सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ओबामाले नेपाललाई सुविधा दिन हस्ताक्षर गरेको विधेयकबाट फाइदा लिन रणनीति बनाउन सुझाव

शनिबार, १५ फागुन २०७२, ०३ : ४७
शनिबार, १५ फागुन २०७२

वासिङ्टन डिसी - अमेरिकी राष्ट्रपति वाराक ओबामाले नेपालको निर्यातलाई बढावा दिने गरी हस्ताक्षर गर्नुभएको ट्रेड फेसिलिटेसन तथा ट्रेड इन्फोर्समेन्ट विधेयक २०१५ मार्फत अधिकतम लाभ लिन नेपाल सरकारले तत्काल रणनीति बनाउन आवश्यक रहेको अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले बताएका छन् ।

राजदूत कार्कीले भने– “ अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच बढाउन यसले ऐतिहासिक काम गरेको छ, अब यसबाट लाभ लिने हाम्रो कार्यक्षेत्रभित्र पर्छ ।”

राजदूत कार्कीले यो सुविधा पाउन अरु देशले पनि प्रयास गरिरहेको भन्दै अब नेपाल सरकारले सम्बन्धित मन्त्रालय, उद्यमी व्यवसायीसँग छलफल गरेर रणनीति बनाउनुपर्ने बताए । कार्कीले भने – “यो विधेयकले नेपालका उद्यमी व्यवसायी र बैंकिङ क्षेत्रको क्षमता अभिवृद्धिको विषयसमेत समेटेकाले नेपालका लागि बढी लाभदायक छ ।

नेपालको व्यापार सहुलियतअन्तर्गत नेपालबाट आगामी १० वर्षसम्म आफ्ना उत्पादन अमेरिकी बजारमा पहुँच पुग्नेछ । यसका लागि अमेरिकी सरकारले निर्यात प्रवद्र्धनका लागि क्षमता अभिवृद्धि गर्न प्राविधिक सहयोग, निर्यातका लागि लगानी गर्न तालिम, तथ्याङ्क तथा प्रकाशनका लागिसमेत सहयोग गर्नेछ ।

राजदूत कार्कीले आफूले विगतमा अमेरिकी राष्ट्रपति वाराक ओबामा र विदेशमन्त्री जोन केरीसँगको भेटका अवसरमा पनि यसका लागि अनुरोध गरेको उल्लेख गरे ।

नेपालले आफ्नो उत्पादनलाई गुणस्तरीय बनाउनका लागि विश्व व्यापार सङ्गठनले तोकेको उत्पादनको नियमलाई पूर्ण आत्मसात् गर्नुपर्नेछ ।

उक्त विधेयक गत डिसेम्बर ९ तारिखमा काँग्रेसमा प्रस्तुत भएको थियो, फेब्रअरी ११ तारिखका दिन सिनेटले पास गरेर राष्ट्रपति वाराक ओबामाले फेब्रुअरी २४ मा हस्ताक्षर गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप