सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राजकुमार ह्यारीको आग्रह : नेपाल खुला छ, नेपाल भ्रमण गर्नुहोस् 

शनिबार, ०६ चैत २०७२, २२ : २३
शनिबार, ०६ चैत २०७२

काठमाडौँ - नेपालको औपचारिक भ्रमणमा रहेका बेलायतका राजकुमार ह्यारीले नेपाललाई सहयोग गर्न चाहने विश्वका समस्त मानव समुदायलाई नेपाल व्यवसायका निम्ति खुला छ भन्दै नेपालको पुनः भ्रमण गर्न आग्रह गरेका छन् ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको द्विशतवार्षिकीको अवसरमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले आज साँझ आफ्नो सम्मानमा यहाँ आयोजना गरेको स्वागत समारोहमा राजकुमारले त्यस्तो अनुरोध गरेका हुन् ।

[caption id="attachment_38452" align="alignleft" width="840"] भूकम्पपीडित नेपालीका लागि सक्दो सहयोगको प्रतिबद्धता व्यक्त गर्दै उनले नेपाल र नेपालीको सङ्कल्प, सहनशीलता र लोकप्रियतालाई अझ चम्काउने बताए । भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति पनि राजकुमार हेनरीले श्रद्धाञ्जलि व्यक्त गरे ।[/caption]

गोर्खा सैनिकलाई विश्वभर अति प्रख्यात राजदूतको सङ्ज्ञा दिँदै राजकुमार हेनरीले भयानक बहादुरी एवम् विनम्रता र अनुकम्पपूर्ण उनीहरूको सौर्यको प्रशंसा गरे । साथै उनले बेलायती राजमुकुटको रक्षामा प्राण उत्सर्ग गरेका वीर गोर्खाप्रति श्रद्धाञ्जलि अर्पण गरे ।

नेपालको यो मेरो भ्रमण निजी पनि हो, वीर गोर्खा सैन्यका केही व्यक्तिलाई भेट्ने अवसर पाएकामा म आभारी छु – उनले भने ।

आफ्ना मातापितासहित आफ्नो परिवारका धेरै सदस्यले नेपालको भ्रमण गर्नुभएको स्मरण गर्दै उनले आफ्नी हजूरआमाको राज्यारोहणका दिन नै तेञ्जिङ नोर्गे र सर एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरामाथा आरोहरण गरेको खबर सार्वजनिक भएर विश्वको ध्यान नेपालतर्फ आकृष्ट भएको बताए । “योभन्दा ठूलो शीर्ष समाचार अरु के हुन्छ” राज्यारोहण र सगरमाथामा मानवले प्रथम पाइला हालेको दिनको नेपालको प्रचारबारेको विशिष्टता प्रस्तुत गर्दै उनले भने ।

नेपालको सौन्दर्यसँग पहिलो पटक साक्षात्कार गर्न पाएको उल्लेख गर्दै राजकुमार हेनरीले भने – “धेरै बेलायती झैँ म पनि पुस्तक र टेलिभिजनका पर्दामा नेपालका सुन्दर चित्रहरु हेरेर हुर्किएँ, मलाई विश्वास छ तपार्इंहरुले सधैँ सुन्नुभएको छ विश्वका धेरै मानिसको कल्पनामा नेपालले विशेष स्थान ओगटेको छ ।”

बेलायत र नेपालबीच सम्बन्ध स्थापना भएको दुई सय वर्षका अवसरमा आयोजना हुने समारोहमा महारानीका तर्फबाट नेपाल भ्रमण गर्न आफूलाई भएको अनुरोधबाट आफू अत्यन्त हर्षित भएको उनले बताउनुभयो ।

अफगानिस्तानको पहिलो भ्रमणमा आफूले गोर्खा सैनिकसँगै सेवा गरेको सुनाउँदै उहाँले असाधारण सैनिक जन्माएर भरणपोषण गर्ने समुदायसँग पनि भेटघाट गर्ने जानकारी दिए । साथै उनले दौत्य सम्बन्धको द्विशतवार्षिकीमा आफूलाई नेपाल भ्रमणका निम्ति आमन्त्रण गरिएकामा नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गरे ।

उपप्रधानमन्त्री थापाले नेपाल र बेलायतबीचको सम्बन्ध बहुआयामिक, सहयोगात्मक, फलदायी, सहकार्ययुक्त भएको चर्चा गर्दै राजनीतिक, सैनिक, आर्थिक, विकासका आवश्यकता, शैक्षिक क्षेत्रलगायत विविध पाटामा दुवै पक्षका हितमा दिगो सहकार्य जारी रहेको बताए ।

नेपालको लोकतान्त्रिक प्रक्रियामा संयुक्त अधिराज्यले सहयोग गरेको शान्ति प्रक्रियामा पनि त्यत्तिकै ठूलो सहयोग रहेको र त्यो टुङ्गिएसँगै संविधान जारी भएको बताए ।

हाम्रा विकासका प्रयासमा संयुक्त अधिराज्यबाट महत्वपूर्ण सहयोग रहेको बताउँदै उनले नेपाल सरकार र नेपाली जनताका तर्फबाट प्राप्त उदार सहयोग र समर्थनप्रति कृतज्ञता व्यक्त गरे ।

भूकम्पका बेला तत्काल सहयोग गरेकामा बेलायतप्रति आभार व्यक्त गर्दै उहाँले पुनर्निर्माण अभियानमा बेलायतले सघाउन गरेको प्रतिबद्धताको सराहना गरे ।

“लोकतन्त्र, मानवअधिकार, विधिको शासन र स्वतन्त्रताजस्ता समान मान्यता एवम् साझा हित हाम्रा सम्बन्धका आधार हुन्, हाम्रा सम्बन्ध पारस्परिक समझदारी र एकअर्काप्रतिको सम्मानमा आधारित छन्”, उनले भनृ – “सार्वभौमिक समानता, संयुक्त राष्ट्रसङ्घको वडापत्रमा निहित उद्देश्य र सिद्धान्तहरुप्रतिका प्रतिबद्धता, अन्तर्राष्ट्रिय कानुनको सम्मान एवम् विश्व शान्तिप्रतिको आदर्शले हाम्रा सम्बन्धलाई निर्देशित गरेका छन् ।”

ब्रिटिस गोर्खाले नेपाल र बेलायतबीचको सम्बन्धलाई सुदृढ पारेको भूकम्पपछिको मानवीय तथा पुनर्निर्माणका काममा उनीहरुको सक्रिय सहभागिता प्रशंसनीय रहेको बताउँदै उपप्रधानमन्त्री थापाले भूकम्प प्रभावित क्षेत्रमा भएका मानवीय एवम् रचनात्मक कार्यको राजकुमारबाट हुन लागेको अवलोकनबाट नेपाली हर्षित भएका बताए ।

बितेका एक वर्षमा नेपालीले अत्यन्त कठिन परिस्थितिको सामना गर्नुपरेको बताउँदै चुनौतीको यो घडीमा मौसुफको उपस्थितिबाट नेपालीलाई ढाडस मिलेको उल्लेख गरे ।

द्विपक्षीय सम्बन्धको दुई शतवार्षिकी अनुपम एवम् दुर्लभ अवसर हो भन्दै उनले यसबाट विगतका उपलब्धि र भविष्यमा पारस्परिक सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद्, पूर्व प्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, पूर्व मन्त्री, पूर्व सभासद्, संवैधानिक अङ्गका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका वरिष्ठ अधिकारी, समाजसेवी, कलाकार, उद्योगपति, व्यापारी एवम् वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप