सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

टी २० विश्वकप : न्युजिल्याण्डका लागि खनेको खाल्डोमा आफै पर्यो भारत

मङ्गलबार, ०२ चैत २०७२, २३ : २७
मङ्गलबार, ०२ चैत २०७२

काठमाडौं — ‘आजको खेलपछि रवि शास्त्रीले पिचको क्युरेटरलाई के भन्छन् होला ?,’ न्युजिल्याण्ड र भारतबीच आइसीसी टी २० विश्वकपको खेलको दौरान एक क्रिकेट फ्यानले ट्वीटरमा भारतका प्रशिक्षकमाथि प्रश्न उठाएका थिए । उनीमात्र होइन इंग्ल्याण्डका पूर्व कप्तान माइकल भनदेखि वेस्ट इन्डिजका पूर्व कप्तान ब्रायन लारा सबैले नागपुर स्टेडिमको पिचमाथि प्रश्न गरिरहेका थिए । किनभने पिचलाई स्पीन बलरहरुलाई सुहाउँदो हुने गरी तयार गरिएको थियो ।

भारतका ब्याटसम्यानहरुलाई विश्वमै स्पीन बलिङबिरुद्ध राम्रोसँग खेल्नेहरु मध्येमा मानिन्छ । त्यसमा पनि टोलीमा रविचन्द्र आश्विन र रविन्द्र जडेजाजस्ता टी २० का सफल स्पीनरहरु रहेका छन् । उता, न्युजिल्याण्डको पिच भने धेरै बाउन्स हुने र तीव्र गतिका बलरहरुलाई उपयुक्त हुने पिच मानिन्छ । न्युजिल्याण्डका बलर र ब्याटसम्यानहरु पनि त्यही अनुकुलताका रहेका छन् । त्यही भएर भारतले नागपुरको पिच आफूलाई अनुकुल हुने अनुमानका साथ तयार गरेको थियो । तर, अन्त्यमा त्यही कुरा उसैलाई प्रत्युत्पादक साबित भयो । भारतले विश्वकप टी २० को आफ्नो पहिलो खेल न्युजिल्याण्डसँग लज्जास्पद हार बेहोर्यो । न्युजिल्याल्याण्डले प्रस्तुत गरेको १ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा भारत मात्र ७९ रनमा समेटियो र खेल ४७ रनले हार्न पुग्यो । भारतमा भएको टी २० खेलमा यो सबैभन्दा कम स्कोर हो र भारतको दोस्रो कम स्कोर पनि हो । भारतका तीन खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सके । मिचेल स्यान्टनरको बलमा आउट हुनअघि कप्तान महेन्द्र सिंह धोनीले सर्वाधिक ३० रन बनाए भने विराट कोहलीले २३ तथा रविचन्द्र आश्विनले १० रन बनाए । न्युजिल्याण्डका लागि स्यान्टनरले निर्धारित ४ ओभरमा मात्र ११ रन खर्चेर सर्वाधिक ४ विकेट लिए भने इस सोधीले ३ विकेट लिए । अर्का स्पीनर नाथन म्याकुलमले २ विकेट लिए । यसअघि कोरे एन्डरसनको ३४ रनको मद्दतले न्युजिल्याण्डले टस जितेर पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २६ रन बनाएको थियो । त्यस्तै लुक रोचीले २१ तथा म्यान अफ द म्याच स्यान्टनरले १८ रन को योगदान दिए । भारतका लागि पाँच बलरहरुले १—१ विकेट लिए । न्युजिल्याण्डका दुई खेलाडी रन आउट भएका थिए । यसअघि, पिचलाई अध्ययन गरेपछि न्युजिल्याण्डका कप्तान केन विलियमस्ले दुई तीव्र गतिका बलर टिम साउथी र ट्रेन्ट बोल्टलाई हटाएर दुई स्पिनरलाई टिममा समावेश गराएका थिए । अन्ततः उनको निर्णय सही साबित भयो । भारतले अहिलेसम्म न्युजिल्याण्डविरुद्ध टी २० को कुनै खेल जितेको छैन । दुई देशबीच भएका ५ खेलमा ५ मा नै न्युजिल्याण्ड विजयी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप