सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नयाँ शक्ति बाबुराम होइन जनताका लागि : संयोजक भट्टराई

शुक्रबार, १२ चैत २०७२, २२ : ०३
शुक्रबार, १२ चैत २०७२

पर्सा - नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईले अहिलेको संविधानमा रहेको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् । वीरगञ्जमा आज साँझ आयोजित उद्योगी, व्यवसायीहरुसँगको अन्तरक्रियामा संयोजक भट्टराईले राजनीतिक स्थिरताविना आर्थिक विकास र समृद्धि सम्भव नभएकाले स्थिरताका लागि शासकीय स्वरुपमा सुधार गर्नुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने बताए ।

साथै खस–आर्य, आदिवासी–जनजाति र मधेशी–थारुको प्रमुख तीन क्लस्टरको राज्यका हरेक निकायहरुमा समावेशी समानुपातिक प्रतिनिधित्वविना पनि देशमा स्थिरता आउन नसक्ने उनले बताए । देशका विभिन्न जाति, वर्ग, क्षेत्र, लिंगको प्रतिनिधित्वको लागि समावेशी, समानुपातिक निर्वाचन प्रणाली र राजनीतिक स्थिरताका लागि केन्द्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिने उनले बताए ।

‘अहिले जे भइराखेको छ त्यो ठीक छैन । हामीले नयाँ तरिकाले हिँड्नै पर्ने भएपछि नयाँ तरिकाकै राजनीतिक शक्तिको आवश्यक हुन्छ’, उनले भने – ‘सडक सकिएर समुद्र आइसकेपछि फेरि गाडीले नै यात्रा गर्न सकिन्न त्यसको लागि पानीजहाज नै चाहिन्छ ।’ प्रजापरिषद्देखि एमाओवादीसम्मका राजनीतिक पार्टीहरुले पूँजीवादी राजनीतिक क्रान्ति गर्न योगदान गरेको उल्लेख गर्दै उनले भने – अब आर्थिक विकास र समृद्धिको यात्राका लागि पुरानै पार्टीहरु पर्याप्त छैनन् त्यसैले नयाँ राजनीतिक शक्तिको आवश्यकता पर्छ ।’ नयाँ शक्ति नेपालले केही छिट्टै नै पार्टीको ढाँचा तयार गरी पार्टी घोषणा गर्ने र पार्टीको कामकारवाहीको निगरानी गर्नका लागि लोकपाल समूह नियुक्त गर्ने बताए । उनले नयाँ शक्ति बाबुरामको निम्ति नभई सम्पूर्ण नेपालीहरुको निम्ति भएको पनि स्पष्ट पारे ।

अन्तरक्रियामा नयाँ शक्ति नेपालका आर्थिक व्यवस्थापन तथा अनुशासन विभागका संयोजक रामेश्वर खनालले सहभागितामूलक समाजवादी व्यवस्था उन्मुख सामाजिक न्यायसहितको उदार–बजारमुखी अर्थतन्त्रको निर्माण गरी सबैका लागि समृद्धि हासिल गर्ने नयाँ शक्ति नेपालको आर्थिक नीति रहेको बताए । नयाँ शक्ति नेपालले बन्द, हड्ताल, नाकाबन्दी, चक्काजाम, उत्पादन र नागरिकको दैनिकी अवरुद्ध हुने कुनै राजनीतिक गतिविधि नगर्ने, सिन्डिकेट तथा कार्टेलिङविरुद्ध शून्य सहनशीलता, भ्रष्टाचारका विरुद्ध शून्य सहनशीलता लगायतका नीति अबलम्बन गर्ने उनले जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य संघ, पर्साका अध्यक्ष प्रदीप केडियाले आर्थिक समृद्धिको एजेण्डाको महत्व नयाँ शक्ति नेपालले बुझेको महसुस आफूहरुले गरेको बताए । ‘देशले आर्थिक विकास र समृद्धिको बाटोमा व्यवहारतस् फड्को मार्ने कुरामा हामी उद्योगीहरुबीचमा आशा पलाएको छ’, उनले भने – ‘देशको ६० प्रतिशत राजश्व वीरगञ्जबाट उठ्छ तर यहाँ ६ प्रतिशत पनि पूर्वाधार लगायत विकासका कार्यक्रमहरुमा राज्यले खर्च गरेको छैन । यस्तो विभेदबाट हामी दुस्खी छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप