सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धरान पुगेर प्रधानमन्त्री ओलीले भने– राष्ट्रकोलागि जीवन अर्पण गर्ने नेताका इतिहास संस्थागत रुपमै संरक्षण गर्नुपर्छ

शनिबार, ०१ फागुन २०७२, १७ : २८
शनिबार, ०१ फागुन २०७२

धरान – प्रधानमन्त्री केपी शर्मा ओलीले धन कमाउनका लागि जनताको स्वास्थ्यमा खेलवाड गर्ने काम म अपराधिक कृत्य हुने बताएका छन् । वीपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठानको बाह्रौं दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थका विषयमा राजनीतिक हस्तक्षेप हुन नहुँने धारणा राखे । ‘कार्यपालिका प्रमुखले नियन्त्रण हुननसकेको अव्यवस्थाको बारेमा सार्वजनिक टिप्पणी गर्नु कति सुहाँउदो देखिन्छ, प्रश्न त गर्न सकिएला । तर धन कमाउन कै लागि जनताको स्वास्थ्यमा खेलवाड गर्ने काम म अपराधिक कृत्य ठान्छु । मेडिकल स्कूल खोल्ने वा नखोल्ने बहसका दुवै कित्तामा रहेका “असल मनका मानिस” समेत यस्तै प्रवृत्तिको तुँवालोमा रनभुल्ल परेको मैले महसुस गरेको छु । ’प्रधानमन्त्री ओलीले भने ।

उनले अगाडि थपे, ‘यस प्रसंगमा मैले धेरैचोटी ‘राजनीतिक हस्तक्षेप’को चर्चा सुन्ने गरेको छु । मान्छेका आस्था हुन्छन्, हुनु पनि पर्छ । तर जनस्वास्थ्यका विज्ञले राज्यको तर्फबाट पाउने प्राविधिक, प्रशासनिक र व्यवस्थापकीय जिम्मेवारी उसको राजनीतिक आस्था, आवद्ध दल वा नाता–पाताको आधारमा हैन दक्षतामा आधारित हुनुपर्छ भन्ने कुराको म मा कुनै द्विविधा छैन ।’

प्रधानमन्त्री ओलीले राष्ट्रकोलागि सिङ्गो जीवन अर्पण गर्ने नेताका इतिहास र योगदानलाई संस्थागत रुपमै संरक्षण गरिनु पर्ने बताए । मनमोहन अधिकारीका नाममा स्थापना भएको मेडिकल कलेजलाई स्वीकृत दिने विषयमा विवाद रहँदा प्रधानमन्त्रीको यस्तो भनाई आएको हो । ‘यसै सन्दर्भमा मैले एकचोटी केही चिकित्सकहरुसंग ठट्टाको शैलीमा एउटा प्रश्न गरेको थिएँ– प्रधानमन्त्री भएकै नाताले के मेरो नाममा कुनै स्वास्थ्य प्रतिष्ठान हुनुपर्छ? जवाफ पाउनु अघि नै मैले फेरी अर्को प्रश्न गरें– की त्यस्ता प्रतिष्ठान,राजनीतिक व्यक्तित्वको सट्टा यसै क्षेत्रका मूर्धन्य व्यक्तिको नाममा हुनुपर्छ ?’ उनले भने, ‘मलाई घरीघरी लाग्छ, स्वास्थ्य क्षेत्रमा मात्रै हैन, कला, साहित्य, सँस्कृति सम्बन्धि विभिन्न प्रतिष्ठानहरु प्रसिद्ध नेताका नाममा भन्दा सोही क्षेत्रका प्राज्ञ वा विज्ञको नाममा खोल्दा उपयुक्त हुने हैन र? यसो हुँदा नै नवस्थापित स्वायत्त संस्थाको दीर्घकालिन स्वास्थ्य अनुकुल हुन्छ भन्ने मेरो विश्लेषण छ ।’

प्रधानमन्त्री ओलीले शिक्षाको गुणस्तरमा कुनै संझौता हुन नहुँने बताए । ‘मानिसको जीवन बचाउने चिकित्सा शिक्षामा त झनै संवेदनशिलता हुनुपर्छ । आम्दानी र ओहोदाको हिसावले भनिने “ठूला”का सन्तानले मात्रै डाक्टर÷इञ्जिनीयर÷प्राध्यापक बन्ने परिपाटी हैन, न्यून आय भएका परिवारका प्रतिभावान सन्तान पनि दक्ष चिकित्सक बन्न पाउने सहज वातावरण हुनुपर्छ ।’ उनले भने ।

यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ

वीपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठानको बाह्रौं दीक्षान्त समारोहका प्रमुख अतिथिज्यू, यस प्रतिष्ठानका सहकुलपति ज्यू, यस प्रतिष्ठानका उपकुलपति तथा पदाधिकारीहरु, प्राध्यापक, शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरु,

सर्वप्रथम म सबैलाई हार्दिक अभिवादन गर्दछु ।

मैले सरकारको नेतृत्व सम्हालेको लगभग चार महिनामा उच्च शिक्षा आर्जन गर्ने विद्यार्थीहरुको चारवटा दीक्षान्त समारोहमा कुलपतीको हैसियतमा सहभागी हुने मौका पाएँ । देशको सबैभन्दा जेठो विश्वविद्यालयदेखि, निर्दलीय शासन व्यवस्थाको अन्त्यसंगै मुलुकमा स्थापित पहिलो विश्वविद्यालयसम्मको दीक्षान्त समारोहमा मैले आप्mनो सहभागिता जनाएँ ।

आज चिकित्सा शिक्षाको विविध विधामा मध्यम स्तरीय चिकित्साकर्मीदेखि विद्यावारिधीसम्मको डिग्री प्रदान गर्ने विशिष्ट प्रकृतिको स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी हुन पाउँदा मलाई गर्व लागेको छ ।

आजभन्दा अघि एघारवटा दीक्षान्त समारोहहरुमा यस प्रतिष्ठानको महिमा बारे चर्चा, म भन्दा अघिका कुलपतीज्यूहरु र आमन्त्रित व्यक्तित्वहरुबाट पर्याप्त मात्रमा भएको हुनुपर्छ । प्रतिष्ठानले सम्पादन गरेका अनुकरणीय काम र जनस्वास्थ्यको क्षेत्रमा पु¥याएको योगदानको अरु झैं म पनि उच्च प्रसंसा गर्दछु ।

चिकित्सा शिक्षा प्रदान गर्ने नेपालमा हाल एक भन्दा बढी विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु छन् । तर एकै थलोमा अण्डर–ग्य्राजुएटदेखि स्नातक, स्नातकोत्तर र विद्यावारिधिसम्मको चिकित्सा शिक्षा प्रदान गर्ने, नेपालमा यो मात्रै एक स्वास्थ्य–शिक्षा प्रतिष्ठान हुनुपर्छ । मेडिकल, डेण्टल, नर्सिङ र सामुदायिक स्वास्थ्यका चार कलेज सहित केन्द्रीय शिक्षण अस्पताल मात्रै हैन जिल्ला शिक्षण अस्पताल मार्फत “समुदायसंगै गरेर सिक्ने” विधि सहितको अनुभवको धनि रहेकोले नै यस प्रतिष्ठानलाई मैले अरु विश्वविद्यालयहरुको तुलनामा विशिष्ठ अनुभव रहेको सार्वजनिक संस्था ठान्ने गरेको छु ।

कालाजर जस्ता देशको खास भागमा हुने रोगबाट जनतालाई जोगाउन यस प्रतिष्ठानबाट चालिएको विशेष कार्यक्रम प्रसंशनीय मात्रै हैन, अनुकरणीय पनि छ । चिकित्सा शिक्षामा, हाम्रो जस्तो देशमा यसप्रकारको गुणस्तरीय शिक्षा प्रदान गर्ने, पूर्वाञ्चल क्षेत्र–केन्द्रीत स्वास्थ्य सेवा सञ्चालन गरी देश÷विदेशका विद्यार्थी र विरामी दुबैलाई आकर्षण गर्न सक्नु यस प्रतिष्ठानले झण्डै अढाई दशकको अथक मिहेनतबाट आर्जन गरेकोआकर्षक पूँजी हो भन्ने मैले बुझेको छु ।

विद्यार्थी र चिकित्सकहरुलाई छोटो अबधिको एकेडेमिक तथा पुर्नताजगी कोर्स आयोजना गर्ने होस् की चिकित्सा शिक्षाका विभिन्न पक्षमा अध्ययन, अनुसन्धान र अध्यापन गर्ने कामलाई ‘संस्कृति’ कै रुपमा हुर्काउने यस प्रतिष्ठानको सोंचलाई प्रवद्र्धन गर्नुपर्ने कामको रुपमा मैले लिएको छु ।

आसा गर्छु, आगामि वर्षहरुमा यी उपलव्धी थप सम्बद्र्धन गर्न प्रतिष्ठानलाई सफलता मिल्ने नै छ ।

तर धेरै सफल संस्थाहरु अव्यवस्थाका पीडामा फसेका छन् । असफलता, सफलताको जननी मानिन्छ । यस प्रतिष्ठानको सफलता दम्भ र अधोपतनको स्रोत नहोस् भन्नेमा म सचेत गराँदछु ।

यस प्रसंगमा मैले धेरैचोटी ‘राजनीतिक हस्तक्षेप’को चर्चा सुन्ने गरेको छु । मान्छेका आस्था हुन्छन्, हुनु पनि पर्छ । तर जनस्वास्थ्यका विज्ञले राज्यको तर्फबाट पाउने प्राविधिक, प्रशासनिक र व्यवस्थापकीय जिम्मेवारी उसको राजनीतिक आस्था, आवद्ध दल वा नाता–पाताको आधारमा हैन दक्षतामा आधारित हुनुपर्छ भन्ने कुराको म मा कुनै द्विविधा छैन ।

राष्ट्रकोलागि सिङ्गो जीवन अर्पण गर्ने नेताका इतिहास र योगदानलाई संस्थागत रुपमै संरक्षण गरिनु पर्छ । यसै सन्दर्भमा मैले एकचोटी केही चिकित्सकहरुसंग ठट्टाको शैलीमा एउटा प्रश्न गरेको थिएँ– प्रधानमन्त्री भएकै नाताले के मेरो नाममा कुनै स्वास्थ्य प्रतिष्ठान हुनुपर्छ? जवाफ पाउनु अघि नै मैले फेरी अर्को प्रश्न गरें– की त्यस्ता प्रतिष्ठान,राजनीतिक व्यक्तित्वको सट्टा यसै क्षेत्रका मूर्धन्य व्यक्तिको नाममा हुनुपर्छ?

मलाई घरीघरी लाग्छ, स्वास्थ्य क्षेत्रमा मात्रै हैन, कला, साहित्य, सँस्कृति सम्बन्धि विभिन्न प्रतिष्ठानहरु प्रसिद्ध नेताका नाममा भन्दा सोही क्षेत्रका प्राज्ञ वा विज्ञको नाममा खोल्दा उपयुक्त हुने हैन र? यसो हुँदा नै नवस्थापित स्वायत्त संस्थाको दीर्घकालिन स्वास्थ्य अनुकुल हुन्छ भन्ने मेरो विश्लेषण छ ।

कार्यपालिका प्रमुखले नियन्त्रण हुननसकेको अव्यवस्थाको बारेमा सार्वजनिक टिप्पणी गर्नु कति सुहाँउदो देखिन्छ, प्रश्न त गर्न सकिएला । तर धन कमाउन कै लागि जनताको स्वास्थ्यमा खेलवाड गर्ने काम म अपराधिक कृत्य ठान्छु । मेडिकल स्कूल खोल्ने वा नखोल्ने बहसका दुवै कित्तामा रहेका “असल मनका मानिस” समेत यस्तै प्रवृत्तिको तुँवालोमा रनभुल्ल परेको मैले महसुस गरेको छु ।

सम्मानित नेताका नाममा रहेका स्वास्थ्य शिक्षा र सेवा जस्ता महान र पवित्र उद्देश्य बोकेका, प्रबुद्ध प्रतिष्ठित व्यक्तित्वहरुबाट मात्र सञ्चालन हुनसक्ने यस्ता संस्थाहरुले आप्mना गौरब, उद्देश्य र सफलतामा सम्पूर्ण रुपमा केन्द्रीत हुनुपर्छ । कथंकदाचित त्यस विपरित संस्थाका मर्यादामा आँच पुग्ने कुनै कुरा देख्न सुन्न पर्दा जनता कति दुःखित हून्छन्? त्यस्तो नहोस्, सबैमा हेक्का हुनुपर्छ ।

यो प्रतिष्ठान यस्ता साँघुरा र नकारात्मक प्रभावबाट मुक्त रहोस्, मेरो शुभेच्छा छ । चिकित्सा शिक्षा गुणस्तरीय र सुलभ हुनुपर्छ । यस दिशामा यस प्रतिष्ठानको भूमिका निरन्तर प्रभावकारी हुने नै छ ।

यस प्रसंगमा एउटा चर्चा उल्लेख गर्ने अनुमति चाहन्छु ।

केही हप्ता अघि, मैले चिकित्सा शिक्षा कार्यदलको पुनर्गठन गरें । हाम्रा देशका नाम चलेका चिकित्सकहरुको संलग्नतामा आगामि दिनमा गुणस्तरीय चिकित्सा शिक्षा कसरी कुन विधिबाट हुनुपर्छ भन्नेमा ठोस प्रस्ताव सहित यस क्षेत्रलाई चाहिने कानुनको मस्यौदा सुझावसम्म तयार गर्ने दायित्व मैले त्यस कार्यदललाई सुम्पिएको छु ।

हामीहरु जतिखेर त्यस कार्यदलको कार्यदेश र समेट्ने क्षेत्रको बारेमा छलफल गर्दै थियौं, मैले प्रश्न गरेको थिएँ– के चाँहदैमा मुलुकका सबै नागरिकले डाक्टर हुन पाउँनु पर्छ? अभिभावकको आम्दानी न्युन भएकै कारण संभावना बोकेको एउटा प्रतिभावान विद्यार्थी डाक्टर बन्नबाट बञ्चित हुनुपर्छ?

विरोधाभाषी मेरा यी प्रश्नहरुमा सहभागी चिकित्सकहरुले “सबै डाक्टर हुँदैनन् र प्रतिभाहरु ब्ञ्चित हुनुहुँदैन” भन्ने दृढ जवाफ दिनु भयो । धन्यवाद, मेरो मन कै कुरा भन्नु भयो ।

म फेरी एकपटक दोह¥याउन चाहन्छु– शिक्षाको गुणस्तरमा कुनै संझौता हुनुहुन्न । मानिसको जीवन बचाउने चिकित्सा शिक्षामा त झनै संवेदनशिलता हुनुपर्छ । आम्दानी र ओहोदाको हिसावले भनिने “ठूला”का सन्तानले मात्रै डाक्टर÷इञ्जिनीयर÷प्राध्यापक बन्ने परिपाटी हैन, न्यून आय भएका परिवारका प्रतिभावान सन्तान पनि दक्ष चिकित्सक बन्न पाउने सहज वातावरण हुनुपर्छ ।

प्रधानमन्त्रीको रुपमा मेरा आगामि दिनका प्रयत्न यसै दिशामा लक्षित हुनेछन्, यो दीक्षान्त समारोहमा समुपस्थित सबैलाई म स्पष्ट पार्न चाहन्छु ।

आजको चुनौती सामना गर्न सक्षम दक्ष जनशक्ति हुनुपर्ने उच्च शिक्षालयबाट उत्पादित कतिपय विद्यार्थीहरु, “पढ्न–लेख्न मात्रै जान्ने, अरुथोकी केही नजान्ने” भए भन्ने गुनासा सुन्दा म चकित हुने गर्छु ।

हाम्रो अपेक्षा यस्ता जनशक्ति नभएको स्पष्ट पार्दै मैले भन्दै आएको छु– शिक्षा जीवनको लागि हुनुपर्छ, मानवता र राष्ट्रको हितमा हुनुपर्छ । हामीलाई खाँचो परेको विधामा तालिमप्राप्त र आपूmले आर्जन गरेकोको शिक्षा व्यवहारमा लागू गर्न सक्ने सक्षम जनशक्ति चाहिएको छ ।

आजको दीक्षान्त समारोहमा सहभागि, यस गरिमामय प्रतिष्ठानबाट विभिन्न तहको डिग्रि हासिल गर्न सफल विद्यार्थीहरु हाम्रो मुलुकले अपेक्षा गरे बमोजिम सक्षम जनशक्ति हुनुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु । देश र जनताको सेवामा सुशिक्षित र सुयोग्य नागरिक बनाउने आफ्ना अभिभावकको सपना तपाईहरुले आज साकार पार्नु भएको छ ।तपाईहरुले हासिल गर्नु भएको ज्ञानबाट मुलुक र जनताको सेवा होस्, सुखद भविष्यको कामना गर्दछु । र, सबै विद्यार्थीहरुलाई म एकपटक फेरी हार्दिक बधाई ज्ञापन गर्दछु ।

गुणस्तरीय र अन्तर्राष्ट्रिय तहमा प्रतिस्पर्धी जनशक्तिको उत्पादन गर्ने उद्देश्य पूरा गर्नयस विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निरन्तर सफलता मिलोस्, म फेरी पनि शुभेच्छा प्रकट गर्दछु ।

यस गरिमामय समारोहलाई सम्बोधन गर्ने अवसर दिनु भएकोमा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिवारलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु ।

धन्यबाद ।

के.पी. शर्मा ओली २०७२ फागुन ०१ गते ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप