सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय प्रतियोगिताको व्यग्र प्रतीक्षा

बुधबार, १९ फागुन २०७२, ११ : ५६
बुधबार, १९ फागुन २०७२

भरतपुर-राष्ट्रिय खेलकुदका लागि सर्वव्यापी एउटा नारा छ, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद । खेलले व्यक्तिलाई स्वस्थ राख्छ । खेलले नै राष्ट्रको पहिचान उचो गर्छ ।

खेलले दिने पहिचान अरु कयौं कीर्तिले दिने पहिचानभन्दा अग्लो हुन्छ । खेलले भौगोलिक सीमाना पनि हिसाब गर्दैन । संसारको एउटा कुनामा भएको खेलको जानकारी अर्को कुनामा तुरुन्तै हुन्छ । खेलसँगै ठाउँको पहिचान पनि बढ्छ । त्यही भएर नै जुनसुकै ठूला खेल आयोजना गर्न विश्वभरै तछाडमछाड हुने गर्छ । यसले ठाउँ विशेषको विकास तथा अर्थतन्त्र बलियो बनाउन पनि सहयोग गर्छ ।

यही पहिचानको दौडमा भरतपुरको एउटा कुना पटिहानीका युवाहरु अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगितामा जुटेका छन् । हुन त यो प्रतियोगिताका इतिहास झण्डै ४ दशकको छ । तैपनि यो स्तरको प्रतियोगिता पहिलोपटक आयोजना गरिएकाले पनि यहाँ बेग्लै उत्साह छ । स्थानीयस्तरको पद्मोदय युवा क्लबले पद्मोदय अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता–२०७२ को व्यग्र तयारी गरिरहेको छ । आगामी फागुन २३ देखि २६ गतेसम्म प्रतियोगिता गरिदै छ । “यो प्रतियोगिताका लामो इतिहास छ”, क्लबका अध्यक्ष रामहरि सेढाईंले भने, “त्यसको आडमा हामी थप उचाइ लिन तल्लीन छौं ।”

यसको इतिहास भनेको ३७ औं वर्षदेखि निरन्तर भलिबल प्रतियोगिता गरिरहनु हो । चाहे त्यो स्थानीयस्तका हुन्, क्षेत्रीय, जिल्ला या राष्ट्रियस्तरका हुन् । “यति लामो समयसम्म निरन्तर चलेको प्रतियोगिता यो मात्रै हो”, सेढाईंले भने, “यसो भन्न पाउँदा पटिहानीका सबै गाउँले गर्व महसुस गर्छन् ।” २०३६ सालमा स्थानीयले शिवरात्रिको छेकोमा स्थानीय युवा बटुलेर भलिबल खेलाए । विस्तारै त्यसलाई यही अवसरमा वर्सेनि गरियो । पछि क्षेत्रीयस्तरको बनाइयो । पद्मोदय युवा क्लब आधिकारिकरुपमा दर्तावाल बनेपछि स्तर बढ्यो । गतवर्ष राष्ट्रियस्तरमै बढुवा गरियो । अहिले अझै अन्तर्राष्ट्रियकरणको तयारी छ ।

भरतपुर–२७, पदमपोखरी, पटिहानीका एक हुल युवा हिजोआज थोरै सुत्छन् । सवेरैदेखि अबेर रातिसम्म खटिरहनुको एउटै उद्देश्य हो देश बाहिरबाट आउने खेलाडीलाई उत्कृष्ट आतिथ्य गर्दै प्रतियोगिता भव्य गर्नु । “प्रतियोगिता भव्य गर्न कुनै कसर बाँकी राख्दैनौं”, आयोजक क्लबका प्रवक्ता विकास कार्की भन्छन्, “सबैलाई फरक–फरक जिम्मेवारी छ, आफ्नो जिम्मामा कसैले कमी हुन दिएका छैनन् ।”

प्रतियोगितामा नेपालका ३ विभागीय टिमहरु नेपाल पुलिस क्लब, नेपाल आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लब आउनेछन् । उनीहरुसँगै भारत, बंगलादेश र भुटानका टिम आउने पक्का भइसकेको नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङले जानकारी दिए । “विदेशी टिममा राष्ट्रिय टिमका खेलाडीहरु हुनेछन्”, उनले भने, “भुटानबाट त राष्ट्रिय टिम नै आउने सम्भावना छ ।”

पाहुनालाई व्यवस्थित गर्न पटिहानीबासी तयार रहेको क्लबका वरिष्ठ उपाध्यक्ष सञ्जीव पाण्डे बताउँछन् । प्रतियोगिता गर्दागर्दै पाहुनाको सत्कार गर्न पटहानीबासीको बानी परेको उनी बताउँछन् ।

युवा उमेरमा लत लाग्छ । लत सकारात्मक वा नकारात्मक दुवै हुन्छन् । नकारात्मक लतले बानी बिगार्छ । समय बर्बाद गर्छ । त्यसलाई कूलत भनिन्छ । कूलतमा फस्ने बेला युवा नै हो । तर, जब युवाले सकारात्मक सन्देश प्रवाह गर्छ, त्यहाँ कूलतको कुनै ठाउँ हुँदैन । पटिहानीका युवा नै सु–लतमा छन् त अग्रज दंग पर्ने नै भयो । “यहाँका युवा यति सक्रिय छन् कि”, स्थानीय दिननाथ आचार्य भन्छन्, “युवाले खेल्छ, युवाले नै खेलाउँछ भने यसले स्थानीय विकासमा पनि सघाउँँछ ।” आफ्नो गाउँमा यति ठूलो प्रतियोगिता हुँदा यसले चेतना बढाउन सघाउने उनलाई विश्वास लाग्छ । “यो चितवनको मात्रै होइन, नेपालकै चिनारी हो”, उनी भन्छन् ।

त्यस्तै छिमेकी संस्था कञ्चन समाज विकास परिषद्का अध्यक्ष प्रेम दाहालपनि गाउँस्तरमा ठूलो प्रतियोगिता हुँदा हौसला मिलेको बताउँछन् । “आयोजक जोसुकै होउन्”, उनले भने, “यो चितवनबासीको कार्यक्रम हो, सबैको गौरव हो ।” पटिहानीमा प्रतियोगिता गर्दा यसले ठाउँ विशेषसँगै समग्र चितवनको पर्यटन विकासमा पनि टेवा पु¥याउने उनी बताउँछन् ।

४ दिने प्रतियोगिता नजिकै आइसक्दा तयारी पनि अन्तिममा पुगेको छ । क्लब परिसरमा गरिने प्रतियोगिताका लागि २ वटा कोर्ट तयार गरिएका छन् । अस्थायी प्याराफिट बनाएर दर्शक व्यवस्थित गरिदैछ । तिनलाई विभिन्न मूल्यका टिकट राखिनेछन् । प्रतियोगितालाई सीसीटिभीको निगरानीमा राख्ने तयारी पनि गरिदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप