मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

११ बुँदे घोषणापत्र जारी गर्दै सकियो नाटोजको प्रथम भेला

बुधबार, २६ फागुन २०७२, १५ : ५६
बुधबार, २६ फागुन २०७२

काभ्रे  (बल्थली) – राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले ११ बुदे बल्थली घोषणा पत्र सार्वजनिक गरेको छ । हिजो काभ्रेको बल्थलीमा अवस्थित बल्थली इको हिल रिसोर्टमा सम्पन्न संघको पहिलो पूर्ण बैठक उद्घाटन समारोहीबीच सो घोषणा पत्र जारी गरिएको हो ।

कार्यक्रमलाई उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री आनन्दप्रसाद पोखरेलले नाटोजले अघि सारेको हरेक कार्यक्रम अत्यन्तै सह्रानीय भएको बताउँदै यसलाई कार्यान्वयनको लागि सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नेपाल प्राकृतिक, साँस्कृतिक, धार्मिक सम्पदाको धनी रहेको भन्दै उनले लगानीको वातावरण निर्माण गरिनुपर्नेमा जोड दिए । लगानीकर्ताको रुपमा विदेशबाट आउने ठूला ठूला लगानी मात्रै नभएर एउटा गाउँको डाँडामा रिसोर्ट, होमस्टे तथा सानो होटलहरुमा स्वतस्र्फुत रुपमा भएको लगानी सबैभन्दा महत्वपूर्ण लगानी भएको उनको भनाइ थियो । भौतिक सुविधा, सुरक्षा, खानपीन र प्रवद्र्धनलाई व्यवस्थित बनाउन नसक्नुले पर्यटन विकास सोचेअनुरुप गर्न नसकेको भन्दै मन्त्री पोखरेलले यसतर्फ सम्बद्ध सबै पक्षको ध्यान जानुपर्नेमा उनको जोड थियो ।

एमाले पर्यटन विभाग प्रमुख सुर्य थापाले भूकम्पपछि पनि नेपालको पर्यटन क्षेत्र सुरक्षित छ भन्ने कुरालाई प्रभावकारी रुपमा प्रवाह गर्नको निम्ति आउँदो नयाँ वर्ष २०७३ वैशाख १२ गतेको मिति पारेर विशेष कार्यक्रम आयोजना गर्नुपर्ने बताए ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले नेपालको पर्यटन प्रवद्र्धनमा पर्यटन पत्रकारहरुको भूमिका अत्यान्तै महत्वपूर्ण रहेको बताउँदै पर्यटन बोर्डमार्फत गर्नुपर्ने सबै खाले सहयोग गर्न तयार रहेको बताए ।

११ बुँदे घोषणा पत्रमा भूकम्पपछिको पर्यटन प्रवद्र्धन र विकासका निम्ति तत्कालिन र दीर्घकालिन गुरुयोजना तय गरिनुपर्ने, पर्यटन पत्रकारहरुको लागि स्थापित नाटोज पर्यटन पत्रकारिता कल्याणकारी कोष बृद्धिको लागि सरकार र पर्यटन विभाग जिम्मेवार हुनुपर्ने, नेपालको संविधान २०७२ले अंगीकार गरेको राज्यपुर्नसंरचनाअनुरुप पर्यटन प्रवद्र्धन र विकासका योजना अघि बढाइनुपर्ने, पर्यटन प्रवद्र्धनहरुको भूमिकालाई संस्थागत रुपमा प्रोत्साहन गर्नुपर्ने, स्वदेश तथा विदेशमा हुने कार्यक्रमहरुमा पत्रकारहरुको सहभागिताको लागि संस्थागत सहकार्य गरिनुपर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी पर्यटन पत्रकारिता पेशालाई सम्मानित र आकर्षक पेशाको रुपमा स्थापित गर्न सम्बन्धित सरोकारवालाहरु गम्भिर हुनुपर्ने तथा पर्यटन पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि तालिम तथा अन्य कार्यक्रमहरु सञ्चालन गर्दै पर्यटन सम्बृद्धिको लागि खोज पत्रकारिता नारालाई व्यवहारमा उतार्न सामुहिक पहल गर्नुपर्नेलगायत पनि घोषणा पत्रमा समेटिएको छ ।

नाटोज अध्यक्ष शिव अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव प्रकाश खालिङले घोषणापत्र बाचन गरेका थिए । कार्यक्रममा पर्यटन व्यवसायीहरु मोहन लम्साल, माधव सुवेदी, यदु लामिछाने, शिव लामिछाने, हिराकाजी तामाङ, नाटोजका सल्लाहकारद्धय रमेश त्रिपाठी र मनोजकुमार श्रेष्ठ, टुर्गानका अध्यक्ष नगेन्द्र चन्द, पूर्वअध्यक्ष हरेराम बराल, महासचिव हेमविक्रम शाही, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदिप न्यौपाने लगायत तीन दर्जन पर्यटन पत्रकारहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप