्रचण्डले २१ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना सन्देश दिँदै माओवादी शक्तिहरुलाई मालेमावादको झण्डामुनि एकतावद्ध हुन आह्वान गरेका छन् । शनिबार प्रेस वक्तव्य जारी गर्दै जनयुद्ध एक्काइसौं वर्ष प्रवेशको अवसरमा छरिएर रहेका सबै माओवादी शक्तिहरुलाई मालेमावादको झण्डामुनि एकतावद्ध भै क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै दृढतापूर्वक अगाडि बढ्न प्रचण्डले आह्वान गरेका हुन् ।

यस्तो छ प्रचण्डको सन्देश : 

२१ औं जनयुद्ध दिवसको शुभकामना ! नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा माक्र्सवाद–लेनिनवाद–माओवादको क्रान्तिकारी झण्डा उठाउँदै जनयुद्ध थालनी गरेको दुई दशक पुरा भै एक्काइसौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सर्वप्रथम म जनयुद्धका ती महान् अमर सहिदहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु । जनयुद्धका वेपत्ता एवं घाइते, अपाङ्ग, योद्धाप्रति उच्च सम्मान व्यक्त गर्दै सहिदले देखाएको बाटोमा अविचलित रुपमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै समस्त नेपाली जनसमुदाय तथा विश्वभरिका श्रमजीवि जनसमुदायमा हार्दिक शुभकामाना एवं जुझारु अभिवादन टक्र्याउन चाहन्छु । जनयुद्धको पहिलो एक दशक भीषण वर्ग संघर्ष, वैचारिक संघर्ष र उथलपुथलको अवधी रह्यो । त्यसले देशको पुरानो एकात्मक सामन्ती राजतन्त्रात्मक व्यवस्थाको अन्त गर्न निर्णायक भूमिका खेल्यो । नेपालका सम्पूर्ण वर्ग, जाति, क्षेत्र, लिङ्गका जनतामा आफ्नो अधिकारका लागि निर्णायक युद्ध लड्ने चेतना र साहास पैदा गर्यो । त्यसले घरेलु तथा प्रतिक्रियावादी शक्तिलाई झुकाएर शान्ति प्रक्रियामा आउन बाध्य गर्यो । जनयुद्धको दोस्रो एक दशकमा जनयुद्धको जगमा नेपाली जनताले आधा शताब्दी पहिलेदेखि संविधानसभामार्फत संविधान बनाउने सपना साकार पार्दै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक अधिकारसहितको संविधान घोषणाका लागि संघर्ष भयो । अन्तिम चरणमा संविधानसभामार्फत संविधान घोषणा हुन नदिन घरेलु प्रतिक्रियावाद र वैदेशिक हस्तक्षेपको नांगो रूपमा अन्तिम तागत प्रयोग भए पनि संविधासभाबाट संविधान घोषणा गराउन हाम्रो पार्टीले खेलेको भूमिका इतिहासमा अविस्मरणीय छ । विगत दुई दशकभित्र हामी नेपाली क्रान्तिलाई मौलिक रूपले नयाँ उचाईमा उठाउन सफल भएका छौं । पूँजीवादी जनवादी क्रान्तिका मूलभूत कार्यभार पुरा भएका छन् । जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्तिको नयाँ चरणमा नेपाली समाजलाई पुर्याउन जनयुद्धका दुई दशक महत्वपूर्ण रहे । राजनीतिक रूपले नेपाली समाज क्रान्तिको नयाँ रणनीतिक चरणमा प्रवेश गरेको छ । त्यसका लागि सही विचार, वैज्ञानिक समाजवादको रणनीति, कार्यनीति निर्धारण गरी उच्च क्रान्तिकारी स्प्रिटका साथ कार्यान्वयनमा जानु आवश्यक छ । क्रान्तिका आगामी कार्यभार पुरा गर्न मालेमावादको रक्षा, प्रयोग र विकास गर्दै अगाडि बढ्न आवश्यक छ । पुरानो सामन्ती यथास्थितिवादी प्रतिगामी शक्ति प्राप्त उपलब्धीलाई निस्तेज गर्न प्रयत्नशील छ । नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनताको रक्षाको महत्वलाई आत्मसात गर्दै वर्ग संघर्ष उत्पादन संघर्ष र वैज्ञानिक प्रयोगका लागि सम्पूर्ण क्रान्तिकारी शक्ति एक ठाउँमा उभिनु अनिवार्य छ । हामी कम्युनिस्ट आन्दोलनभित्र समय समयमा देखापर्ने दक्षिणपन्थी संशोधनवाद र सबैखाले अवसरवादका विरुद्ध निर्मम र सम्झौताहिन संघर्ष गर्दै आएको कुरा स्मरण गराउँदै सबैखाले बिजातीय प्रवृत्ति विरुद्ध संघर्ष गर्दै अघि बढ्नुपर्ने कुरा प्रष्ट गर्न चाहन्छु । आज म हार्दिक अपील गर्दछु । क्रान्तिकारी अभिवादनसहित । १ फागुन, २०७२ ............................. पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप