सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सरस्वतीपूजाका दिन अक्षर चिनाए पछिसम्म पढाइ राम्रो

शनिबार, ०१ फागुन २०७२, १६ : ०३
शनिबार, ०१ फागुन २०७२

काठमाडौँ - प्रत्येक वर्ष झैं माघशुक्ल पञ्चमीका दिन सरस्वतीको पूजा गरी आफ्ना साना नानीलाई अक्षराम्भ गराउने चलन अनुसार यस वर्ष पनि विद्यालय र मन्दिरमा साना नानीको हात समाएका अभिभावकको विद्यालय र मन्दिरमा भिड देखियो ।

बिहानैदेखि विद्याकी अधिष्ठात्रीको पूजा गरी बालबालिकालाई पढ्न सिकाएमा पछिसम्म पढ्न आउने विश्वास लिई मन्दिर र विद्यालयमा भर्ना गर्न आएको अभिभावकको भनाइ छ । तीन वर्षकी छोरीलाई लिई विद्यालयमा भेटिएकी मनमैँजुकी रेजिना लामा सरस्वती पूजाको दिन विद्यालय भर्ना गरी अक्षर चिनाउँदा पढाइ राम्रो हुने विश्वास गरी विद्यालय आजको दिन छोरीलाई भर्ना गर्न आएको बताउँछिन् ।

पं मुकुन्द भण्डारी सरस्वतीलाई महाविद्या, महावाणी, भारती, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा र धीश्वरी नामले समेत सम्बोधन गरिने भएकाले आजका दिन बालबालिकालाई अक्षर चिनाउँदा शुभ हुने बताउँछन् ।

गोङ्गबुकी सिमोन न्यौपाने पनि आफ्नो छोरालाई लाजिम्पाटस्थित सरस्वतीको मन्दिरमा अक्षर चिनाउँदै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो आजको दिन आफ्ना नानीको अध्यापनको सुरुआत गराउनाले पढाइ राम्रो हुन्छ, विद्याकी देवी सरस्वतीको ध्यान गरी अध्ययन गरेमा भविष्य पनि राम्रो हुन्छ । माउन्ट लार्के सेकेन्डरी स्कुलकी शिशु कक्षाकी शिक्षिका सावित्री न्यौपानेसँग धेरै अभिभावकले आफ्ना नानीको भर्ना पनि आजकै दिन गर्ने गरेको अनुभव छ । उनले भने—“ धेरै विद्यालयले सरस्वती पूजाको अवसरमा विद्यालय भर्ना हुने आउने नानीका लागि छुटको पनि व्यवस्था गरेका हुन्छन् ।”

आजकै दिन काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारा, ललितपुर लेले, लाजिम्पाट र मुलुकभरका सरस्वती मन्दिरमा ज्ञानकी देवीको पूजा गर्न बिहानैदेखि साना नानी लिएर आउनुभएका अभिभावक र विद्यार्थीको घुइँचो लागेको छ ।

चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी सरस्वतीलाई साहित्यकार, कलाकार, पत्रकार, सङ्गीतकार, शिक्षक र विद्यार्थीले आज आआफ्ना कला–साधनाका वस्तुलाई सरस्वतीका रूपमा पूजा गर्ने चलन छ । त्यसैगरी तान्त्रिकले पनि आफ्नो तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा सरस्वतीको आराधना गर्ने पण्डित भण्डारीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप