सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डिनर मिटिङपछि लाग्यो माओवादी एकताबारे टुङ्गो

शुक्रबार, २१ फागुन २०७२, १८ : २७
शुक्रबार, २१ फागुन २०७२

काठमाडौँ -एकीकृत नेकपा (माओवादी) र नेकपा(क्रान्तिकारी माओवादी)बीच आगामी चैतको पहिलो साताभित्र एकताको विषय टुङ्ग्याउने सहमति भएको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, माओवादी अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाबीच बिहीबार राति पार्टी एकताको विषयलाई धेरै नलम्ब्याउने सहमति भएको हो ।

माओवादी केन्द्रीय स्कुल ब्युरोले ललितपुरको कुपन्डोलमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम समापनमा आज महासचिव थापाले कार्यकर्तालाई एमाओवादीसँग एकताका विषयमा निर्णय गर्न केही दिनभित्रै केन्द्रीय समितिको बैठक बस्न लागेको जानकारी दिए । उनले भने, “एकताको विषय उठेको दुई वर्ष पुग्न थाल्यो, सधँै यही कुरा दोहो¥याएर बस्नुभन्दा एकता हुने वा नहुने भन्ने चैतको पहिलो साताभित्र टुङ्ग्याउने गरी अगाडि बढेका छौँं ।”

बिहीबार राति तीन नेताबीच दुवै पक्षले एकता विरोधी अभिव्यक्ति र कार्यशैली नअपनाउनेमा सहमति भएको उनले जानकारी दिए । माओवादी अध्यक्ष वैद्यले यही फागुन १४ गते प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै एमाओवादीसँग एकताको विषयमा कामभन्दा हल्ला धेरै भएको टिप्पणी गर्दै कसैलाई प्रधानमन्त्री बनाउन नभई क्रान्ति पूरा गर्र्ने सर्तमा मात्रै एकता हुने बताएका थिए ।

सोही प्रशिक्षण कार्यक्रमको आज समापन गर्दै महासचिव थापाले चैतको पहिलो हप्ताभित्र एकताको विषय टुङ्गिन लागेको बताएपछि माओवादी कार्यकर्ताबीच उत्सुकता छाएको छ । महासचिव थापाले एकताको विषयमा आफू र अध्यक्ष वैद्यबीच कुनै विवाद नरहेको गरे ।

उनले एकताका लागि एमाओवादीले केही दिनअघि सबै विषयमा स्पष्ट पार्दै पत्र पठाइसकेको र पत्रका बुँदा सकारात्मक भएको टिप्पणी गरे । उनले भन्नुभयो,‘‘एमाओवादीको पत्र हेर्दा नयाँ संविधान् राज्यसत्ताको स्वरुप र राष्ट्रियताका विषयमा उनहरु हाम्रो पार्टीको धारणासँग धेरै नजिक आइपुग्नुभएको छ, तर द्विअर्थी भएका केही शब्द अझ प्रस्ट पार्न आवश्यक छ ।’’

एमाओवादीले पठाएको पत्रको केही दिनमै आफ्नो पार्टीले जवाफ पठाउने तयारी गरिरहेका उनको भनाइ थियो । उनले एमाओवादीले भन्दै आएको अबको समाजवादी आन्दोलनको स्वरुप र आफूहरुले भन्दै आएको जनवादी आन्दोलनको स्वरुप दुवै असफल साबित भइसकेकाले अब नयाँ रणनीति ल्याउन आवश्यक भएकामा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप