मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मुस्ताङमा पर्यटकको सङ्ख्या ४० प्रतिशतले घटे

मङ्गलबार, ०२ चैत २०७२, १५ : ५३
मङ्गलबार, ०२ चैत २०७२

मुस्ताङ– जिल्लामा हवाई मार्ग हुँदै आउने पर्यटकको सङ्ख्या घटेको देखिएको छ ।

नयाँ याम सुरु भए पनि हवाई मार्ग हुँदै आउने पर्यटकको सङ्ख्या घटेको पाइएको छ । जनवरी र फेब्रुअरी महिनामा हवाई मार्ग हुँदै आउने पर्यटकको सङ्ख्या करिब ४० प्रतिशतले घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का पर्यटन सहायक बेलबहादुर पुनले जानकारी दिए ।

गत फागुन १२ गते भएको तारा एयरको जहाज दुर्घटना र निरन्तर मौसम प्रतिकुल हुँदा हवाई पर्यटकको सङ्ख्या घटेको हो । “सरदर दैनिक ४० भन्दा बढी पर्यटक हवाई मार्ग हुँदै आउने गरेका थिए, अहिले त्यो घटेर २० मा झरेको छ”, उनले भने । एक्यापका अनुसार, सन् २०१६ को जनवरीमा ३६५ पर्यटक भित्रिएकामा ५० प्रतिशत हवाई मार्ग हुँदै आएका थिए ।

फेब्रुअरीमा ६१३ जना भ्रमणमा आएका थिए । उनीहरु अधिकांश स्थलमार्ग हूँदै आएको बताइएको छ । भूकम्प र नाकाबन्दीपछि अहिले यहाँको पर्यटन व्यवसाय सामान्य बन्दै गएको छ । पोखरा–बेनी–जोमसोम सडक मार्ग अत्यन्त जोखिमपूर्ण रहेका कारण हवाई मार्ग उपयुक्त विकल्पको रुपमा रहँदै आएको छ ।

वार्षिक भित्रिने करिब ४० प्रतिशत पर्यटक हवाई मार्ग हुँदै आउने गरेको एक्याप जोमसोमका प्रमुख विदुर कुइँकेल बताउँछन् । तिब्बती कला संस्कृतिको अध्ययन, पदयात्रा, मुक्तिनाथ, दामोदर कुण्ड जस्ता धार्मिकस्थल, फरक भू–बनोट भएको लोमान्थाङ क्षेत्र र प्राकृतिक सुन्दरतामा रमाउन यहाँ बर्सेनि ५० हजारको हाराहारीमा पर्यटक आउने गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप