सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एकसय ३८ भारतीय महिलाले अङ्गीकृत नागरिकता लिए

आइतबार, ०७ चैत २०७२, ०८ : ५२
आइतबार, ०७ चैत २०७२

इटहरी - नयाँ संविधान, २०७२ जारी भएपछिको छ महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट १३८ जना भारतीय महिलाले वैवाहिक अङ्गीकृत नेपाली नागरिकता प्राप्त गरेका छन् ।

सुनसरी जिल्लाका विभिन्न गाविस र नगरपालिकाका नेपाली युवाले छिमेकी मुलुक भारतमा वैवाहिक सम्बन्ध गाँसेपछि भारतीय नागरिकता परित्याग गरी भारतीय मूलका युवतीले वैवाहिक अङ्गीकृत नेपाली नागरिकता लिएको सुनसरी प्रशासनले विवरण दिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीको नागरिकता फाँटले दिएको तथ्याङ्कमा नेपालको संविधान, २०७२ जारी भएपछि वैवाहिक अङ्गीकृत नागरिकता लिनेहरुमा सुनसरी प्रशासनमा भारतीय मूलका महिलाको सङ्ख्या बढिरहेको बताइएको छ ।

नागरिकता फाँटका प्रशासकीय अधिकृत दीनानाथ लम्सालले वैवाहिक अङ्गीकृत नागरिकता लिनका लागि विवाह दर्ता, पतिको नागरिकता, भारतीय नागरिकता परित्याग गरेको निस्सा वा प्रमाण, हुलाकको रजिस्टरी गरेको रसिद र सपथपत्रसहितको आवेदन दिएको प्रमाणका आधारमा भारतीय महिलाले वैवाहिक अङ्गीकृत नागरिक प्राप्त गर्ने व्यवस्था रहेको छ । लम्सालले भने – “यी सबै प्रक्रिया पूरा गरेर आएको निवेदनलाई एकैदिनमा जिल्ला प्रशासन कार्यालय सुनसरीले नागरिकता दिने गर्दै आएको छ ।” सुनसरी जिल्लाको श्रीपुरजब्दी, हरिपुर, भोक्राहा, नरसिंह, बबिया, मध्यहर्षाही, दुहवी, पकली, इनरुवालगायत स्थानका युवाले भारतमा यस वर्ष वैवाहिक सम्बन्ध भएको आधारमा उनीहरुले वैवाहिक अङ्गीकृत नेपाली नागरिकता प्राप्तिका लागि सम्पूर्ण प्रमाण पु¥याएर आएकाले उनीहरुले वैवाहिक अङ्गीकृत नागरिकता पाएको पाइएको छ ।

मधेसवादी दलहरुले नयाँ संविधानमा अङ्गीकृत नागरिकताका विषयमा गलत व्याख्या गरेर मधेस अर्थात् तराईमा बसोबास गर्दै आएकाहरुले भारतीय मूलका युवतीसँग विवाह गर्दा वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्ने व्यवस्था नरहेको भन्दै गलत प्रचार गरिरहेको अवस्थामा सुनसरी जिल्लामा यति छोटो अवधिमा १३८ जना भारतीय युवतीले नेपाली युवासँग विवाह गरेकै आधार र प्रमाणका आधारमा वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेको देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप