सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिटीको लिग जित्ने आशा कायमै, आर्सनल टोटनहम बराबर

शनिबार, २२ फागुन २०७२, २३ : २३
शनिबार, २२ फागुन २०७२
 

म्यान्चेस्टर — म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई पराजित गर्दै प्रिमियर लिग जित्ने दौडमा आफूलाई कायमै राखेको छ । जितसँगै सिटीले लिगमा लागातर तीन खेलमा हारको श्रृंखला अन्त्यसमेत गरेको छ । खेलको ४८ औं मिनेटसम्म भिल्लाले सिटीलाई रोके पनि याया टुरेले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यस लगत्तै सर्जियो एगुएरोले अग्रता दोब्बर बनाए । *डेभिड सिल्भाको पासमा एगुएरोले सिटीको तेस्रो गोल थपे भने अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका राहिम स्टर्लिङले चौंथो गोल गरे । खेलको अन्तिमतिर एगुएरोले पाएको पेनाल्टी मिस गरेपछि सिटी ४—० को जीत हासिल गर्यो । जीतपछि २८ खेलबाट सिटीको ५० अंक रहेको छ । टोटनहम हटस्पर्स र आर्सनल बराबरी खेलेपछि एक खेल कम खेल्दा दुवै टोलीसँगको दुरी घटाएको छ । उता, लण्डन डर्बीमा स्पर्स र आर्सनल २—२ को बराबरीमा रोकिएको छ । निकै रोमाञ्चक बनेको खेलमा आर्सनलले एरोन रामसेको गोलको मद्दतले पहिलो हाफमा अग्रता लिएको थियो । तर, दोस्रो हाफमा आर्सनल १० खेलाडीमा सिमित बनेको फाइदा उठाउँदै टोनी एल्डरविल्ड र ह्यारी केनको गोलको मद्दतले स्पर्सले २—१ को अग्रता लियो । खेलको ७६ औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गरेपछि आर्सनल पुनः खेलमा फर्कियो । बराबरीपछि स्पर्सले लिगको शीर्ष स्थानमा जाने अवसर गुमायो । बराबरीको फाइदा लेस्टर सिटीलाई पुगेको छ । २९ खेलबाट ५५ अंकसहित स्पर्स दोस्रो तथा ५२ अंकसहित आर्सनल तेस्रो स्थानमा रहेको छ ।

* सच्याइएको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप