सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आइतबारबाट बिहान ७ बजेदेखि इन्धन बाँडिने

शनिबार, २२ फागुन २०७२, २३ : ०२
शनिबार, २२ फागुन २०७२

काठमाडौँ - साँझको समयमा इन्धन बिक्री वितरण गर्दा अनियमितता एवम् कालोबजारीसमेत बढेको गुनासो आएपछि नेपाल आयल निगमले आइतबार बिहानदेखि नै बिक्री गर्न पेट्रोल पम्पलाई निर्देशन दिएको छ ।

निगमले बिहानबाट साँझसम्म नै इन्धन उपलब्ध गराउने र त्यसका लागि पुग्दो मात्रामा इन्धन दिने तयारी गरेको छ ।

इन्धन वितरणमा कोटा प्रणाली खारेज गरेको भए पनि पेट्रोल पम्पका अगाडि लामा–लामा लाइन उस्तै रहेको भन्दै निगमले आइतबारबाट नयाँ प्रणाली लागू गर्ने भएको हो ।

निगमले राजधानीका कारबाहीमा परेका पेट्रोल पम्पबाहेक अरुलाई बिहान ७ बजेदेखि नै इन्धन बिक्री वितरण गर्न निर्देशन दिएको छ ।

निगम प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले पम्पअगाडि लामा लाइन रहने र रातिको समयमा इन्धन वितरण गर्दा अनियमितता भयो भन्ने गुनासो पनि व्यापक रुपमा आएकाले बिहानबाटै उपलब्ध गराउन निर्देशन दिइएको जानकारी दिए ।

यस्तै, गृहमन्त्रालयको समन्वयपछि सुरक्षा निकायका पेट्रोल पम्प चौबीसै घन्टा सञ्चालन गरिनेभएको छ । उपत्यकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पम्प सञ्चालनमा रहेका छन् । गृहमन्त्री शक्तिबहादुर बस्नेतले इन्धन वितरणमा पारदर्शी प्रणाली अपनाउन निर्देशन दिएलगत्तै उपत्यकाका सुरक्षा निकायका पम्पबाट चौबीसै घन्टा उपलब्ध गराउने भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र आपूर्ति मन्त्रालयको निर्णयपछि निगमले गत साताबाट चारपाङ्ग्रे सवारी साधन र मोटरसाइकलमा लाग्दै आएको कोटा खारेज गरेको थियो ।

निर्देशनअघि मोटरसाइकललाई पाँच र चारपाङ्ग्रे सवारी साधनलाई १५ लिटर इन्धन उपलब्ध गराइँदै आएको थियो । निगमले मागअनुसार भारतबाट सहज मात्रामा इन्धन आयात नभएको जनाउँदै आएको छ ।

वीरगन्ज नाकाबाट सहज अवस्थामा २६ लाख लिटर इन्धन आयात हुनुपर्नेमा हाल औसतमा २० लाख लिटरमात्रै आयात भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप