सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ब्लाटर राजको अन्त्यः जियानी नयाँ फिफा अध्यक्ष निर्वाचित

शनिबार, १५ फागुन २०७२, ०३ : २१
शनिबार, १५ फागुन २०७२

जुरिच —जियानी इन्फान्टिनो विश्व फुटबलको नियामक निकाय फिफाको अध्यक्ष पदमा निर्वाचित भएका छन् । युइएफएका महासचिव समेत रहेका इन्फान्टिनो नजिकका प्रतिद्वन्द्वी शेख सलमान बिन इब्राहिम अल खालिफाभन्दा २७ मत बढी ल्याउँदै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनले ११५ भोट ल्याएका थिए । राजकुमार अलि अल हुसेनले ४ मत ल्याए भने जेरोम स्याम्पेनले शुन्य मत ल्याए । सन् १९९८ देखि लगायत फिफाको अध्यक्ष रहेका सेप ब्लाटरले अघिल्लो वर्ष फिफाबाट राजीनामा दिएका थिए । पछि, उनलाई ६ वर्षका लागि फिफाबाट निलम्बन गरिएको थियो । ४५ वर्षीय इन्फान्टिनो स्वीटजरल्याण्डको भालाइस क्षेत्रस्थित ब्रिंगका निवासी हुन् । उनी वकिल पनि हुन् । उनको सहर ब्लाटरको भिस्पभन्दा मात्र ६ माइल टाढा रहेको छ । युइएफएका प्रमुख मिचेल प्लाटिनीले अध्यक्ष पदका लागि दाबेदारी प्रस्तुत गर्न असमर्थ भएपछि उनी अध्यक्ष पदको निर्वाचनमा होमिएका थिए । निर्वाचित भएपछि निकै भावुक सम्बोधन गर्दै उनले फिफाको सम्मान पुनस्र्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । ५ जना प्रतिस्पर्धीबीच अध्यक्ष पदको निर्वाचनमा भिडन्त हुने भनिए पनि दक्षिण अफ्रिकाका टोक्यो सेक्सवालेले जुरिचमा अन्तिम समयमा आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए । पहिलो चरणको मतदानमा इन्फान्टिनोले अग्रता लिए पनि कुनै नतिजा निस्केन । त्यसपछि दोस्रो चरणको मतदानमा उपलब्ध २०७ मतको सामान्य बहुमत १०४ मतभन्दा बढी मत ल्याउँदै इन्फान्टिनो अध्यक्ष पदका लागि निर्वाचित भए । सन् १९७४ पछि फिफामा पहिलो पटक दुई चरणमा मतदान भएको हो । इन्फान्टिनोको जीतमा फिफा पूर्वअध्यक्ष ब्लाटरले समेत बधाई दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप