सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इलाममा सम्बन्धविच्छेदका घटना बढ्दै

आइतबार, ०७ चैत २०७२, ०९ : ५७
आइतबार, ०७ चैत २०७२

इलाम - वैदेशिक रोजगार, अन्तर्जातीय विवाह र कम उमेरमा गरेको विवाहका कारण इलाममा सम्बन्धविच्छेदका घटना बढिरहेको पाइएको छ ।

चालु आवको साउनदेखि हालसम्ममा जिल्ला अदालतमा ८१ वटा सम्बन्धविच्छेदका घटना दर्ता भएका छन् ।

अदालतका अनुसार आर्व ०६९/७० मा ८५ वटा सम्बन्धविच्छेदका घटना दर्ता भएकामा दुई वर्षपछि अर्थात् आव ०७१/७२ मा त्यो सङ्ख्या झन्डै दोब्बरले वृद्धि हुन गई १४७ पुगेको हो । अघिल्लो आव ०७०/७१ मा ९८ वटा मुद्दा दर्ता भएको थियो ।

गत आवमा दर्ता भएका सम्बन्धविच्छेदका घटनामध्ये ११४ वटाको फैसला भइसकेको छ । सम्बन्धविच्छेद गर्ने १६ देखि ४५ वर्ष उमेर समूहका जोडी रहेको अदालतले जनाएको छ । बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले बताए ।

विवाहपश्चात् वैदेशिक रोजगारमा गएपछि श्रीमान् श्रीमतीबीच अविश्वासको दूरी बढ्दै सम्बन्धविच्छेदसम्म पुग्ने गरेको छ । श्रीमान्ले विदेशबाट पठाएको सम्पत्ति लिएर श्रीमतीले दोस्रो विवाह गर्ने तथा श्रीमान् फर्किएर दोस्रो विवाह गर्न बाध्य भएपछि अदालतमा पुगेर सम्बन्धविच्छेद गर्ने गरेका छन् ।

सम्बन्धविच्छेदको अर्को कारण अन्तर्जातीय विवाह र कम उमेरमा विवाह गर्नु पनि देखिएको छ । अन्तर्जातीय विवाह गरेपश्चात् केही समय श्रीमान्–श्रीमतीको सम्बन्ध प्रगाढ बने पनि त्यो लामो समय नटिक्नु, केही समयपछि परिवार र समाजबाट तिरस्कृत हुँदै जानु तथा कम उमेरमा विवाह गर्नुले सम्बन्धविच्छेदको घटना बढेको जिल्ला अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले बताए । अदालतमा पर्ने महिला सम्बन्धिका मुद्दामध्ये ६० प्रतिशतभन्दा बढी सम्बन्धविच्छेदकै हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप