मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

फष्टाएन होमस्टे

सोमबार, १७ फागुन २०७२, १६ : ५४
सोमबार, १७ फागुन २०७२

काठमाडौँ - ग्रामीण पर्यटनको दरिलो आधार मानिने होमस्टे घरबास कार्यक्रमको व्यावसायिक सम्भावना रहे पनि उचित व्यवस्थापन तथा प्रवद्र्धन हुन सकेको छैन ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण बनेको होमस्टे सेवाको गुणस्तरीय व्यवस्थापन तथा बजारीकरण गर्नसके मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ । अनुपम प्राकृतिक सम्पदा, भौगोलिक विविधता, बहुभाषिक सामाजिक तथा सांस्कृतिक विविधता एवम् मनोरम सौन्दर्यताले भरिपूर्ण नेपाल विश्व पर्यटनको आकर्षण मानिन्छ ।

त्यसोत, नेपालको पर्यटन व्यवसायको सुरुवात नै होमस्टेबाट भएको पाइन्छ, तथापि पर्यटन बजारको लामो खुड्किलो पार गरिसक्दा पनि यो व्यवसायले व्यावसायिक फड्को मार्न सकेको छैन । भूकम्प र नाकाबन्दीले होमस्टेलाई थप शिथिल बनायो ।

अनेकौँ चुनौतीका बीच पनि व्यावसायिक सम्भावना भने जीवितै छ, होमस्टेको । नेपालमा पर्यटकीय चहलपहल बढेसँगै होमस्टे व्यवसाय फस्टाउँदै गएको छ, तर व्यावसायिक गुणस्तर कायम हुन नसक्दा यो प्रभावकारी छैन । पर्यटनको अभिन्न अङ्ग होमस्टेको अथाह सम्भावना भए पनि व्यावसायिक प्रवद्र्धनमा ध्यान नपुगेकाले ओझेलमा परेको बताउँछन्, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी । होमस्टेलाई गुणस्तरीय व्यवस्थापन गरी पर्यटकीय सम्पदाको रुपमा विकास गर्नसके दिगो पर्यटनको रुपमा आर्थिक लाभ लिन सकिने उनको भनाइ छ ।

धार्मिक यात्राका क्रममा अन्यत्र बास बसी कोसेली दिने, हिमाल चढ्ने आरोही, पदयात्री पनि बाटोमा पर्ने स्थानीय जनताकै घरमा बास बस्ने र त्यही उत्पादन भएका खानेकुरा खाने प्रचलन थियो । त्यसलाई सरकारले पर्यटकीय उत्पादनकै रुपमा विकास गर्ने उद्देश्यले विसं २०६७ बाट होमस्टे दर्ता गर्ने व्यवस्था गरेपछि यो व्यावसायिक रुपमा अघि बढ्यो । देशका ३१ जिल्लामा करिब १४५ संस्थागत होमस्टे छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महतले होमस्टेलाई गुणस्तरीय र व्यावसायिक ढङ्गले दीर्घकालीन रुपमा अगाडि बढाउनसके पर्यटनका माध्यमबाट आर्थिक सम्वृद्धि हासिल गर्न सकिने बताए । “होमस्टे पर्यटनको दरिलो आधार हो, यसलाई गुणस्तरीय व्यवसायका रुपमा अघि बढाउन मन्त्रालयले बजेटसहित योजना कार्यक्रम अघि बढाएको छ । होमस्टेलाई व्यवसायीले प्रचारमुखी हैन साच्चिकै व्यवहारिक बनाउनुपर्छ,” –होमस्टे एसोसिएसन नेपालले यहाँ आयोजना गरेको अन्तक्र्रियामा उनले भने ।

आन्तरिक पर्यटकभन्दा पनि विदेशी पर्यटकलाई होमस्टेमार्फत आकर्षण गर्नसके मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने राज्यमन्त्री महतको भनाइ छ । होमस्टे एसोसिएसन नेपालका अध्यक्ष भीम केसीले विविध चुनौतीका बीच पनि व्यावसायिक सम्भावना बोकेको होमस्टे प्रवद्र्धनका लागि निजी तथा सामुदायिक होमस्टे सञ्चालन गरिनुपर्ने बताए ।

ग्रामीण पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको तारागाउँ विकास समितिका अध्यक्ष नारद लुइँटेलले होमस्टेलाई व्यवस्थित र बजारीकरणका लागि योजनाबद्ध कार्यक्रम ल्याइने बताए । हालै नवलपरासीको अमलटारीमा सम्पन्न होमस्टे एसोसिएसन नेपालको प्रथम राष्ट्रिय सम्मेलन एवम् कार्यशाला गोष्ठीले भीम केसीको अध्यक्षतामा २५ सदस्सीय नयाँ कार्यसमिति चयन गर्नुका साथै २१ बुँदे घोषणापत्र जारी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप