सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालमै ट्युबलेस टायरको नक्कली लिक्विड उत्पादन गर्ने उद्योग

शनिबार, ०१ फागुन २०७२, १५ : ३५
शनिबार, ०१ फागुन २०७२

वीरगन्ज – विदेशी कम्पनीको लेबल र स्टिकर राखेर नक्कली केमीकल, लिक्वीड र पालिस उत्पादन गर्ने उद्योगमा प्रहरीले छापा मारेर सिल गरेको छ । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १० पानीटंकी टोलमा अवैध रुपमा संचालित नक्कली उद्योगमा प्रहरीले छापा मारेर सिल गरेको हो । प्रहरीले उद्योगका एक जना सञ्चालकलाइ पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज १० पानीटंकी टोलकै २५ वर्षिय अंकित गुप्ता रहेका छन् । उद्योगका मुख्य सन्चालक शोभ नारायण प्रसाद गुप्ता भने फरार रहेको प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए । गुप्ताद्वयले आफनै घरमा संचालन गरेको मोटरसाइकलको टायर ट्युबलेस बनाउनका लागि प्रयोग हुने नक्कली केमिकल र पालिस उत्पादन गर्ने उद्योगमा मंगलबार राति प्रहरीले छापा मारेको थियो । विशष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको विशेष टोलीले गुप्ताको उद्योगमा छापा मारेर सिल गरेको प्रहरी उपरिक्षक श्रेष्ठले बताए । गुप्ताद्वयले आफनै घरमा ताओ इन्टरनेशनल र माँ चण्डेश्वरी इन्टरप्राइजेजको नाम राखेर नक्कली उद्योग संचालन गरेका थिए ।

छापामारीका क्रममा उद्योगबाट विभिन्न प्रकारका ११ थान मेशिन सहित करिब सात लाख मुल्य बराबरको केमीकल र पालिस बरामद गरिएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए । उद्योगबाट ट्युबलेस लिक्वीड एक सय २२ कार्टुन , ग्लेयर लेदर वास पालिस २२ कार्टुन , सुपर वास पालिस १० कार्टुन , ट्युबलेस केमिकल तयार पार्ने रबरको धुलो २५ बोरा , ट्युबलेस केमिकलको कच्चा पदार्थ तीन बोरा , सिलिकन लिक्वीड १० ग्यालेन , फिनाइल ६ कार्टुन , ट्युबलेस केमिकल लिक्वीड बनाउन प्रयोग हुने कच्चा पदार्थ सात ड्रम बरामद गरिएको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए । प्रहरीले उद्योगबाट खाली ड्रम ३० थान , ट्युबलेस केमिकल लिक्वीड प्याक गर्ने बोत्तलको बिर्को नौ बोरा, पालिसमा प्रयोग हुने फम १० बोरा , पालिस प्याक गर्ने डब्बा १५ हजार पिस र विदेशी कम्पनीका लेबल स्टिकर ५० हजार पिस पनि बरामद गरेको छ । यस्तै ट्युबलेस केमिकल र लिक्वीड तथा पालिस उत्पादन कार्यमा प्रयोग हुने साना ठूला गरि ११ वटा मेशीन पनि बरामद गरिएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए । गुप्ताद्वयले उत्पादन र बिक्री वितरण गर्दै आएका केमीकल लिक्वीड र पालिसको डब्बा तथा बोत्तलमा उत्पादन मिति,अन्तिम मिती र अधिकतम बिक्री मुल्य समेत नराखेको अवस्थामा फेला परेको प्रहरी उपरिक्षक श्रेष्ठले बताए । वीरगन्जमै उत्पादित ट्यबुलेस केमीकल लिक्वीड र पालिसको बोत्तल र डब्बामा गुप्ताद्वयले अमेरीकन , चाइनिज र थाइल्याण्डका कम्पनीका ट्रेडमार्क राखी उपभोक्ताहरुलाइ झुक्याएर बिक्रिी वितरण गर्दै आएकाले छापा मारेर सिल गरिएको श्रेष्ठले जानकारी दिए । गुप्ताद्धयले अमेरीका , थाइल्याण्ड र चीनीया कम्पनीका लेबल र स्टिकर टाँसेर ट्युबलेस केमीकल लिक्वीड र पालिस बजारमा बिक्रि वितरण गर्दै आएका थिए । उनिहरुले नक्कली र कम गुणस्तरका सामान वीरगन्ज, हेटौडा, नारायणगढ, पोखरा र काठमाडौंका बजारमा लगेर बिक्री गर्दै आएका थिए । ‘यो सरासर उपभोक्तालाई ठगी गर्ने धन्दा हो,’ प्रहरी उपरिक्षक श्रेष्ठले भने ,‘कम गुणस्तरको सामान बढि मुल्यमा बेचेर उनिहरुले कालोबजारी पनि गरेका छन् ।’ उद्योगका दुई वटा कोठामा सबै सामान र मेशीन राखेर सिल गरेको भन्दै उनले पक्राउ परेका गुप्ता विरुद्ध कालोबजारी तथा सामाजिक अपराध र सजाय ऐन बमोजिम कार्वाही प्रकृया अगाडि बढाइएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप