मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यात्रा अनुभव : कोलम्बो पुगेर पनि नेपाली नेतालाई गाली गरियो !

शनिबार, १३ चैत २०७२, १३ : ४४
शनिबार, १३ चैत २०७२

चैत्रको पहिलो साता चार दिनको श्रीलंका भ्रमणमा थिएँ । भ्रमण अनौपचारिक कम र औपचारिक बढी थियो । दक्षिण एसियाली मुलुकहरुमा मानवअधिकारको अवस्थाबारे अन्तरक्रिया र कार्यशालाका सहभागीमध्ये एक थिएँ म । कोलम्बोस्थित समुद्री तटमा रहेको एक होटलमा आयोजित कार्यक्रममा दक्षिण एसियाली सबै मुलुक साथै बेलायत र अमेरिकाबाट समेत केही प्रतिनिधि आएका थिए । समग्रमा कार्यक्रम उपलब्धीमुलक रह्यो । तर, यो भ्रमणमा जोडिएका केही रोचक प्रसंग भने सम्झनलायक छन् ।

०० ००

राष्ट्रपतिले हामीलाई उछिने कोलम्बो एयरपोर्टमा साँझ ओर्लिँदा होटल माउन्ट लेभिनियाको गाडी हामीलाई लिन आइसकेको थियो । गाडीमा १ घण्टा हाँकेपछि मात्रै समुद्र किनारको होटल माउन्ट लेभिनिया पुगिन्थ्यो । सफा र सुन्दर दृश्य हेर्दै फराकिलो सडकमा कुद्दै थियौँ हामी । त्यहाँका फराकिला र सफा सडक देखेर सहयात्री हाम्रो नेपाललाई पनि यस्तै बनाउनुपर्ने तर्क सुनाउँथे । सडकमा नेपाल जस्तो ट्राफिक जाम थिएन । न त काठमाडौं जस्तो फोहोर र अस्तव्यस्त नै थियो । यस्तो देखेर सहयात्री साथीहरुले कोलम्बो पुगेर पनि नेपाली नेतालाई फेरि गाली गरियो । होटल नपुग्दै बिच सडकमा अचानक एकै छिन हाम्रो गाडी टक्क अडियो । कतैबाट साईरनको आवाज सुनियो । २ मिनेट पनि नपुग्दै हाम्रो गाडीलाई त्यहाँका राष्ट्रपतिको गाडीले उछिनेर गयो । उतिबेलै हाम्रो गाडीले पनि राष्ट्रपतिको गाडीलाई पछ्यायो । हामी नेपाली र अरु केही इन्डियन पनि दंग पर्यौँ । ‘राष्ट्रपति पनि यसरी हिँड्छन् ?’ इन्डियन र नेपाली साथीहरुले अनौठो मान्दै ड्राइभरलाई सोधे । मैले सुनाएँ ‘यहाँका राष्ट्रपतिको सवारी र हाम्रा प्रहरी अधिकारीको सवारी लगभग उस्तै हुँदोरहेछ ।’ इन्डियनले सुनाए, ‘हाम्रो प्रधानमन्त्रीको सवारीमा त घण्टौँसम्म सडकमा गाडी रोकिन्छन् । कस्तो अनौठो यहाँ त ।’ समस्या नेपालमा पनि इन्डियाको जस्तै थियो । श्रीलंकाका राष्ट्रपतिको सामान्य सवारी साँच्चिकै लोभलाग्दो देखिन्थ्यो ।

०० ००

खासगरी श्रीलंकामा पछिल्लो निर्वाचनमार्फत चुनिएर आएका राष्ट्रपति सुरक्षा लगायत कतिपय अनावस्यक खर्चप्रति निकै चनाखो देखिँदारहेछन् । यसअघिका राष्ट्रपति महिन्दा राजापाक्षेले देशको विकासमा धेरै समय र पैशा त खर्च गरे । तर शासन ब्यवस्थाको दुरुपयोग गरी तानाशाही यात्रामा फसेको आरोप उनीमाथि ब्यापक थियो । राजापाक्षेलाई हराएर राष्ट्रपति बनेका मैत्रीपाला श्रीसेना भने राजापाक्षेको गल्ती दोहोर्याउन चाहँदैनन् भन्ने श्रीलंकनहरुको बुझाइ छ । त्यसो त उनी अति सामान्य किसान परिवारबाट शासन सत्तासम्म आइपुगेका नेता हुन् । नागरिकहरुको वाक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति पनि उनी उत्तिकै संवेदनशिल देखिन्छन् । जुन कुराप्रति राजापाक्षे कठोर थिए । राष्ट्रपति बनेलगत्तै उनले आफ्नो लागि छुट्याइएको सुरक्षा खर्च कटौती गरिदिएका थिए । पहिलो पटक ४ वर्षअघि श्रीलंका पुग्दा तत्कालिन राष्ट्रपति महिन्दा राजापाक्षेबिरुद्ध त्यहाँका नागरिकहरुले सल्लाह पनि गर्न पाउँदैनथे । त्यतिबेला नेपाली विद्यार्थीहरुले महिन्दा राजापाक्षेको आलोचना गर्नुपरे ‘महेन्द्र राजा’ भनेर गाली गरेको मलाई सम्झना भयो । तर यसपटक चाहीँ आफू बसेको गाडी छेउबाटै दौडेका राष्ट्रपति देखेर मलाई अनौठो लाग्यो ।

०० ००

‘बुद्ध श्रीलंकामा जन्मेका थिएनन्, इन्डियामै हो’ हाम्रा ड्राइभरले आफ्नो गाडीको अघिल्लो भागमा गौतम बुद्धको सानो मुर्ती राखेका थिए । ति ड्राइभर बुद्ध धर्मावलम्वी हुन् भन्ने सहज अनुमान गर्न सकिन्थ्यो । त्यसो त श्रीलंका बौद्ध धर्मावलम्वीहरुको बाहुल्यता रहेको मुलुक पनि हो । गौतम बुद्धलाई श्रीलंकनहरु अति सम्मान गर्छन् भन्ने कुरा मलाई पहिलो भ्रमणकै क्रममा थाहा थियो । जीवनमा कम्तिमा एक पटक लुम्बिनीको तिर्थयात्रा गर्नुपर्छ भन्ने अठोक कतिपय श्रीलंकन नागरिकहरुमा यद्यपी छ । गाडीको अघिल्लो सिटमा ड्राइभरसँगै बसेका हाम्रो टोलीका एक मित्रले तिनलाई प्रश्न सोधे, ‘गौतम बुद्ध कहाँ जन्मिएका हुन् थाहा छ ?’ ड्राइभरले नरोकिइकन उत्तर दिए, ‘एस, हि ईज नट श्रीलंकन । बट हि ईज इन्डियन ।’ अर्थात् बुद्ध श्रीलंकाका होइनन् । बरु इन्डियाकै हुन् भनेको सुनेर हामी आश्चर्यमा पर्यौँ । हाम्रा मित्रले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन् भनेर तिनलाई बुझाए ।

०० ००

समुद्री तटको होटलको नाम हिमाल हामी बस्ने होटल महँगो र आकर्षक त थियो नै । त्यसभन्दा धेरै यसको नाम अनौठो थियो । होटल थियो समुद्री किनारमा । तर यसको अघिल्लो नाम नै ‘माउन्ट’ राखिएको थियो । श्रीलंकाको राजधानी कोलम्बो सहर नै समुद्री सतहदेखि २ मिटर मात्रै उचाईमा छ । यो होटल पनि लगभग त्यसभन्दा बढी उचाईमा थिएन । यसको मतलव कोलम्बो सहर आफैँमा एउटा समुद्री किनार हो । कार्यक्रममा एक सहभागी श्रीलंकाकी युवतिसँग मैले सोधेँ, ‘तिमीहरु यो ठाउँलाई माउन्टेन भन्छौँ ?’ उ हाँसी । र किन भनेर सोधी मलाई । ‘यसलाई माउन्टेन भन्छौ भने बीच (समुद्री किनार कुन चाहीँ हो ?’ मैले फेरि सोधेँ, ‘बीचको होटललाई त माउन्टेन भन्छौ तिमीहरु । हाम्रा माउन्टेनहरु देख्यौ भने त पक्कै डराउँछौ ।’ श्रीलंकन ति युवति हाँसिन् मात्रै । खासमा सहरको एक छेउमा रहेको समुद्री तटमा होटल थियो । धेरैपटक नेपाली टोलीले श्रीलंकनहरुसँग होटलको नाममाथि नै ब्यंग्य छेड्यो ।

०० ००

पेटीले सुरुवाल कसेर पहिलो पटक नेपाली पोशाक श्रीलंका जानुभन्दा एक दिनअघि सपिङको तयारीमा थिएँ म । अर्का सहयात्रीले फोनमा भने, ‘दौरा सुरुवाल छ की छैन । कार्यक्रमकै एक दिन नेपाली पोशाक पनि लगाउने कुरा छ । तयारी गर्नुहोला ।’ म बिलखबन्दमा परेँ । किनकी, मसँग दौरा सुरुवाल थिएन । त्यसअघि लगाएको पनि थिइन । घरको बाकसभित्र बुवाको पुरानो दौरा सुरुवाल त थियो तर निकै थोत्रो थियो त्यो । अन्ततः झोला किन्न ठिक पारेको रकमले न्युरोड नजिकै पुगेर दौरा सुरुवाल किनेँ । श्रीलंका पुगेपछि कार्यक्रमको दोस्रो दिन दौरा सुरुवाल लगाएर प्रस्तुत हुने र झन्डा सहित औपचारिक रुपमै फोटो पनि खिच्ने तयारी भयो । होटलको कोठामा गएर दौरा सुरुवाल झोलाबाट निकालेँ । दौरा त पहिले नै नापिसकेको थिएँ । ठिकै थियो । तर सुरुवाल नाप्नु नपर्ने भन्दै नहेरीकन झोलामा राखेको थिएँ । दौरा सुरुवाल पसलेले एउटा डोरीले दौरा सुरुवाल बाँधेर दिएको थियो । तर घरमा पुगेर मैले त्यो डोरी फालिसकेको थिएँ । त्यो डोरी सुरुवालको तुना हो भन्ने हेक्का नै भएन मलाई । जब पोशाक लगाउनुपर्ने भयो ठिक त्यसै बेला फसाद पर्यो । साथीहरुले जिस्क्याउन थाले । तुना कसरी बाँध्ने कुनै उपाय भएन । कार्यक्रम सुरु हुन लागिसक्यो । हतार थियो । एक मित्रले स्विमिङ कस्ट्युमको तुना निकालेर बाँध्ने सुझाव दिए । सबै गलल हाँसे । अर्का मित्रले सुझाव दिए ‘बेल्टले बाँध्ने ।’ आखिर प्यान्ट कस्ने बेल्टले सुरुवाल कसेँ । सुरुवालको इँजार (तुना) छिराउने फराकिलो ठाउँ थियो । त्यसमै पेटी छिराएर बाधेँ । लगाउन निकै अप्ठ्यारो भयो । हेर्दा केही खुजमुजिएको पनि देखिन्थ्यो । पहिलो पटक लगाएको नेपाली पोशाक पेटीले बाँध्नुपर्यो सुरुवाल ।

०० ००

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप